३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सीमा डुब्यो

गोर्खा मिडिया नेटवर्कले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड लिएको कागजबाटै पुष्टि
२०७७ फागुनमा १५ प्रतिशत सेयरसहित गोर्खा मिडियाको प्रबन्ध निर्देशक बनेका रवि लामिछानेले २०७९ असारमा टीभी छाडेको घोषणा गरेका थिए, यो अवधिका कारोबारमा उनी उत्तरदायी हुनेमा कानुन प्रस्ट 
दीपक परियार

पोखरा — सर्वसाधारणले आफ्नो पेसा व्यवसाय र सन्तानको शिक्षादीक्षाका लागि जम्मा गरेको बचत जीबी राई समूहले एकमुष्ट रूपमा निजी कम्पनीमा सारेर हिनामिना गरेको विषयमा थप विवरणहरू प्राप्त भएका छन् । कान्तिपुरले अहिलेसम्म प्राप्त गरेका कागजातअनुसार पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेका छन् ।

३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सीमा डुब्यो

अहिले टेलिभिजन बन्द छ, अध्यक्ष जीबी राई फरार छन् भने १५ प्रतिशत लगानीसहित प्रबन्ध निर्देशक बनेका रवि लामिछानेले सर्वसाधारणको बचतप्रति आफू उत्तरदायी नहुने दाबी गर्दै आएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा सारिएको थियो । यो समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन् । तर, यी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा कति रकम सारिएको थियो भन्ने यकिन हुन बाँकी छ ।

बुटवल मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ असोज ११ मा १ करोड, माघ २९ मा २ करोड ४५ लाख र चैत १८ मा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा सारिएको थियो । त्यस्तै २०७८ वैशाख ५ मा १ करोड, वैशाख ९ मा ३० लाख, असार ४ मा १ करोड, असार २२ मा १ करोड ३ लाख ३६ हजार, असोज १३ मा ५० लाख रुपैयाँ, पुस १२ मा १ करोड ५० लाख रुपैयाँ सारिएको थियो ।

यसरी पोखराको सूर्यदर्शनबाट १० करोड ७४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारिएकामा ७ करोड २९ लाख रुपैयाँ सार्दा भने लामिछाने गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । २०७७ फागुन ११ मा गोर्खा मिडिया नेटवर्कमा तर्फबाट ग्यालेक्सी टेलिभिजन प्रसारणको घोषणा हुँदा राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशकका रूपमा सार्वजनिक भएका थिए । त्यस्तै २०७९ असार १ मा उनले टेलिभिजनबाट अलग भएको घोषणा गरेका थिए । यसरी लामिछानेले आफैं घोषणा गरेको समया अवधिभित्र २०७७ फागुनदेखि २०७९ असारसम्म नै सुप्रिम सहकारीबाट सात करोड ८० लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजनमा ‘ट्रान्सफर’ गर्दा उनी प्रबन्ध निर्देशक थिए ।

‘सहकारीबाट ऋण लिने निजी कम्पनीका सञ्चालकलाई ठगी मुद्दा लगाउनुपर्छ’

हुन त विभिन्न मितिमा जीबी राई अध्यक्ष रहेको नेचर नेस्ट प्रालिमा पनि सुप्रिम सहकारीबाट ३ करोड ३७ लाख ९८ हजार रकमान्तर भएको छ । यो रकमका लागि नेचर नेस्टका सञ्चालकहरू उत्तरदायी भएजस्तै गोर्खा मिडिया नेटवर्कमा लगानी भएको रकम तत्तत् समयका अध्यक्ष र प्रबन्ध निर्देशक उत्तरदायी हुनुपर्ने कानुनी व्यवस्था छ । यसरी सुप्रिम सहकारीको रकम हिनामिना हुँदा कुमार रम्तेल कोषाध्यक्ष र दीपेश पुन सचिव थिए । पछि गोर्खा मिडिया नेटवर्कको उपाध्यक्ष बनेका थिए भने पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादीनिकट अखिल क्रान्तिकारीका नेता हुन् ।

