कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ' : भट्ट

'पार्टी, संघीयता र गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्रीसँग काँध मिलाएका छौं ।'

काठमाडौँ — नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् । ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्नका लागि प्रधानमन्त्रीसँग काँध मिलाएको बताए । 

'प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ' : भट्ट

दाहाल-माधवकुमार नेपालहरू सडकमा 'हामी यहाँ छौं' भनिरहेको प्रति व्यंग गर्दै बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टले भने, 'उहाँहरूलाई हामीले खोज्न जानुपर्ने स्थिति छ, कहाँ हुनुहुन्छ भनेर । देशका कुनाकाप्चामा कहाँ कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने दायित्व प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ ।'

'पार्टी, संघीयता र गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्रीसँग काँध मिलाएका छौं,' भट्टले भने । पार्टीमा सैद्धान्तिक, वैचारिक, सांगठनिक समस्या के हो भन्ने कहिँ पनि छलफल नभएको भन्दै उनले त्यसको दोष दाहाल नेपाल पक्षको भएको बताए ।

दाहालले पूर्वमाओवादीलाई एमालेसँग एकता गर्दा ओलीलाई आफूले नचिनेको र भन्दै विश्वासघात गरिएको बताए । 'एकता हुँदा मैले चिनेको प्रचण्डलाई थिएँ । केपीलाई चिनाउने प्रचण्ड हुन् । विश्वासघात प्रचण्डले गर्नुभयो कि हामीले गरेका थियौं ?,' उनले थपे, 'विश्व कम्युनिस्ट आन्दोलदनको सुनौलो इतिहास हामीले लेखेका छौं । एक नम्बरमा अध्यक्ष ओली, दोस्रोमा म आलोपालो अध्यक्षता गर्छौ । ऐतिहासिक घडीमा हामीलाई साथ दिनुपर्छ भन्नुभयो । अहिले सडकमा आउ भन्नुहुन्छ । कसमा विचलन भएको छ ?'

भट्टले पूर्वमाओवादी एक बनौं भन्न नमिल्ने बताए । उनले एमाले र माओवादी विगत भइसकेकाले अहिले ओलीको अगुवाइमा अगाडि बढ्नुपर्ने धारणा राखे । 'हामी पूर्वमाओवादी यता भन्ने हो भने माधवकुमार नेपाललाई यता पठाइदिनुपर्‍यो नि !'

'दाहालले जहिले पनि क्रमभंग, धक्का, महाविपत्ती जहिले पनि ल्याउनुहुन्छ । अलिकति सोझियो कि महाविपत्ति ल्याउनुहुन्छ । देशलाई महाविपत्तीमा लग्नुहुन्छ,' भट्टको भनाइ थियो ।

दाहालले प्रधानमन्त्री बन्न खोजेको र माधवकुमार नेपालले दोस्रो वरियताको अध्यक्ष खोज्दा पार्टीमा अहिलेको अवस्था आएको बताए ।

प्रधामन्त्री ओलीले ल्याएको 'सुखी नेपाली, समृद्ध नेपाल' नारा नभएर विचारधारा भएको भट्टको भनाइ थियो ।

प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन गरिएको भट्टको भनाइ थियो । दाहाल र नेपालले प्रधानमन्त्रीको कुर्सी ताकेर मात्रै बसेको तर सरकारले गरेका कामको प्रसंसा नगरेको भन्दै उनले असन्तुष्टि पनि पोखे ।

प्रकाशित : पुस १५, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?