अनर्गल गाली गलौज र झूठा प्रचारमा नलाग्न आफ्ना कार्यकर्तालाई श्रेष्ठको आग्रह

काठमाडौँ — नेकपा (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका कार्यकर्तालाई अर्को समूह जस्तो गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।

अनर्गल गाली गलौज र झूठा प्रचारमा नलाग्न आफ्ना कार्यकर्तालाई श्रेष्ठको आग्रह

उनले नेकपा (केपी शर्मा ओली ) समूहका नेता कार्यकर्ता जस्तो अनर्गल प्रचारकोपछि नलाग्न आग्रह गरेका हुन् । श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टिकरणबाट बचाउनु पर्ने पनि बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध हामी संविधान,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं । त्यस प्रकारको असंवैधानिक कदम चालिएको पुस ५ गतेको कालो दिन पछि पुस ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्‍याइयो । हामी त्यसप्रकारको विसर्जनवादी प्रवृत्तिकाविरुद्ध पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यतः प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिइ रहेका छौं ।’

श्रेष्ठले थप अगाडि भनेका छन्, ‘त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी विचार,सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल–बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झूठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु । हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टिकरणबाट बचाउनु पर्दछ ।’

प्रकाशित : पुस १६, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?