अझ पोखराको सूर्यदर्शन सहकारीबाट त गोर्खा मिडिया नेटवर्कमा नाममा ३० करोड रुपैयाँ लगानी गरिएको तमसुक नै प्राप्त भएको छ । गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) को मूल्य १ अर्ब २५ करोड मूल्यांकन गरेर ३० करोड बराबरको सेयर सूर्यदर्शन सहकारीका नाममा सुरक्षण गरिएको कागजमा लेखिएको छ । यसमा सहकारी र टेलिभिजन दुवैतर्फबाट जीबी राई समूहका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् । तमसुकमा गोर्खा मिडिया नेटवर्कका तर्फबाट जीबी राई र बचतकर्ताका तर्फबाट दुर्गाप्रसाद शर्मा र शिवबहादुर गुरुङको हस्ताक्षर छ । त्यस्तै कागजमा सहकारीका अध्यक्ष थानबहादुर बुढा र राप्रपाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङ साक्षीका रूपमा छन् ।

९ बुँदे करारनामामा सूर्यदर्शनका सेयर सदस्यले आफ्नो बचतलाई सुरक्षण गर्न प्रस्ताव राखेकाले गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको सेयरबाट सुरक्षण गरिएको भनिएको छ । पोखराका १९ हजार बचतकर्ताको प्रतिनिधित्व शर्मा र गुरुङले गरेको भनिएको छ, जबकि यो विषयमा बचतकर्तालाई कुनै जानकारी थिएन ।

यो दस्ताबेजका विषय आफ्नोसमेत जानकारीमा आएको भन्दै लामिछानेले आफ्नो दायित्व भने नहुने जिकिर गरेका छन् । २०७७ फागुन ११ मा घोषित रूपमै ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक भएको र २०७९ असार १ मा अलग्गिएको सार्वजनिक घोषणा गरेकाले त्यसअघि र पछिको कारोबारमा जिम्मेवार हुनु नपर्ने उनको तर्क छ । शनिबार कान्तिपुरलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मैले सेयर फिर्ता गरेको, राजीनामा दिएको र राजीनामा स्वीकृत भइसकेको मिति नै कानुनी रूपमा मेरो संलग्नता सकिएको मिति हुन्छ । कुनै निकायले प्रक्रिया पुर्‍याएको मिति देखाएर छलछाम गर्ने काम नहोस् ।’ तर, लामिछाने प्रबन्ध निर्देशक भएकै अवधिमा गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शन सहकारीबाट पैसा गएको छ । पोखरा महानगरको अध्ययन प्रतिवेदनमा पनि २०७७ चैत ३ मा १ करोड, २०७८ जेठ ६ मा ५० लाख, असार ९ मा ५० लाख, असार २७ मा ५० लाख र २०८० असार १३ मा १ करोड ३० लाख ८९ हजार रकम गएको उल्लेख छ ।

तर, ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले २०८० मा सूर्यदर्शन सहकारीबाट गरेको कागजबाट लामिछानेले आफूलाई अलग गर्न चाहेका छन् । तर कागज गत असार २ मा गरिए पनि सहकारीको रकम भने विगतमा विभिन्न मितिमा गोर्खा मिडिया नेटवर्कमा सारिएको हो । रकम डुब्ने निश्चित भएपछि गत असार २ मा मात्र यस्तो तमसुक गरिएको थियो ।

तर, कानुनतः लामिछानेले स्वीकार गरेका मितिमा भएका कारोबारप्रति उनको उत्तरदायित्व हुनुपर्ने विषयमा नेपालको प्रचलित कानुनमा भने द्विविधा छैन । लामिछानेले आफू सहकारीको सञ्चालक, सदस्य वा बचतकर्ता पनि नभएकाले यसको कुनै पनि दायित्वप्रति आफू जवाफदेही नहुने दोहोर्‍याएका छन् । तर उनको नामबाट बुटवलको सुप्रिम सहकारीबाट एक करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारिएको भौचर कान्तिपुरले प्रकाशित गरिसकेको छ । त्यस्तै पोखराको सूर्यदर्शन सहकारीमा कृत्रिम रूपमा पुलेसो खाता खडा गरी लामिछानेका नाममा एक करोडको कारोबार भएको महानगरपालिकाको अध्ययन प्रतिवेदमा स्पष्ट उल्लेख छ ।

