१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लामिछानेले १ करोड ८० लाख बुझेको तमसुक कम्पनी रजिस्ट्रार कार्यालयमा

'अघिल्लो प्रेसमिटमा आवेशवशमा पर्सनल अट्याक गरेको छु, क्षमा गर्नुहोला, यस्तो गल्ती भविष्यमा हुनेछैन' - रवि लामिछाने

काठमाडौँ — ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले ‘कसैले बैंक भौचर भरिदिए पनि’ आफ्नो खातामा रकम जम्मा नभएको दाबी गरेका छन् । तर उनले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको भेटिएको छ । 

लामिछानेले १ करोड ८० लाख बुझेको तमसुक कम्पनी रजिस्ट्रार कार्यालयमा

लामिछानेले गरेको कागजमा लेखिएको छ, ‘जम्मा १ लाख ८० हजार थान सेयरबापतको रकम रु. १,८०,००,००० (अक्षरुपि एक करोड असी लाख मात्र) बुझिलिई तपाईं यसै प्रालिका सेयरधनी दीपहरि राईका छोरा ओखलढुंगा जिल्ला सुनकोशी गा.पा.नं. १ बस्ने गितेन्द्रबाबु राईलाई सञ्चालक समितिको सहमतिको मञ्जुरीले उल्लेखित सेयर बिक्री गरिदिएको छु ।’

कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरिएको कम्पनीको माइन्युटमा समेत यही बेहोरा लेखिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयका एक अधिकारीले यो कागजको आधिकारिता पुष्टि गर्दै कान्तिपुरसँग भने, ‘दुई जना साक्षीसमेतको हस्ताक्षर गराई नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित गरेको कागजमा लामिछानेले एक लाख ८० हजार थान सेयरबापतको १ करोड ८० लाख रुपैयाँ बुझिलिएको कागज पेस गर्नुभएको थियो, कुनै कारणले सेयर नामसारी हुन नसके रकम फिर्ता गर्ने, रकम फिर्ता नगरे घरघराना, चलअचल श्रीसम्पत्तिबाट असुलउपर गर्नु लामिछानेले हस्ताक्षर र दायाँबायाँ औंठाको ल्याप्चे लगाई पेस गरेको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा सुरक्षित छ ।यही कागजका आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयले १५ प्रतिशत सेयर रविबाट जीबीको नाममा कायम गरिदिएको अभिलेखबाट देखिन्छ ।’

ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा

बैंक भौचर तथा सेयर लगतबारे कान्तिपुरले सोमबार प्रकाशित गरेको समाचारको विषयमा आफ्नो भनाइराख्न लामिछानेले पत्रकार सम्मेलन गरेका थिए । ‘मेरो खातामा १ करोड ८० लाख छैन, आएको पनि छैन । नआएको कुराको समाचार आयो । पैसा छैन । यो कुनै लुकाउने कुरा पनि होइन । खातामा भएको लुक्ने कुरा पनि होइन,’ उनले भने, ‘त्यो कसले जम्मा गर्‍यो मलाई थाहा छैन । त्यसको सिकार म पनि भएको हुन सक्छु । त्यो ढंगबाट पनि एक पटक हेरिदिनुस् भनेर बिन्ती गरेको छु । न्यायको आवश्यकता मलाई पनि पर्छ ।’

उनको नाममा १ करोड ८० लाख रुपैयाँ जम्मा गर्न प्रयोग भएको भौचर सार्वजनिक भएपछि सोमबार नै ग्लोबल आईएमई बैंकमा पुगेका लामिछानेले बैंकबाट एउटा पत्र ल्याएका थिए । बैंकमा पत्रमा पनि सो भौचर बैंकमा जम्मा भएको तर आवश्यक मौज्दात नरहेको कारण चेक बाउन्स भएको जानकारी बैंकले दिएको छ । ‘यस बैंकमा सञ्चालन रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा रु. १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसीमार्फत क्लियरिङमा पठाउँदा ‘इनसफिसेन्ट ब्यालेन्स’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको बेहोरा जानकारी गर्दछौं,’ बैंकको पत्रमा भनिएको छ ।

तर १ करोड ८० लाख लिएको भन्ने तमसुक र बैंक भौचर रवि लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरेका थिए । तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका लामिछानेले पत्रकार सम्मेलनमा भने कसले यस्तो गर्‍यो, आफूलाई थाहा नभएको दाबी गरे । यो विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकारी भन्छन्, ‘लामिछानेले नगदमा रकम लिएर कम्पनी रजिस्ट्रार कार्यालयलाई भौचर मात्र पठाएका हुन सक्छन् । बैंक भौचर र ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको हुन सक्छ । यस्तो रहेछ भने अन्य कानुनसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ ।’

सरकारी अभिलेखमा भएका दस्ताबेजअनुसार लामिछानेले गोर्खा मिडियामा न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । सरकारी निकायमा पेस गरिएको कागजातअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं. ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ । तर सोमबारको पत्रकार सम्मेलनमा लामिछानेले आफैंले जम्मा गरेको ७५ लाखको र सुप्रिम सहकारीको रकम जम्मा भएको बारेमा सुरुमा कुनै प्रतिक्रिया जनाएनन् ।

अहिलेसम्म संकलन भएका विवरणअनुसार विभिन्न सहकारीका झन्डै ३५ हजार बचतकर्ताको करिब साढे ५२ करोड रकम ग्यालेक्सी टेलिभिजनका नाममा हिनामिना भएको छ । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा ल्याइएको थियो । यो समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन् ।

‘मिडियाकर्मीप्रति पर्सनल अट्याक गरेकोमा क्षमा माग्छु’

लामिछानेले करिब एक वर्षअघि सञ्चारमाध्यममाथि लगाएका लाञ्छनामाथि क्षमा मागेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी मुद्दामा लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीसहित सम्पूर्ण सार्वजनिक पदबाट मुक्त गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले मिडिया जगत्, सञ्चार उद्यमी र सञ्चारकर्मीहरूमाथि व्यक्तिगत गालीगलौज गरेका थिए ।

एक वर्षपछि आत्मसमीक्षा प्रस्तुत गर्दै उनले मिडियाप्रति आफूले आवेशमा टिप्पणी गरेको स्विकारेका हुन् । ‘अघिल्लो प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु । त्यसका लागि क्षमा चाहन्छु । मेरो त्यस्तो उद्देश्य होइन,’ उनले भने, ‘डा. रामेश कोइरालाजस्तो साथीलाई अलिकति पर्सनल अट्याक हुन गयो, क्षमा गर्नुहोला । धर्म भुसालजी (अनलाइन खबरडटकमका अध्यक्ष) लाई पनि पर्सनल अट्याक हुन गयो, सम्भव सिरोहियाजी (कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक) लाई पनि पर्सनल अट्याकहरू हुन गयो, कतिपय साथीहरूलाई पनि पर्सनल अट्याक हुन गएको हो । मलाई क्षमा गर्नुहोला । त्यसरी प्रस्तुत नभइदिएको भए हुनुपर्थ्यो । त्यो उद्देश्यले होइन । त्यस्तो गल्ती भविष्यमा पनि हुनेछैन ।’ तर प्रश्नभन्दा बाहिर त सञ्चारमाध्यम पनि हुनुहुन्न भन्ने आफ्नो भनाइ रहेको पनि प्रस्ट पारे ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ९, २०८० ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?