कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एयरलाइन्समा संक्रमित यात्रु

सँगै आएका ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ ।

काठमाडौँ — मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।

नेपाल एयरलाइन्समा संक्रमित यात्रु

जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले मलेसियाबाट पोजिटिभ भएर आएकालाई भर्ना गरिएको बताए । ‘कुनै लक्षण नभएका संक्रमितको अवस्था सामान्य छ,’ उनले भने, ‘भर्ना गरेर स्वाब परीक्षण गर्न ल्याबमा पठाइसकिएको छ । रिपोर्ट आउन बाँकी छ ।’

जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ‘रिपोर्ट जाँच गर्ने क्रममा एक जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने, ‘जहाजबाट आएका यात्रुलाई पोजिटिभ देखिनेबित्तिकै हल्लीखल्ली भयो । त्यो जहाजबाट आएका यात्रुलाई छुट्टै राखेर व्यवस्थापनतिर लाग्यौं ।’

पोजिटिभ यात्रु कसरी ल्याइयो भन्ने छानबिन हुनुपर्ने स्वास्थ्य मन्त्रालयका एक चिकित्सकले बताए । ‘जहाजले नै पोजिटिभ केस ल्याएपछि थप असुरक्षित भएको छ,’ उनले भने ।

विमानमा आएका १ सय ४५ मध्ये ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई घरमा आइसोलेसन बस्नलाई पठाइएको विमानस्थल स्रोतले जनाएको छ । उक्त जहाज बुधबार बिहान पौने ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यो जहाजमा आएका यात्रु व्यवस्थापन गर्न तीन घण्टा लागेको विमानस्थलका एक सुरक्षाकर्मीले बताए । ‘संक्रमितको नजिकको सिटमा बसेकालाई मात्रै होटलमा आइसोलेसनमा राखिएको हो,’ ती सुरक्षाकर्मीले भने । होटलको आइसोलेसनमा राखिएकाको पाँच दिनपछि पीसीआर हुनेछ ।

प्रकाशित : पुस १६, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?