इमरानको इमारत

सम्पादकीय

काठमाडौँ — इमरान खानले पुगनपुग बहुमत ल्याए । नपुगेका मत संसद्मा केही साना दलले पुर्‍याइदिए । शुक्रबार पाकिस्तानका २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशको कप्तानी चलाउन थालेका छन् । यसैका लागि उनले २२ वर्षदेखि राजनीतिको घामपानी बेहोरे । एकसिटे दललाई ठूलो दल बनाए । संसद् बैठकमा बिरलै सहभागी हुने गरेका उनी भन्थे– सदन धर्तीकै विरक्तलाग्दो ठाउँ हो ।

समर्थकहरूका लागि उनी नयाँ, साहसी र स्वच्छ छविका नेता हुन्, जसलाई देशले लामो समयदेखि खोजिरहेको थियो । पाकिस्तानी क्रिकेट टिमलाई १८ वर्ष नेतृत्व दिएर एकपल्ट विश्वकप उचालेयताका वर्षहरूमा उनी बिस्तारै राजनीतिको ट्रफी हात पार्न रौसिएका हुन् । दुइटा परम्परागत मुख्य दलहरू एकपछि अर्को गर्दै सत्ताबाट पर हुत्तिएपछि उनको नयाँ दल तेहरिक–ई–इन्साफको पालो आयो ।

जनताले ६५ वर्षीय यी सम्भ्रान्तलाई रोज्नुका पछाडि नयाँ पाकिस्तान भन्ने उनको भ्रष्टाचार विरोधी नारा देखिन्छ, जसले राजनीतिक कार्यप्रणालीमा परिवर्तन गर्ने प्रतिबद्धता प्रकट गरेको छ । खेलबाट संन्यास लिएर समाजसेवा र परोपकारमा लाग्दै आमाका नाममा मुलुककै पहिलो विशेषज्ञ क्यान्सर अस्पताल खोले, सन् १९९६ मा सबैलाई इन्साफ दिन भन्दै मध्यमार्गी दल खोले । भ्रष्टाचार बढेको भन्दै बीचको कुनै चुनाव बहिष्कार पनि गरे ।

उनको सफलताले दुई शक्तिशाली घरानियाँ (भुट्टो र शरिफ) को राजनीतिक दबदबामा विराम लगाइदिएको छ । उनले करोडौं जनताको गरिबी निवारण गर्ने कबोल गरेका छन्, राष्ट्रवादी छवि बनाएका छन्, विश्वस्तरका अस्पताल र स्कुल खोल्ने घोषणा गरेका छन् ।

सन् १९४७ मा भारत बेलायतबाट स्वतन्त्र हुनु एक दिनअघि जन्मिएको पाकिस्तानको लोकतन्त्र भारतको जस्तो सहज र स्थिर रहेन । कहिले सैन्य विप्लव त कहिले विद्रोही हिंसाबाट प्राय: आक्रान्त रहँदै आयो । आधा इतिहास सेनाले प्रत्यक्ष शासन गर्‍यो । अहिले पनि सेनाको चलाखीपूर्ण सहयोगका कारण उनी सफल भएको विपक्षी आरोप मात्रै छैन, असहयोगका लक्षणसमेत देखिएका छन् । उनको चुनौती यही हो, आफू सेनाको शक्ति होइन, नागरिक शक्तिकै प्रतीक भएको प्रमाणित गर्नु ।

आफ्ना महत्त्वाकांक्षी सुधारका योजना लागू गर्न उनलाई गाह्रो छ । तल्लो सदनमा उनको समर्थनमा झिनो बहुमत पुगे पनि सिनेट विपक्षीकै नियन्त्रणमा छ । मुद्रा संकट टार्न विश्व मुद्राकोषको सहयोग माग्ने या चीनको सहयोग खोज्ने चुनौती छ । सेना–नागरिक द्वन्द्वलाई कसरी परिभाषित गर्छन्, इस्लामिक अतिवादीहरूको कसरी सामना गर्छन् भन्ने आन्तरिक पहेलु छन् भने बाह्य मोर्चा पनि उत्तिकै पेचिला ।

उनी युद्धको विरोध गर्छन् । अमेरिकालाई पनि रुचाउँदैनन् । तालिबान उसैले जन्माएको हो भन्छन् । भारतसँग सम्बन्ध सुधार चाहन्छन् । भारतले एक कदम अगाडि बढाउँदा आफू दुई कदम बढ्ने भनेका छन् । उनलाई भारतीय समकक्षी मोदीको चिठी पुगेको छ, जसमा के छ खुलेको छैन । उनी भारतसित सहकार्य गरेर कश्मीर समस्या सुल्झाउन चाहन्छु भन्छन् । तालिबानसँग नरम छन् । अमेरिका पनि उनलाई साथ लिन चाहने गरी विदेशमन्त्रीलाई छिट्टै इस्लामाबाद पठाउँदै छ ।

सेनाको चासो र सरोकार तालिबान र कश्मीर दुवैमा भएकाले प्रधानमन्त्रीका रूपमा इमरानको भूमिका चुनौतीपूर्ण हुनेछ । उनी गम्भीर र हठी भएकाले स्वतन्त्र ढंगले काम गर्न सक्छन् भन्नेहरूलाई जवाफ दिने उनले नै हो । उनको उदयले नयाँ सम्भावना देखाएको छ । पुराना दलहरूप्रति जनताको अरुचि जाग्दै जाँदा कुनै पनि निर्वाचनबाट वैकल्पिक शक्ति उदाउन सक्छ । लोकतन्त्रको इमारत त्यही हो ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एसियाड एउटा चाड