सहकारी ऐन २०७४ को दफा ५० मा सहकारी संस्थाले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था भएकाले लामिछानेले व्यक्तिगत तथा उनी प्रबन्ध निर्देशक भएको बखत उनको संस्थाले गरेको कारोबारप्रति दायित्व हुने स्पष्ट छ । ऐनले भनेको छ, ‘सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण कारोबारमा लगानी, फर्म वा कम्पनीको कुनै बैंक (सहकारी बैंकबाहेक) को सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन ।’ यो व्यवस्थाविपरीत अन्य कुनै प्रयोजनमा बचत प्रयोग गरेमा बिगो बराबरको रकम जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था छ । त्यस्तै ऋण असुल हुन नसक्ने गरी रकम हिनामिना गरेमा बिगो बराबर जरिवाना र रकमका आधारमा ८ देखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

विभिन्न सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका अध्यक्ष राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि भ्रष्टाचार निवारण ऐन २०५९ पनि आकर्षित हुने अवस्था छ । ‘कुनै फर्म, कम्पनी वा संगठित संस्थाले यस परिच्छेदबमोजिम कसुर गरेको मानिने कुनै काम गरेमा त्यस्तो फर्मको हकमा त्यस्ता काम गर्दाको बखत सम्बन्धित हिस्सेदारहरू र कम्पनी वा संगठित संस्थाको हकमा कम्पनी वा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकारीले त्यस्तो कसुर गरेको मानिनेछ,’ ऐनको दफा २३ मा स्पष्ट भनिएको छ, ‘मुख्य भई कामकाज गर्ने अधिकारी भन्नाले कम्पनी वा संगठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रबन्धक, प्रबन्ध निर्देशक वा सोही हैसियतमा कामकाज गर्ने पदाधिकारी सम्झनुपर्नेछ ।’

सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेटवर्कबीच करारनामामा सेयरधनीका तर्फबाट हस्ताक्षर गरेका पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पुर्पक्षका लागि कास्की कारागारमा छन् । उनले आफू पनि बचतकर्ताकै पक्षमा रहेको र बचतकर्ताकै बचत सुरक्षित गर्न धितोस्वरूप ग्यालेक्सी टेलिभिजनसँग गरेको करारनामाबाट फिर्ता भएको कागज पनि बनाइसकेको बयान दिएका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ उक्त समयमा बचतकर्ताले सञ्चालक समिति र सहकारी हिनामिनामा संलग्नविरुद्ध जाहेरी दिने तयारी गरेपछि थम्थमाउन मात्रै उक्त करारनामा गरिएको बताउँछन् । उनी भन्छन्, ‘जाहेरी पर्‍यो भने विकराल समस्या आउने देखेर हतारमा कागज गरिएको हो ।’

अर्का जाहेरीकर्ता पीडित कृष्ण जैसी भन्छन्, ‘लामिछाने प्रबन्ध निर्देशक भएकै अवधिमा गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट रकम गएकाले रकम हिनामिनाको भागीदार उनी पनि हुनुपर्छ । आफूलाई थाहा नभएको भनेर उम्कन मिल्दैन । यो १९ हजार पोखरेलीको पसिनाको सबाल हो ।’

सूर्यदर्शन सहकारी ठगीमा संलग्नको आरोपमा १९ जनाविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । त्यसमध्ये उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा माओवादीबाट निर्वाचित अध्यक्ष हुन् । गुरुङ एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव हुन् ।


प्रकाशित : पुस २२, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?