कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धान्त र व्यवहारको बेमेल

यो निर्वाचनबाट खस–आर्य समुदाय, खासमा बाहुनलाई सबैभन्दा बढी नाफा र आदिवासी जनजाति विशेषगरी तामाङलाई सबैभन्दा धेरै घाटा भएको देखिन्छ ।
परशुराम तामाङ

काठमाडौँ — समानुपातिक प्रतिनिधित्वको आधारभूत सिद्धान्त हो– सबै मतदाता प्रतिनिधित्वका लागि योग्य हुन्छन् र समाजका सबै राजनीतिक समुदाय वा दल उनीहरूको निर्वाचक मण्डलमा भएको मत (शक्ति) को अनुपातमा नीति निर्माण अङ्ग (संसद) मा प्रतिनिधित्व गर्न योग्य हुन्छन् ।

सिद्धान्त र व्यवहारको बेमेल

यसै अनुरुप सबै समुदाय र दलको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नेगरी निर्वाचन पद्धति अपनाइन्छ । यसको मूल उद्देश्य ऐतिहासिक राजनीतिक बहिस्करणमा परी किनारा लागेका समुदायलाई जातीय समता, समृद्धि र सामाजिक न्यायका आधारमा समावेश गरी राज्यव्यवस्थालाई साझा बनाउनु हो । नेपालमा राज्य निर्माणको अवधारणा र निर्माणको ऐतिहासिक कारणले नै सम्पूर्ण शक्ति एउटा समुदायको सम्भ्रान्त वर्गको हातमा केन्द्रीकृत थियो । राज्यको राजनीतिक, शैक्षिक, प्रशासनिक, आर्थिक, सेना, प्रहरी, न्यायालय, संवैधानिक निकाय आदिमा करिब ८०–९० प्रतिशत एउटै समुदायको बर्चस्व हुनपुग्यो । यही असन्तुलनलाई सम्बोधन गर्न समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन आवश्यक परेको हो ।

समावेशी लोकतन्त्रको एउटा प्रमुख आधार समानुपातिक समावेशी प्रतिनिधित्व हो । नेपालको संविधानले यसको प्रस्तावनाको चौथो अनुच्छेदमा समानुपातिक समावेशी सहभागिताको सिद्धान्तलाई स्वीकारेको छ । संविधानमा प्रतिनिधिसभाको गठन ८४ (२ र ८), प्रदेशसभाको गठन १७६ (९), मन्त्रिपरिषदको गठन धारा ७६ (९) र १६८ (९), राजदूत र विशेष प्रतिनिधिको पदमा नियुक्ति २८२ (१) र संवैधानिक अंग एवं निकायका पदमा नियुक्ति धारा २८३ आदिमा समानुपातिक समावेशी सिद्धान्त अनुशरण गर्नुपर्ने व्यवस्था छ । तर समानुपातिक समावेशी सिद्धान्त अनुसार संघीय संसद समानुपातिक हुनसकेन । यो आलेखमा यसबारे चर्चा गरिनेछ ।

संविधानको धारा ८३ अनुसार संघीय संसदले समष्टिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको कुल योगलाई बुझाउँछ । यसमा प्रतिनिधिसभाका २७५ र राष्ट्रिसभाका ५९ जना सदस्य हुनेछन् । प्रतिनिधिसभामा १६५ पहिलो हुने निर्वाचित हुने प्रणालीबाट र ११० जना जातीय जनसंख्याको आधारमा समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । संविधानको धारा ८४ को संघीय प्रतिनिधिसभा गठनको व्यवस्थामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम ‘जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने’ उल्लेख छ । अहिले निर्वाचन आयोगबाट सबै तह र राष्ट्रपतिबाट राष्ट्रियसभाको मनोनित सदस्यको परिणाम सार्वजनिक भइसकेको छ । यहाँ त्यही निर्वाचन परिणाम विश्लेषण गरिएको छ ।

निर्वाचन आयोगद्वारा सार्वजनिक निर्वाचन परिणामलाई संविधानको धारा ८४ मा व्यवस्था भए अनुसारको ‘क्लष्टर’ बमोजिम निम्न तालिका निर्माण गरिएको छ ।

संघीय संसदमा समुदायगत प्रतिनिधित्व
(क) २८.७ प्रतिशत जनसंख्या भएको आदिवासी जनजातिले ९६ जना संघीय सांसद पाउनुपर्ने थियो, तर ७० जनामात्र पायो ।

