कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : भट्टराई

काठमाडौँ — एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको दाबी गरेका छन् । 

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : भट्टराई

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको दाबी गरेका थिए । उनले अनुसन्धान, प्रस्तुतीमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने दाबी गरे ।

पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको दाबी गर्दै भट्टराईले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको पनि बताए । उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको आलोचना गर्दै उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढंगले छनोट प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

‘गत कार्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीज्यूले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो । यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिष्पर्धी र पारदर्शी केही पनि थिएन । अनुसन्धान, प्रश्तुतीमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिने भन्दा शिक्षामन्त्री र शिक्षा सचिवले,' भट्टराईको भनाइ थियो, 'अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वाता कसले लिन्छ भन्दा उपप्राध्यापकले ? यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ ।'

भट्टराईले निष्पक्ष रूपमा उपकुलपति नियुक्तिका लागि अहिले अगाडि बढाइएको प्रक्रिया बन्द गरेर नयाँ प्रक्रियामा जानुपर्ने माग गरे । 'यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस् । यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ । यतातिर पनि ध्यान जाओस्,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०८० १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×