कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

खोप ल्याउन निजी क्षेत्रको पहल

अतुल मिश्र

काठमाडौँ — सरकारले कोभाक्स सुविधासँगै अन्य माध्यमबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन गृहकार्य थालेको छ । कोभाक्समा मात्र निर्भर नरही सुरक्षित र प्रभावकारी खोप उपलब्ध हुनासाथ ल्याउन छलफल सुरु भएको हो । यसका लागि सरकारले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोपलाई प्राथमिकतामा राखेको छ ।

खोप ल्याउन निजी क्षेत्रको पहल

ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको पहिलो लट सन् २०२१ को मार्चसम्ममा आउन सक्ने अनुमान छ । यो वर्षको डिसेम्बरदेखि नै विश्वका धेरै ठाउँमा कोभिडविरुद्घको खोप दिन सुरु भएको छ । ‘सरकारले कोभाक्सबाहेक अन्य तरिका अपनाएर सुरक्षित र प्रभावकारी खोप छिटो ल्याउन तयारी गरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

कोभाक्स सुविधाभन्दा पहिले नै बजारमा खोप उपलब्ध भएमा अन्य तरिका (खरिद गरेर) बाट ल्याउनेबारे छलफल भइरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कोभाक्सबाट खोप आउन ढिलो भयो भने अन्य माध्यमबाट समेत ल्याउनुपर्ने निर्देशन छ । कोभाक्सलाई मात्र कुर्ने पक्षमा सरकार छैन ।’ नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जी टु जी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी र निजी क्षेत्रको माध्यमबाट खोप ल्याउन तयारी भइरहेको डा. अधिकारीले बताए ।

‘जी टु जी र जी टु के (कम्पनी) बाहेक निजी संस्थाले पनि आफू आधिकारिक विक्रेता रहेको भन्दै सरकारले तोकेको प्रक्रियाभित्र खोप ल्याउने प्रतिबद्घता व्यक्त गरे उनीहरूलाई पनि खोप ल्याउन दिनेबारे छलफल भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका अर्का अधिकारीले भने, ‘अर्थ मन्त्रालयले खोप ल्याउनका लागि रकम सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयसँगै छलफल गरिरहेको छ ।’

सरकारले खोप द्रुत कार्य योजनाअन्तर्गत ८ वटा कार्यक्षेत्र विभाजन गरेर दिइएको काम गर्ने जिम्मेवारी कार्यदलका सदस्यहरूले पूरा गरिसकेका छन् । ‘८ वटा कार्यदलले आफूलाई जिम्मेवारी तोकिएअनुसारको काम सकेर स्वास्थ्य मन्त्रालयमा पेस गरेका छन्,’ डा. अधिकारीले भने, ‘खोपसँग सम्बन्धित प्राविधिक पक्षको काम सकिएको छ ।’

निजी क्षेत्रले समेत मुलुकमा खोप ल्याउन प्रयास सुरु गरेका छन् । ‘निजी क्षेत्रले खोप ल्याउनका लागि सरकारको उच्च तहमा भेटवार्ता पहल गरिरहेका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘तर स्वास्थ्य मन्त्रालय र सरकारले निजी क्षेत्रलाई खोप ल्याउन दिने वा नदिनेबारे निर्णय गरेको छैन । हालसम्म मुलुकमा सञ्चालन भएका खोप अभियान सरकारले आफैं गरेको हो ।’

उनका अनुसार भविष्यमा निजी क्षेत्रबाट समेत खोप ल्याउने प्रावधान भएमा सरकारले तय गरेको नीति नियम, गाइडलाइनअन्तर्गत रहेर खोप आयात गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार निजी क्षेत्रबाट दर्जनौं कम्पनीले खोप ल्याउन चासो देखाएका छन् । निजी क्षेत्रलाई खोप ल्याउन दिनका लागि सरकारले कानुनी रूपमा सहजीकरण गर्नुपर्नेछ ।

गाभीका अनुसार हाल विश्वमा कोभिडविरुद्घ १५४ भन्दा बढी खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा छन् । यस्तै २० वटा खोप पहिलो चरणको ट्रायल (परीक्षण) अन्तर्गत स्वस्थ युवा व्यक्तिमा सुरक्षा परीक्षण भइरहेको छ । यसअन्तर्गत ७ वटा प्रोटिन आधारित, ८ वटा भाइरल भेक्टर, ४ वटा न्युक्लिक एसिड र एउटा भाइरस आधारित खोप छन् ।

प्रकाशित : पुस १६, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?