कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सभामुख-उपसभामुख भेलाको निष्कर्षप्रति राष्ट्रिय सभा उपाध्यक्षको आपत्ति

'मसँग जोडिएको विषयमा मलाई जानकारी नै नगराई, थाहा समेत नदिई किन मस्यौदा संशोधन गरियो ? कार्यक्रममा सहभागी संघीय संसद्‍का पदाधिकारी, प्रदेशसभाका सभामुख र उपसभामुख एवं महासचिव/सचिवहरु सबै बसेर किन निष्कर्षबारे छलफल गरिएन ?'

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले चन्द्रागिरि भेलापछि जारी गरिएको निष्कर्षमा असहमति जनाएकी छन् । संघीय तथा प्रदेश सांसदका प्रमुख तथा उपप्रमुखको दुईदिने भेलापछि आइतबार त्यसको निष्कर्षमा सहमतिको विषयमा परिवर्तन गरिएको भन्दै उपाध्यक्ष अर्यालले आपत्ति जनाएकी हुन् ।

सभामुख-उपसभामुख भेलाको निष्कर्षप्रति राष्ट्रिय सभा उपाध्यक्षको आपत्ति

उपाध्यक्ष अर्यालले महिलाको मागको विषयमा संसदीय संयन्त्र गठन सम्बन्धी विषयमा आपत्ति जनाएकी हुन् । मस्यौदामा आएको विषयभन्दा फरक निष्कर्षमा फरक रुपमा आएको र त्यसमा आफूसँग परामर्श नरिएकोमा आपत्ति जनाएकी हुन् ।

'चन्द्रागिरिबाट बानेश्वर आउँदासम्म किन बुँदा संशोधन गर्नुपर्ने भयो ? हामीसँग छलफल नै नगरी, कसैको पनि हस्ताक्षर नै नगराई हतारमा निष्कर्षहरु सार्वजनिक गर्नुपर्ने बाध्यता के आइलाग्यो ? कार्यक्रमको निष्कर्ष तयार गर्ने जस्तो महत्त्वपूर्ण विषयमा छलफल नै गर्न नचाहने सम्माननीयज्यूहरुको नियत हो कि बाध्यता ?' उपाध्यक्ष अर्यालले प्रश्न गरेकी छन् ।

आफूहरूसँग छलफल नै नगरी निष्कर्ष तय गरिएकोमा आपत्ति जनाउँदै उनले विज्ञप्ति जारी गरेकी हुन् । विज्ञप्तिमा अर्यालले उल्लेख गरेकी छन्, 'यो प्रक्रियाप्रति मेरो आपत्ति छ । हिजो शनिबार बेलुका चन्द्रागिरिमै मेरो अध्यक्षतामा प्रदेशसभाका उपसभामुखहरुसँग बसेर गरेको निर्णय (जुन बुदा नं. ७ मा उल्लेख गरिएको छ) मा मलाई एउटा मस्यौदा दिएर बाहिर फरक किसिमले प्रस्तुत गरी अपमानित गर्ने कार्य गरिएको छ, त्यसप्रति मेरो घोर आपत्ति रहेको व्यहोरा यही प्रेस विज्ञप्तिमार्फत् सबैमा जानकारी गराउन चाहन्छु ।'

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको कार्यक्रमको निष्कर्षको बुँदा नं. ७ मा लेखिएको छ, 'संविधानप्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न र महिला सशक्तिकरणका लागि प्रतिनिधिसभाका उपसभामुखको नेतृत्वमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र निर्माण गरिने । साथै उपसमाभुखहरुको कार्यबोझलाई विस्तृतीकरण गर्न पहल गर्ने ।'

उपाध्यक्ष अर्यालले भने आइतबार बिहान महासचिवले उपलब्ध गराएको मस्यौदामा 'संविधानप्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न संघीय संसदका माननीय उपसभामुख र माननीय उपाध्यक्षको नेतृत्वमा प्रदेश सभाका उपसभामुखहरु रहेको एक संसदीय संयन्त्र गठन गर्ने' उल्लेख रहेको बताएकी छन् ।

अर्यालले साउन ७ गते आइतबार संघीय संसदका महासचिवले आफूलाई उपलब्ध गराएको कार्यक्रमको निष्कर्षको मस्यौदामा उल्लेख भएको विषय र पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निष्कर्ष फरक आएको भन्दै प्रश्न गरेकी हुन् ।

'मसँग जोडिएको विषयमा मलाई जानकारी नै नगराई थाहा समेत नदिई किन बिहान दिइएको मस्यौदा संशोधन गरियो ? कार्यक्रममा सहभागी संघीय संसदका पदाधिकारी, प्रदेशसभाका सभामुख र उपसभामुख एवं महासचिव/सचिवहरु सबै बसेर किन कार्यक्रमको निष्कर्षबारे छलफल गरिएन ? सम्माननीय सभामुखज्यू र सम्माननीय अध्यक्षज्यूप्रति मेरा प्रश्नहरु छन्,' अर्यालले भनेकी छन् ।

प्रतिनिधिसभा सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सातै प्रदेशसभाका सभामुख तथा उपसभामुखको चन्द्रगिरिमा भएको दुईदिने भेला १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

प्रकाशित : श्रावण ७, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×