कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

पूर्वराष्ट्रपति एमालेमा फर्किने चर्चामाथि ओलीको टिप्पणी : पार्टीमा समस्या ल्याउने कोसिस

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् । 

पूर्वराष्ट्रपति एमालेमा फर्किने चर्चामाथि ओलीको टिप्पणी : पार्टीमा समस्या ल्याउने कोसिस

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए । 'हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,' उनले भने, 'पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ ।'

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न एमालेका अध्यक्ष ओलीको भनाइ थियो । उनले थपे, 'यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे ! पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्न भन्ने खालको । यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।'

एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए । 'कसले पो भन्यो अरे ओली रहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ भनेर । यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कल्ले भन्या कुरा !’ उनले भने ।

२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी निजी निवासमा बस्दै आएकी छन् । उनले सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहेकी छन् ।

प्रकाशित : श्रावण २८, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?