सम्पादकीय

काठमाडौँ — ‘जित्नु सबैथोक होइन, जित्न चाहनुचाहिँ हो’ अमेरिकी फुटबल खेलाडी/प्रशिक्षक भिन्स लोम्बार्डीको लोकप्रिय भनाइ मिहिनेती खेलाडीहरूको भावनासँग मिल्छ ।

इन्डोनेसियाको जकार्तामा शनिबार सुरु १८ औं एसियाली खेलकुदमा नेपाल टोली मार्चपास गर्दै । नेपालको झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए । तस्बिर: एपी

नेपालसहित ४५ राष्ट्रका करिब १० हजार खेलाडी इन्डोनेसियाको १८ औं एसियाली खेलकुद मैदानमा उत्रिएका छन् । लामो तयारीपछि कीर्तिमान राख्ने र पदक जित्ने अवसर पर्खिंदै । सफलताका लागि तयारीले मात्र पुग्दैन, कति त भन्छन् मौका पनि हात पर्नुपर्छ । नेपालजस्ता केही देशलाई भने तयारी कहिल्यै पुग्दैन, मौका पनि खासै जुर्दैन । तर जित्नुमात्र सबैथोक होइन ।

खेल आफैंमा एउटा अवसर । उसमाथि संसारको सबभन्दा धेरै जनसंख्या भएको क्षेत्रीय खेल । एक्काइसौं शताब्दी एसियाको शताब्दी भनिएको र दरिन पनि थालेको बेला । ‘इनर्जी अफ एसिया’ लोगोसहित विभिन्न ४५ खेलका स्पर्धामा नेपाल कुनै न कुनै पदकको हकदार हुनुपर्छ । एसियाडबाट स्वर्ण हासिल गर्ने नेपालको धोको बाँकी नै छ ।

सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोबाट रजत पदक जितेर नेपालले आफ्नो इतिहास बनाएको थियो । अहिलेसम्म १ रजत र २२ कांस्य पदकमा चित्त बुझाउनुपरेको छ । त्यसमा १ रजत र १३ कांस्य तेक्वान्दोकै देन हो । पछिल्ला दुई संस्करणमा त १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । यसपालि नेपालले २९ खेलमा १ सय ८७ प्रतिभाशाली खेलाडीलाई सहभागी बनाएको छ जसमा ५६ महिला प्रतिस्पर्धी छन् ।

सन् १९५१ मा नयाँदिल्लीमा भएको एसियाडको पहिलो खेलमा जम्मा ६ खेलका लागि ११ देश सहभागी थिए । नेपालसमेत सामेल थियो । त्यस अर्थमा हामी यसका संस्थापक मुलुक हौं । खेल प्रतिस्पर्धामार्फत एसियाली भावना प्रवद्र्धन गर्ने, एकता, भाइचारा र मित्रता बढाउने अभियानमा नेपाल आफैं सरिक छ । खेल सफलताको शिक्षा भने लिन सकिसकेको छैन । आज पनि नेपाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी योग्य बन्ने निसाना लाउन सकिरहेको छैन । लामो दौड र बक्सिङका सम्भावना छन् जसमा जोड दिन सकिएको छैन । नयाँ खेल थपिएका छन् जसको जग देशभित्र बसालिएको छैन । कुनै निश्चित लक्ष्य छैन । दुई–तीन सय जना लिएर सहभागी हुनेमात्र लक्ष्य छ ।

जस्तै प्रतिकूल अवस्थालाई पनि अनुकूल बनाउन सक्ने खेलाडीहरूमा प्रतिभा र परख हुन्छ । आफ्ना खेलाडीले त्यस्तै पौरख देखाउने प्रतीक्षा नेपालले गरिरहेको छ । विश्व रंगभूमिमा ओलम्पिकको जति महत्त्व छ, एसियाली देशहरूका हकमा एसियाडको त्यत्तिकै । एसियाभरका मुलुकलाई एकै स्थानमा भेला पार्ने योभन्दा ठूलो अर्को अवसर छैन ।

पछिल्ला पाँच संस्करणमा ओलम्पिक काउन्सिल अफ एसियामा आबद्ध ४५ वटै देश सहभागी भइरहेका छन् । के उत्तर कोरिया–के दक्षिण कोरिया, के भारत–के पाकिस्तान, के कतार–के साउदी अरब, एकअर्काबीच कटुतापूर्ण सम्बन्ध भएका देशहरूलाई पनि यसले जोडेको छ । सम्पूर्ण एसिया एक परिवारको अवधारणा । अपवाद भने छन् । अधिकांश भूभाग एसियामा भएर पनि रुस र टर्की एसियाड खेल्दैनन्, युरोपियन गेम खेल्छन् । साइप्रस, अर्मेनिया र इजरायल पूर्णत: एसियाली मुलुक हुन् । अजरबैजान र जर्जियाको सम्पूर्णजसो भाग एसियामा पर्छ । रुस र टर्कीका अधिकांश भूभाग एसियामा पर्छ । तर पनि उनीहरू एसियाड होइन, युरोपियन खेल्छन् ।

खेल आर्थिक शक्तिको ऐना । पहिले जापान सबभन्दा शक्तिशाली थियो, केही वर्षयता चीनले पदकहरूमा आधिपत्य जमाउन थालेको छ । सुस्त आर्थिक विकासको गति पक्रिरहेका नेपालजस्ता देशले भने अर्का अमेरिकी खेलाडी माइकल जोर्डन सम्झिनु श्रेयस्कर हुन्छ, जसले भनेका छन्, ‘जीवनमा म एकपल्ट होइन, दुईपल्ट होइन, अनेकपल्ट हारेको छु । म सफल भएको नै त्यसरी हो ।’

प्रकाशित : भाद्र ४, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT