कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कांग्रेसमा नेतृत्व बदल्ने ‘मिसन’ कति सहज ?

पार्टीभित्रको संकट चिर्न भन्दै महामन्त्री गगन थापा र शेखर कोइराला बजेटलगत्तै देश दौडाहाको तयारीमा
आम नागरिकले आशा र भरोसा राखेका दुई महामन्त्रीको भविष्यका निम्ति पनि नेतृत्व परिवर्तन अनिवार्य छ ।-गेजा शर्मा वाग्ले, विश्लेषक
नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीको विवादलाई छताछुल्ल पार्दा त्यसले कांग्रेस झनै कमजोर बन्छ ।-मीन विश्वकर्मा, केन्द्रीय सदस्य-कांग्रेस
कुलचन्द्र न्यौपाने

काठमाडौँ — देशको साखसँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसमा थप धुव्रीकरणको संकेत देखापरेको छ । सत्ताको प्रमुख घटक र संसद्कै ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनताले यो संकेत गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण यो प्रकरणमा मुछिएपछि पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।

कांग्रेसमा नेतृत्व बदल्ने ‘मिसन’ कति सहज ?

महामन्त्रीसहित नेताहरूले बैठक बोलाउन पटकपटक माग गर्दा पनि सभापति देउवा त्यसलाई पन्छाइरहेका छन् । उनको यो सन्देहपूर्ण कार्यशैली र मौनताले तल्ला तहका कार्यकर्तामा थप निराशा र छटपटी बढाएको संस्थापनइतर नेताहरू बताउँछन् ।

सभापति देउवाको कार्यशैलीले पार्टीको साख र प्रतिष्ठालाई धुलिसात पारेको निष्कर्षमा पुगेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विद्रोहको मनस्थितिमा छन् । कस्तो विद्रोह भन्ने सन्दर्भमा महामन्त्री थापाले देशभरका स्थानीय नेता तथा कार्यकर्तासँगको मनोविज्ञान बुझेपछि मात्रै निर्णय लिने बताए ।

डेढ वर्षअघि दोस्रो कार्यकाल सम्हालेदेखि मन्त्रिपरिषद् विस्तार र नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा सभापति शेरबहादुरको कार्यशैलीले कांग्रेसलाई थप क्षति पुगिरहेको संस्थापनइतर पक्षको धारणा छ । पार्टीभित्रको संकट चिर्न भन्दै महामन्त्री गगन थापा र शेखर कोइराला ‘पार्टी सुधारका लागि’ देश दौडाहाको तयारीमा छन् । बजेट भाषणलगत्तै सुरु हुने अभियानको तयारीस्वरुप बिहीबार मधेश–प्रदेशमा कार्यकर्ता भेला गरिएको छ । पार्टीको १५ औं महाधिवेशनअघि नै नेतृत्व बदल्ने ‘मिसन’ मा थापालगायतका नेताहरू छन् ।

पार्टी नेताहरूका अनुसार तत्काल यसका लागि दुई विकल्प छन् । पहिलो, सभापति देउवाले देशको परिस्थिति बुझेरै आफै राजीनामा दिने । दोस्रो, विशेष महाधिवेशन डाकेर देउवालाई अविश्वासको प्रस्तावबाट हटाउने । पहिलो विकल्पमा देउवा तयार देखिँदैनन् । महाधिवेशन प्रतिनिधिको एक चौथाइ सदस्यले सभापतिविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर विशेष महाविधेशन बोलाउन सक्छन् ।

अविश्वास प्रस्तावलाई दुई तिहाइ प्रतिनिधिले समर्थन गरेमात्रै देउवालाई सभापतिबाट हटाउन सकिन्छ । तर, पार्टी संरचनामा बलियो रहेका देउवालाई हटाउन यो विकल्प पनि सहज देखिन्न । डेढ वर्षअघि सम्पन्न महाधिवेशनमा देउवाले कुल ४ हजार ७ सय ४३ मतमा २ हजार ७ सय २४ अर्थात् झन्डै ६० प्रतिशत मत ल्याएर विजयी भएका थिए । मुख्य प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ८ सय १७ मत ल्याएका थिए । यो झन्डै ४० प्रतिशत हो । देउवालाई दुई तिहाइबाट हटाउन संस्थापन इतरपक्षलाई थप १ हजार ३ सय ४५ मत आवश्यक पर्छ ।

