कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जलन पीडितको उपचार गर्न ठूला भवन होइन, सामान्य अस्पतालमा आईसीयू चाहिन्छ : सांसद भण्डारी

काठमाडौँ — नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगो, ग्यास, बिजुलीलगायतका प्रज्वलनशील प्रदार्थको जलनबाट पीडितको उपचार गर्नका लागि सरकारले सबैजसो अस्पतालहरूमा आईसीयूको व्यवस्था गर्नुपर्ने बताएका छन् । जलनको उपचार गर्न भनेर ठूला भवनवाला अस्पताल निर्माण गर्नुभन्दा सबैजसो जिल्लाका अस्पतालहरूमा आईसीयू बेड थप गर्नुपर्ने उनको भनाइ थियो ।

जलन पीडितको उपचार गर्न ठूला भवन होइन, सामान्य अस्पतालमा आईसीयू चाहिन्छ : सांसद भण्डारी

सांसद भण्डारीले जलनबाट पीडितहरूको विषयमा राज्यका महत्त्वपूर्ण निकायमा रहेकाहरूको ध्यान नगएको र नीति निर्माताहरूले पनि बेवास्ता गरिरहेको बताए । 'बर्न भ्वाइलेन्स सर्भाइबर्स नेपाल' (बीभीएस)ले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सांसद भण्डारीले आफूमा पनि जलनबाट पीडित भएपछि मात्रै यो विषयमा बोल्नपर्छ भन्ने लागेको बताए । 'जलनबाट पीडितको उपचारका लागि सरकारले यस्ता ठूला बिल्डिङ बनाउनु पर्दैन । सामान्य हस्पिटल आइसीयू सेन्टर चाहिने रहेछ,' उनले भने । सरकारले अस्पतालहरूमा आईसीयू बेड थप्ने योजना अगाडि सार्नुपर्ने सुझाव राखेका थिए ।

नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदा जलन पीडितको उपचारका लागि कुनै योजना नल्याएको अवस्थामा आफू संसद्मा गएर बोल्न तयार भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि कुरा राखेपछि बजेटमा जलन पीडितको उपचारको व्यवस्था गर्ने योजना ल्याएको उनले बताए । 'म यसमा परेँ । यसले अत्यन्तै पीडा हुन्छ । यस्तो पीडामा बाँच्न मन कसैलाई पनि लाग्दैन । म परेको कारणले गर्दा कमसेकम आजाव त उठाउन पाएँ भन्ने पनि लाग्छ,' उनले भने ।

जलनबाट पीडितको उपचार र औषधि गर्न अत्यन्त महंगो हुने भएकाले सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताए । नेपालको उच्च ओहदामा रहेकाहरूमा कसैलाई पनि त्यस्तो व्यवस्था गरौं भन्ने नलाग्ने गरेको उनले बताए । 'नेपाल मिडिसिनको हब बन्ने रहेछ । तर नेपालमा गरौं भन्ने कसैलाई रहेनछ । नत्र एउटा हस्पिटल त बन्थ्यो नि !,' उनले भने ।

नेपालमा अग्नीजन्य दुर्घटनाका पीडितहरूको उपचार गर्ने नेपालमा पर्याप्त दक्ष जनशक्ति रहेको उनको भनाइ थियो । तर, उपचारका लागि आवश्यक पर्ने मेसिन भने उपलब्ध नभएको उनको भनाइ थियो । त्यसका लागि सरकारले लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालका विज्ञहरूले पनि यस्ता कुरामा ध्यान दिन नसकेको भण्डारीको गुनासो थियो । उनले विकासका नाममा सडक र भवन मात्रै देख्ने गरिएको तर यस्ता संरचना स्थापनामा भने ध्यान नगएको बताए । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका आवश्यकताको पहिचना हुन नसकेको उनको भनाइ थियो ।

जनचेतना फैलाउन पनि आश्यक रहेको उनको भनाइ थियो । 'प्रविधिको विकासले गर्दा गाउँमा बिजुली, ग्यास पुग्यो । ७ कक्षामा पढ्ने बच्चाले ग्यास कसरी चलाउने भन्ने शिक्षा छैन,' उनले भने । राज्यले ठूला व्यक्तिहरूलाई उपचार गरिदिने तर सर्वसाधारणको उपचारका लागि अस्पतालमा आईसीयूको व्यवस्थासम्म नगरिदिनु दुःखद् रहेको उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले जलन पीडितको उपचारका लागि सरकारले योजना अगाडि ल्याउने बताइन् । उनले अस्पतालमा उपचारको व्यवस्था थप्न सरकारले योजन ल्याएको बताइन् । स्कुलको पाठ्यक्रममा जलनसम्बन्धी सामग्री परिचालन सम्बन्धी शिक्षा राख्ने मन्त्रालयको तयारी रहेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २९, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×