(ख) ३१.२ प्रतिशत जनसंख्याका भएको खस–आर्यले १०४ जना पाउनुपर्ने थियो, १५५ जना पायो । खस–आर्यले पाउनुपर्ने भन्दा ५४ जना अधिक पायो । त्यसमध्ये १२.२ प्रतिशत जनसंख्या भएको बाहुनले ४१ सदस्य पाउनुपर्नेमा ९९ जना पायो । यो उसको जनसंख्याको १३८ प्रतिशतभन्दा अधिक संख्या हो ।

(ग) मुस्लिमले ९ सिट प्राप्त गर्‍यो, यो उसले पाउनुपर्ने भन्दा ३ कम हो । थारुले २१ पायो र जुन पाउनुपर्ने भन्दा १ कम हो । मधेसीले ५० पायो, यो पाउनुपर्ने १ अधिक हो ।

(घ) १३.८ प्रतिशत जनसंख्या भएको दलितले ४२ सदस्य पाउनुपथ्र्यो । तर उक्त समुदायबाट २६ जना मात्र प्रतिनिधि बने ।

(ङ) आदिवासी जनजातिमा नेवार र राईले १–१, गुरुङले ३, लिम्बुले ४ जना अधिक सांसद पाएका छन् । मगरले २४ जना पाउनुपर्नेमा १४ प्रतिनिधिमात्र पाए । तामाङले १९ पाउनुपर्नेमा ६ जनामात्र पाए । करिब ६ प्रतिशत जनसंख्या भएको तामाङको प्रदेश र प्रतिनिधिसभामा न्युन प्रतिनिधि त छँदैछ, राष्ट्रियसभामा एकजना पनि प्रतिनिधि छैन ।

(च) समानुपातिक सिद्धान्तको संविधानमा व्यक्त प्रतिबद्धता व्यवहारमा उत्रेन । यो निर्वाचनबाट खस–आर्य समुदाय, खासमा बाहुनलाई सबैभन्दा बढी नाफा र आदिवासी जनजाति विशेषगरी तामाङलाई सबैभन्दा धेरै घाटा भएको देखिन्छ । यो निर्वाचन गणतन्त्रकालमा भयो, परिणाम पञ्चायतकालमा भन्दा खराब दियो ।

कारण
(क) यसका पछाडि दुई प्रमुख कारण छन् : पहिलो, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबीच समानीकरण गर्ने कुनै व्यवस्था गरिएन । दोस्रो, खस–आर्यले पहिलो हुने निर्वाचित हुने प्रणालीबाट अधिक संख्यामा चुनाव जितेका छन् । त्यस बाहेक जनसंख्याको आधारमा समानुपातिक कोटा ३१.२ प्रतिशत र पिछडिएको क्षेत्रको नाममा ४.३ प्रतिशत अतिरिक्त प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ । यो सामाजिक न्यायका दृष्टिले न्यायसंगत छैन । सबै समुदायले समानुपातिक कोटा पाउने हो भने पहिलो हुने निर्वाचित हुने निर्वाचनको आवश्यकता र औचित्य के ?

(ख) निर्वाचन प्रणालीमा धेरै विकृति देखिए । सबै दलले अधिकांश महिलालाई समानुपातिक सूचीमा ‘डम्प’ गरे । त्यसमा नेताको ‘पेयर’, ‘नियर’, ‘डियर’ पहिलो प्राथमिकतामा र बाँकी देखाउने पाटोमा परेको अनि पैसावाद र परिवारवाद झाँगिएको गुनासो सार्वजनिक भयो । समानुपातिक सूची बनाउँदा आन्तरिक लोकतन्त्रको अभ्यास भएन ।

(ग) निर्वाचन आयोगले समानुपातिक सूचीमा आबद्ध अन्तरजातीय विवाह गरेका महिलाका हकमा दोहोरो मापदण्ड अपनायो । बाबुपट्टि वा श्रीमानपट्टि, कुन तर्फबाट राजनीतिक हक स्थापित गर्ने हो, सबैका लागि एउटै मापदण्ड लागु हुुनुपर्छ । प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत क्षेत्र महिलाका लागि आरक्षित गर्नुपर्छ ।

बैठान
निर्वाचन प्रणालीमा सुधार अनिवार्य छ । विकृति हटाउने दुई विकल्प छन्– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबीच क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । यसको विकल्पमा समानुपातिक निर्वाचन प्रणालीमात्र अपनाएर समानुपातिक समावेशी प्रतिनिधित्व गर्न सकिन्छ । समानुपातिक क्लस्टर, सामाजिक न्याय र राजनीतिक बहिष्करणका आधारमा तोकिनुपर्छ । नत्र यसले हाम्रो लोकतन्त्रलाई गिज्याउनेछ ।

प्रकाशित : चैत्र २०, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?