कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटनको निर्णय बदर हुने सम्भावना छैन : अर्थमन्त्री पौडेल

भूषण यादव

वीरगन्ज — नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय बदर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

संसद् विघटनको निर्णय बदर हुने सम्भावना छैन : अर्थमन्त्री पौडेल

नेकपा प्रदेश नम्बर २ ले बुधबार वीरगन्जको नगर सभागृहमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले भने, ‘जतिबेला प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिराख्नु भएको थियो । त्यतिबेला उहाँ प्रतिनिधिसभामा नेकपाको संसदीय दलको नेताको रुपमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँ प्रतिनिधिसभामा बहुमत सदस्यको समर्थन जितेको प्रधानमन्त्री हुनुहुन्थ्यो । जब बहुमत सदस्यको विश्वास जितेको प्रधानमन्त्रीले यो प्रतिनिधिसभाबाट मुलुक अब अगाडि जान नसक्ने भयो, अगाडि बढाउनका लागि ताजा जनादेशका लागि जानुपर्ने अवस्था रह्यो भनेर उहाँले बहुमत सदस्यको समर्थन आफूसँग राखेर संसद विघटन गर्नु भएको छ भने, त्यो प्रतिनिधी सभा विघटनको निर्णय वदर हुने कुनै सम्भावना नै रहँदैन ।’

बहुमत सदस्यलाई साथमा राखेर लिएको निर्णय बदर हुने हो भने अल्पसंख्यक सदस्यले कुनै वैकल्पिक सरकार दिने सम्भावना हुँदैन । ‘यसकारणले पनि संसद विघटनको निर्णय सदर हुन्छ र मुलुक निर्वाचनमा जान्छ,’ उनले भने, ‘तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन्छ । निर्वाचनका सम्पन्न गराउनका लागि सुरक्षाकर्मी र निर्वाचन आयोगले प्रतिवद्धता व्यक्त गरेका छन् ।’

पुष्पकमल दाहालले अविश्वासपत्र दर्ता गराएकै दिनदेखि पार्टी विघटनतर्फ उन्मुख भएको महासचिव पौडेलले खुलाए । ‘प्रचण्डले जुन दिन पार्टीको सचिवालय बैठकमा त्यो कथित आरोपपत्र प्रस्तुत गर्नुभयो, म बताउन चाहन्छु, त्यो आरोपपत्र हैन, पार्टी विभाजनको आधारपत्र थियो,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध र गतिशील तुल्याउने, पार्टीलाई अगाडि बढाउने, अघि सारिएको थिएन्, पार्टीमा विभाजन ल्याउनका लागि ल्याइएको थियो । विभाजनको आधार तयार गर्न प्रस्तुत गरिएको थियो ।’

प्रधानमन्त्री ओलीको विरुद्धमा कथित अंक गणितको खेल खेलेर दाहाल पार्टी र मुलुकको सत्ता कब्जा गर्न खोजेको पौडेलको भनाइ थियो । ‘पार्टीलाई विभाजनतर्फ प्रचण्ड धकेल्न चाहनुहुन्छ,’ उनले भने, ‘पार्टी र सरकार कब्जा गर्ने कोसिस हुँदै थियो, त्यो कोसिस भएको छ ।’

प्रदेश भेलाका अर्का वक्ता सहरी विकासमन्त्री प्रभु साहले दाहालको पदलोलुपता र परिवारवादले माओवादीको पहिचान गुमेको आरोप लगाए । 'प्रचण्डले माओवादी मुभमेन्टको व्यापार गरिरहेका छन्,' मन्त्री साहले भने, 'जनमुक्ति सेनाको नाममा आएको पैसामा भ्रष्टचार गर्नेले कसरी देश विकास गर्छ ?'

प्रकाशित : पुस १५, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?