२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंमा पनि सहकारी खोली बचत हिनामिना

पोखराको सूर्यदर्शन र चितवनको साहारामा जस्तै वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणबाट बचत संकलन

वीरगन्ज, बुटवल, बाँके, हेटौंडा र काठमाडौं — ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले देशका प्रमुख सहरमा सहकारी खोली बचतकर्तालाई बिचल्लीमा पारेको छ । वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणबाट बचत संकलन गरिए पनि सबैको नियति पोखराको सूर्यदर्शन र चितवनको साहाराको जस्तै भएको छ । 

वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंमा पनि सहकारी खोली बचत हिनामिना

काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय स्थापना गरेर महाराजगन्ज, न्युरोडलगायत क्षेत्रमा शाखा सञ्चालन गरिरहेको स्वर्णलक्ष्मी सहकारीले दुई वर्षयता बचत फिर्ता दिएको छैन । यस सहकारीको नाममा बचतकर्ताबाट उजुरी आइरहेको सहकारी विभागको भनाइ छ । तर यो सहकारी बागमती प्रदेशको कार्यक्षेत्रभित्र रहेकाले उजुरीहरू प्रदेशतर्फ पठाइएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए ।

‘संघको नियमनबाट बच्न उनीहरूले हरेक प्रदेशमा फरक नाममा सहकारी संस्था दर्ता गरेका छन् । तर, जीबी राई समूहले सञ्चालन गरेका सबै सहकारी संस्थाका विषयमा उजुरी आइरहेका छन् ।’

ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत

स्वर्णलक्ष्मीका बचतकर्ता आङकाजी शेर्पाले दुई वर्षदेखि पैसा नपाएको गुनासो गरे । बढी ब्याजको लोभमा शेर्पाले उक्त संस्थामा ४६ लाख रुपैयाँ बचत गरेका थिए । ‘पैसा पाउन छोडेको डेढदेखि दुई वर्ष हुन लाग्यो । प्रधान कार्यालय ५ महिनादेखि बन्द छ,’ उनले भने ।

स्वर्णलक्ष्मी सहकारीले बचत फिर्ता नदिएको भन्दै उजुरी आएको बागमती प्रदेश, सहकारी मन्त्रालयको सहकारी महाशाखाले जनाएको छ । यद्यपि, उजुरी सम्बन्धमा प्रदेश कार्यालयले पनि कुनै कारबाही अघि बढाएको छैन । सरकारी निकायले समयमै निगरानी नगर्दा उस्तै किसिमको प्रवृत्तिबाट देशैभरि सर्वसाधारण ठगिएका छन् ।

उता, वीरगन्जको घण्टाघरदेखि आदर्शनगर चोक हुँदै ठाकुरराम बहुमुखी क्याम्पस छेउछाउका व्यवसायी पनि अहिले पिरोलिएका छन् । गितेन्द्रबाबु (जीबी) राईको समूहले वीरगन्ज–१० आदर्शनगरमा सञ्चालन गरेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक डेढ वर्षदेखि फरार छन् भने सहकारीमा पनि ६ महिनादेखि ताला लागेको छ ।

एकातिर सर्वसाधारण आफूले जम्मा गरेको बचत कसरी फिर्ता गर्ने भन्ने चिन्तामा छन्, अर्कोतिर कार्यालयको भाडासमेत नपाएपछि घरधनी सञ्जय तुलस्यानले वडा कार्यालयमा निवेदन दिएका छन् । वडा कार्यालयले घर खाली गर्न र बहाल रकम भुक्तानी गर्न भन्दै पुस २ मा १५ दिने सूचना टाँस गरेको छ ।

सञ्चालक भागेको र कार्यालयमा ताला लागेकाले सहकारीले कति रकम हिनामिना गर्‍यो भन्ने यकिन हुन सकेको छैन । भारतीय सीमावर्ती बजार रक्सौलका केही व्यापारीले समेत यहाँ १० लाखदेखि ५ करोड रुपैयाँसम्म जम्मा गरेको बचतकर्ताहरूको भनाइ छ । ‘समस्या सुरु हुँदा नै हामीले सोधखोज गरेका थियौं । करिब ८ सय बचतकर्ता सम्पर्कमा आएका थिए । सहकारीका कर्मचारीले १ अर्ब ३५ करोड रुपैयाँ जम्मा भएको जानकारी दिएका थिए । त्यसैले गम्भीर अनुसन्धान आवश्यक छ,’ एक बचतकर्ताले भने ।

