२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

‘दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण’

–नेपालीसहित एसियाली र अफ्रिकी देशका श्रमिकलाई चर्को घाममा काम लगाइनुका साथै शारीरिक दुर्व्यवहार र भेदभाव गरिएको रिपोर्ट सार्वजनिक
–जलवायु परिवर्तनबाट प्रभावित श्रमिकलाई ध्यान पुर्‍याउन कोप–२८ लाई अनुरोध
होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८)’ को आयोजनास्थल निर्माण र नवीकरणीय ऊर्जा परियोजनामा श्रम शोषण भएको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार त्यहाँ कार्यरत नेपालीसहित एसियन र अफ्रिकी देशका श्रमिकलाई चर्को घाममा काम लगाइनुका साथै शारीरिक दुर्व्यवहार र भेदभाव गरिएको हो ।

‘दुबईको कोप–२८ आयोजनास्थलमा श्रम शोषण’

आप्रवासी श्रमिकको मानवअधिकारसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्विडिएम फाउन्डेसनले फेब्रुअरीदेखि अक्टोबरसम्म जलवायु परिवर्तन सम्मेलन र नवीकरणीय ऊर्जा केन्द्रहरूमा कार्यरत २ सय ४८ जना श्रमिकसँग छलफल र एक सय दुई जना श्रमिकको कार्यस्थलमै पुगेर अनुसन्धान गरी अध्ययन रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्टले कोप–२८, एक्स्पो सिटी, सिमेन्स ऊर्जासहित पाँच नवीकरणीय ऊर्जा परियोजना र वितरण (डेलिभरी) कम्पनीहरूमा गम्भीर प्रकृतिका श्रम उल्लंघनहरू भएको तथ्य सार्वजनिक गरेको हो । केही वर्षयता यूएईले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न भन्दै पेट्रोलबाट बिजुली उत्पादनमा कमी ल्याउन बृहत् लगानीमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइरहेको छ । दुबईमा मंसिर १४ देखि २६ सम्म हुने कोप–२८ मा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपाल सहभागी हुँदै छ ।

रिपोर्टले यूएईको औद्योगिक, निर्माण, सुरक्षा र सेवा क्षेत्रमा कार्यरत ९० लाख आप्रवासी श्रमिकको अवस्थालाई उदांगो बनाएको इक्विडियमले दाबी गरेको छ । ‘जलवायु र अधिकारको दुरुपयोग गर्ने राज्यमा यो विश्वव्यापी शिखर सम्मेलनको आयोजना गर्नु एकदमै उपयुक्त थिएन । हाम्रो रिपोर्टले कोपको प्रक्रियामार्फत जलवायु परिवर्तनलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको आफ्नै मानवअधिकारसम्बन्धीको बडापत्रलाई पालना गर्न यूएई हरेक मापनमा असफल देखाउँछ,’ इक्विडिएमका प्रमुख कार्यकारी अधिकृत मुस्ताफा कादरीले भनेका छन् ।

श्रमिकहरूले गर्मी समयमा काम गरेर थकित हुँदा आराम गरेको भेटिएमा सुपरभाइजरले हप्कीदप्की गर्नुका साथै हात हाल्नसमेत आउने बताएका छन् । ‘श्रमिकको मर्का माथिल्लो तहका अधिकारीले बुझ्दैनन् । उनीहरूले हाम्रो कुरा सुन्दैनन् । काम गर्ने क्रममा आराम गरेको पाइएमा थप्पड लगाउँछन्,’ एक श्रमिकले भने, ‘एक पटक मसँग काम गर्ने एक जना साथीको हात पोलेको थियो । उनी बसेर आराम गरिरहेका थिए । अचानक सुपरभाइजर आएर केही नसोधी थप्पड हाने, गाली गरे । यस्तो प्रायः नयाँ श्रमिकहरूले भोगिरहेको हुन्छ ।’

यूएईले अन्तर्राष्ट्रिय क्षेत्रमा नवीकरणीय ऊर्जाको विकासमा ल्याएको ख्यातिलाई गरिब देशका श्रमिकमाथि भएको अन्यायपूर्ण व्यवहारले छोपिदिएको इक्विडिएमको भनाइ छ । ‘तेल–ग्यासको अत्यधिक प्रयोगबाट नै जलवायु संकटमा छ । तेल–ग्यासको अर्थ व्यवस्थाबाट टिकेको यूएईले गरिब देशका युवामाथि अन्यायपूर्ण व्यवहार गरिरहेको छ,’ कादरीले भने ।

श्रमिकलाई कार्यस्थलमा हिंसा, ज्याला नदिने, अत्यधिक गर्मीमा काम लगाउने, पेसागत स्वास्थ्य र सुरक्षाको अभाव, देशगतको आधारमा भेदभाव गर्नुका साथै श्रमिकमाथि शोषणयुक्त भर्ना अभ्यासहरू गरिएको रिपोर्टले जनाएको छ । ‘न्यून श्रमिकलाई अधिक काममा लगाइएको छ । पदोन्नतिको अवसर छैन । भीडभाडयुक्त आवासको व्यवस्था गरिएको छ । अपर्याप्त खाना भत्ता दिइएको छ,’ रिपोर्टमा उल्लेख छ । इक्विडिएमले कोप–२८ समक्ष विश्वमा जलवायु परिवर्तनको कारणले बढ्दो तापमानबाट अत्यधिक प्रभावित हुने प्रवासी श्रमिकका लागि उचित ध्यान पुर्‍याउन अनुरोध गरेको छ ।


प्रकाशित : मंसिर ७, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?