कांग्रेस महामन्त्री थापाले भने नेतृत्व बदल्न विधानको प्रक्रियाअनुसार एक–दुई–तीनको सामान्य नियममा नअल्झिई एकैचोटि १० मा पुगेर पार्टीभित्रै विद्रोहको संकेत गरेका छन् । संस्थापनपक्षीय केन्द्रीय सदस्य श्याम घिमिरे महामन्त्री थापाले संकेत गरेको विद्रोह विशेष महाधिवेशन नभएर पार्टीभित्रकै संघर्षको रूप हुन सक्ने बताउँछन् । ‘त्योभन्दा परचाहिँ पार्टी विभाजनसम्मको अवस्था हुन सक्छ । तत्काल त्यो बाटो जाने पनि देखिन्न,’ उनले भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउने सम्भावना छैन ।’

तर, महामन्त्री थापाले उठाएका प्रश्नप्रति भने नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको घिमिरेले बताए । ‘पार्टी सुधार्न सकिएन भने २०८४ को चुनावसम्म कांग्रेस मात्रै होइन हामी सबैको भविष्य खतरामा पर्ने देखिन्छ । हामीलाई पार्टीमा आमूल सुधार नै चाहिएको हो,’ उनले भने, ‘सभापतिजीले आफ्नै टिमका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिए केही आशा पलाउँथ्यो । महामन्त्रीहरूको असन्तुष्टि पनि मत्थर हुन्थ्यो । तत्काल पार्टीलाई जोगाउने उत्तम विकल्प यही नै हुन सक्छ ।’

पार्टीको शक्तिलाई सभापति देउवा र पत्नी आरजु राणा देउवाले सत्ता स्वार्थका उपयोगका लागि प्रयोग गर्ने ‘प्राइभेट लिमिटेड’ जस्तो बनाएको भन्दै कांग्रेसका धेरै नेता–कार्यकर्ता नेतृत्वप्रति आक्रोशित छन् । संस्थापन पक्षभित्रैकालाई पनि यो कार्यशैली मनपरेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाले लिएको नीतिले कांग्रेसभित्र थप ध्रुवीकरणको प्रयासलाई बल पुर्‍याएको छ । भ्रष्टाचारको विरोधमा नेतृत्व खुलेर आउन नसक्दा पार्टीभित्र यही मुद्दालाई लिएर ध्रुवीकरण हुन सक्ने नेताहरूको भनाइ छ । डेढ वर्षअघि नै शेखर कोइराला र उनको टिमले पुस्तान्तरण र रूपान्तरणको मुद्दा अघि सारे पनि महाविधेशनले त्यसलाई अनुमोदन गरेन ।

‘दोस्रो पटक कार्यभार सम्हाल्दै गर्दा केही सुधार होला कि भन्ने आशा डेढ वर्षमा धुलिसात भएको छ । आम जनमत भ्रष्टाचारको विरोधमा छ तर नेतृत्व र नेतृत्वलाई साथ दिनेहरू भष्टाचारका मुद्दामा निर्मम हुन सकेका छैनन्, शरणार्थी प्रकरणले नेतृत्वको परीक्षण भइसकेको छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘फेरि पनि देउवा प्रधानमन्त्री हुने कुराले आम नागरिक र पार्टी पंक्तिमा थप निराशाबाहेक केही देखिँदैन । ०८४ को निर्वाचनअघि नै नेतृत्व परिवर्तन गर्न सकेनौं भने कांग्रेस विघटनको डिलमा पुग्न सक्छ । पार्टीको भविष्य र अस्तित्व जोगाउन पनि नेतृत्व बदल्ने संघर्षमा उत्रनुपर्ने बेला भएको छ ।’