८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा

सानो पाइला सहकारीले २०७९ भदौदेखि नै ठूलो रकमको चेक साट्न आनाकानी गरेको थियो । बचत निकाल्न खोजेका केही ठूला उद्योगी तथा व्यापारीसँग बचत गर्न ल्याएको रकमको स्रोत के हो भन्दै सञ्चालकहरूले धम्क्याउन थालेका थिए । ‘करोडभन्दा माथि निक्षेप जम्मा गरेका बचतकर्ता रकम झिक्न जाँदा सञ्चालकले तपाईंको आम्दानीको स्रोत के हो भनी त्रास देखाउँथे,’ एक उद्योगीले भने, ‘सम्पत्ति शुद्धीकरणमा फसाइदिने भन्दै डर देखाउँथे ।’

रकम झिक्न खोज्दा सहकारीले आनाकानी गरेपछि पवनकुमार अग्रवाल, अंकित अग्रवाललगायत ४४ बचतकर्ताले बचत सुरक्षाका लागि २०७९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सहकारीका सञ्चालक र प्रबन्धकलाई जिल्ला बाहिर जान रोक लगाउन माग गरेका थिए । उनीहरूले सानो पाइला सहकारीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र चलअचल सम्पत्ति तत्काल रोक्का राख्नसमेत माग गरेका थिए । तर, पटकपटक प्रहरी प्रशासन र महानगर धाउँदा पनि सुनुवाइ नभएपछि गत जेठ ३२ मा बचतकर्ताहरूले सहकारीको मूल गेटअघि प्रदर्शन गरेका थिए ।

यसपछि पनि माग सुनुवाइ नभएको भन्दै १ सय २० जना बचतकर्ताले निक्षेप झिक्न नपाएको भन्दै महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा लिखित उजुरी दिएका थिए । लगत्तै महानगरले संस्थापक जीबी राईसहित सञ्चालकलाई गत असार २४ मा कार्यालयमा झिकाएको थियो । उनीहरूले समस्या समाधानका लागि १५ दिनभित्र संस्थाको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने आश्वासन दिएका थिए । तर उनीहरूले यो प्रतिबद्धता पूरा गरेनन् ।

यो बीचमा महानगरको टोलीले सहकारीको कार्यालयमा अनुगमन गरेको थियो । ‘तर त्यहाँ पुग्दा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक कोही पनि नभेटिएपछि महानगरले भदौ ४ सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चलअचल सम्पत्ति रोक्का गरी पक्राउ गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो,’ महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख सुनील कर्णले कान्तिपुरसँग भने ।

बचतकर्ताको अनवरत दबाबपछि प्रहरीले गत असोज पहिलो साता मात्र सानो पाइला सहकारीका संस्थापक, सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । जसमा सहकारीका संस्थापक जीबी भनिने गितेन्द्रबाबु राई, उनका दाइ तथा वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, पूर्वसचिव तस्बिरन मियाँ र कोषाध्यक्ष कुमार रम्तेललगायत छन् । रम्तेल यो समूहका सबै सहकारीमा छन् ।

जीबी राईको समूहले बुटवलको चौराहामा प्रधान कार्यालय राखेर सञ्चालन गरेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले आसपासका सर्वसाधारण र व्यवसायीको हिनामिना गरेको खुलेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको जितपुरमा शाखा कार्यालय खोलेर राईको समूहले करिब आठ हजार बचतकर्ताको एक अर्ब १५ करोड हिनामिना गरेको संस्थामा आबद्ध व्यक्तिहरूले बताएका छन् । संस्था भने एक वर्षदेखि बन्द छ ।

सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि

२०५७ सालमा बुटवल दीपनगरका ओम गुरुङसहितका स्थानीयले मैत्री बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । २०७३ सालमा बुटवलमा सहकारी खोल्ने भन्दै जीबी राईसहितको टोली गुरुङको सम्पर्कमा पुगेको थियो । उनीहरूले काठमाडौंमा सहकारी सञ्चालन गरिरहेको र विभिन्न व्यवसायमा पनि लगानी विस्तार गरी ठूलो कारोबार गर्ने प्रस्तावसहित सहकार्यको प्रस्ताव गरे । त्यसपछि नाम परिवर्तन गरेर बन्यो– सुप्रिम बचत तथा ऋण सहकारी । अध्यक्ष बने जीबी राई । त्यतिबेला सहकारीको सञ्चालक समितिमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसमेत सचिव थिए ।

