कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संसद् सुचारु गर्न कांग्रेस अहिलेको परिस्थितिबाट पछि हट्नुपर्छ : सचिव भट्टराई

काठमाडौँ — नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसद्लाई सुचारु बनाउन नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताएका छन् । 

संसद् सुचारु गर्न कांग्रेस अहिलेको परिस्थितिबाट पछि हट्नुपर्छ : सचिव भट्टराई

आइतवार प्रतिनिधि सभा बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेस जस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद् अवरुद्ध गर्न नहुने बताए ।

उनले सरकारलाई जेठ १५ गते संसद्‌‌मा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताए । उनले सरकार नेपाली कांग्रेससँग सहमतिको लागि निरन्तर प्रयास गरिरहेको भन्दै १५ गते बजेट पेश हुनु अघिसम्म सहमति हुने दाबी गरे ।

उनले भने,‘नेपाली कांग्रेससँग सहमतिको लागि निरन्तर छलफल गरे पनि मिल्न सकेको छैन । सहमति नभएपछि सरकारलाई संसद्‌बाट नीति तथा कार्यक्रम पारित गर्ने समय पनि भएन । जेठ १५ गते संसद्‌मा बजेट प्रश्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो व्यवस्थाको कारणले पनि आज संसद्‌बाट नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यता थियो । सरकारले सहमति खोज्ने प्रयास गरौं । सहमतिको अन्तिममा आएर ब्याक भएको छ । सहमतिबाट कांग्रेस पछि हटेपछि संसद्को काम अगाडि बढाउनु परेको हो ।'

उनले संसद्‌मा बजेट पेश हुनुभन्दा पहिले नै सहमतिको प्रयास गरिने बताए । 'जेठ १५ मा बजेट ल्याउनैपर्छ । यो संवैधानिक बाध्यता हो । सहमति नभए पनि बजेट पेश गर्ने कुरामा कांग्रेसले अवरोध गर्दैन भन्ने हाम्रो अपेक्षा छ,' उनले भने ।

उनले संवैधानिक व्यवस्था अनुसार आइतवार प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षको अवरोध हुँदाहुँदै पनि नीति तथा कार्यक्रम संसद्‌बाट पास गर्न बाध्य भएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?