विश्लेषक गेजा शर्मा वाग्ले आम नागरिकले आशा र भरोसा राखेका दुई महामन्त्रीको भविष्यका निम्ति पनि नेतृत्व परिवर्तन अनिवार्य रहेको बताउँछन् । नेतृत्वसँगै उसले लिएको नीति र कार्यक्रमको पक्ष र विपक्षमा ध्रुवीकरण हुन सक्ने उनको अनुमान छ । सुशासन दिन नसक्ने, सरकारमा छँदा एकपछि अर्को काण्डमा जोडिने र डेलिभरी दिन नसक्ने अहिलेको नेतृत्वबाट आम नागरिक र पाटी पंक्तिमा निराशा बढेको उनले बताए । ‘यही नेतृत्व बोकेर कांग्रेसको रूपान्तरण, सुदृढीकरण र शुद्धीकरण हुन सक्दैन । आम नागरिकसँग जोडिने कांग्रेस बनाउन नेतृत्व परिवर्तनदेखि नै शुद्धीकरण आवश्यक छ ।’

संस्थापनपक्षीय केन्द्रीय सदस्य मीन विश्वकर्मा भने तत्काल नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको बताउँछन् । नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीको विवादलाई छताछुल्ल पार्दा त्यसले कांग्रेस झनै कमजोर बन्ने उनको भनाइ छ । ‘जसले, जतिबेला चाहनेबित्तिकै नेतृत्व परिवर्तन हुने होइन, विधानले त्यसका लागि निश्चित प्रक्रिया र व्यवस्था तोकेको छ,’ उनले भने, ‘पार्टीमा रूपान्तरण आवश्यक छ । त्यसका लागि केन्द्रीय कार्यसमिति, महासमिति के बोलाउने हो बोलाएर गम्भीर छलफल गरौं । तर, सार्वजनिक रूपमा विवादलाई छताछुल्ल पार्ने काम नगरौं ।’

बिहीबार मधेश–प्रदेशमा भएको भेलामा तल्ला तहका कार्यकर्ताको मनोविज्ञान तत्कालै नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा देखिएको युवा नेता गुरुराज घिमिरेले बताए । यो समूहले सातवटै प्रदेशमा भेला गर्ने भएको छ । भेलामा घिमिरेसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गोविन्द पोखरेल, युवा नेताहरू देवराज चालिसे, रञ्जित कर्ण, भूपेन्द्रजंग शाहीलगायत सहभागी थिए । नेता शेखर कोइराला र महामन्त्री थापालाई जानकारी गराएरै यो समूहले भेला गरेको हो । ‘कांग्रेसको रूपान्तरण नीतिगत परिवर्तन र सामान्य व्यवस्थापकीय सुधारले मात्रै हुँदैन । नेतृत्व बदल्न पन्ध्रौं महाधिवेशनसम्म कुरौं भने त्यसबेलासम्म पार्टी थला पर्छ भन्ने मनोविज्ञान आम साथीमा देखिन्छ,’ घिमिरेले भने, ‘देशभर कार्यकर्ताको मनोविज्ञान बुझेपछि हामी आफ्नो समूहलाई निर्णय गर्न दबाब दिन्छौं ।’

पछिल्ला घटनाक्रमलाई लिएर नेता कोइराला र थापाबीच पनि आपसी आशंका छ । सरकारमा पठाउने मन्त्री छनोटमा कोइरालाले आफूसँग छलफल नगरेको गुनासो थापाको छ । यता, कोइरालालाई पनि थापाले १५ औं महाधिवेशनमा सभापति बन्नका लागि पार्टीभित्र ध्रुवीकरण बढाउन खोजिरहेको हो कि भन्ने आशंका छ । १४ औं महाधिवेशनमा ‘एक पटक, यसै पटक’ भन्ने नारा दिएर सभापतिका प्रत्यासी रहे पनि कोइराला एकपटक पार्टीको सभापति बन्न चाहेका छन् । तर, आपसी शंका हटाएर संस्थापन इतरपक्षमा कोइराला र थापा मिलेरै नेतृत्व बदल्ने मिसनमा बढ्ने नेताहरू बताउँछन् ।

‘अहिलेको संकटको समस्या नै नेतृत्व हो । नेपालको हित हुने ठाउँमा कांग्रेसलाई उभ्याउन आफ्नो जिम्मेवारीको ठाउँबाट जस्तोसुखै जोखिम उठाउनुपर्छ भन्ने निष्कर्षमा पुगेको छु,’ थापाले कान्तिपुरसँग भने, ‘यस्तो बेलामा के हुने, अर्को अधिवेशनमा के हुने, नेतृत्व बदलेर को आउने भन्ने कुरातिर मेरै ध्यान छैन ।’

प्रकाशित : जेष्ठ १३, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?