सदस्यहरूका अनुसार सुरुवातका चार वर्ष जीबी आफैं अध्यक्ष थिए । त्यतिबेला उनले सहकारीमा जम्मा भएको रकम विधि र प्रक्रिया नै पूरा नगरी काठमाडौं शाखामा लगेर आफ्नै विभिन्न कम्पनीमा लगानी गरेको पीडितहरूको भनाइ छ । रकम अपचलनको विषय उठ्न थालेपछि उनले बुटवलका स्थानीय ओम गुरुङलाई नै अध्यक्ष बनाएर आफू संरक्षक बने । सचिव बनेका दीपेश पुनले राजीनामा दिएपछि कुमार रम्तेल सचिव बने ।

वर्तमान अध्यक्ष गुरुङका अनुसार सहकारीका सबै शाखामा गरी ८ हजारभन्दा बढी बचतकर्ता छन् । दैनिक बचतसमेत गर्ने उक्त सहकारीमा बचतकर्ताको १ अर्ब १५ करोडभन्दा बढी हिनामिनाको भएको पनि उनको भनाइ छ । ‘तत्कालीन अध्यक्ष जीबी राईले नै रकम अपचलन गरेका हुन् । अहिले बचत भएको १ अर्ब १५ करोड रकम हामीले फिर्ता गर्न सक्ने अवस्था भएन,’ उनले कान्तिपुरसँग भने । सरकारी निकायले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने वतावारण बनाउनुपर्ने उनको माग छ ।

संस्थामा एकै व्यक्तिको १ करोडदेखि एकै परिवारको ३ करोड २५ लाख रुपैयाँसम्म बचत भएको विवरण खुलेको छ । धेरै बचत हुने व्यक्तिलाई संस्थाको नाममा भएको सम्पत्ति र ऋणीका नाममा रहेका धितो बिक्री गरेर झन्डै ८ करोड रकम फिर्ता गरेको उनले बताए । सहकारी करिब १ वर्षदेखि बन्द छ । आर्थिक हिनामिना गरेर सञ्चालकहरू सम्पर्कविहीन भएपछि यहाँका बचतकर्ता पनि संयुक्त संघर्ष समिति बनाएर आन्दोलनमा छन् ।

प्रदेशको सहकारी विभागसमेत हेरिरहेको आन्तरिक मामिला मन्त्रालयको सहकारी विभागले चार्टर्ड एकाउन्टेन्टबाट लेखापरीक्षण गराएर पुस मसान्तभित्र संस्थाको सम्पूर्ण विवरण पेस गर्न वर्तमान समितिलाई निर्देशन दिएको छ । निर्देशनअनुसार लेखा परीक्षणको काम भइरहेको अध्यक्ष गुरुङले बताए ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीकै शैली बुटवलको सुप्रिम सहकारीमा पनि अपनाइएको देखिन्छ । साहारामा जस्तै सुप्रिमका पनि अधिकांश सञ्चालक जिल्ला बाहिरका छन् र सहकारीको रकम स्थानान्तरण गरिएको छ । अध्यक्ष गुरुङले जीबीकै ‘हर्बो नेचर’ नामक नेटवर्किङ व्यवसायमा समेत यो सहकारीबाट २० करोड लगानी गरिएको बताए ।

नेचर हर्बो, नेचर नेस्ट कम्पनी, स्प्रिङ उड रियल स्टेट एन्ड हाउजिङ प्रालि, जीबी ग्रुप एन्ड कम्पनीलगायत कम्पनीमा ६० करोडभन्दा बढी रकम गएको गुरुङले बताए । रकम पठाउने क्रममा संस्थाका व्यवस्थापकले सागर केसीले कुनै पनि कागजी प्रक्रिया पूरा नगरेको र आफूलाई पनि कुनै जानकारी नदिएको गुरुङको दाबी छ ।

सर्वसाधारणबाट बचतका नाममा पैसा उठाउन जीबी राईको समूहले पश्चिम नेपालगन्ज पुगेर समानता बचत सहकारी लिमिटेड खोलेको थियो । तर त्यहाँका बचतकर्ता पनि समस्यामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा जम्मा भएको करिब डेढ करोड फिर्ता नपाएको भन्दै ३० बचतकर्ताले उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले तीन महिनाअघि सञ्चालक जीबीसहित ९ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण डाँगीले भने, ‘सञ्चालक र प्रबन्धकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ, थप सूचना जारी गरेर अरू बचतकर्ताबाट पनि उजुरी मागिएको छ ।’

प्रकाशित : पुस ११, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?