कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओली अब कमरेड रहनुभएन, सर्वसत्तावादी शासक बन्नुभयो : नेतृ शाक्य 

काठमाडौँ — नेकपा (दाहाल-नेपाल पक्ष)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासक बनेको बताएकी छन् । पार्टीले आयोजना गरेको संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताइन् ।

केपी ओली अब कमरेड रहनुभएन, सर्वसत्तावादी शासक बन्नुभयो : नेतृ शाक्य 

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेतृ शाक्यले भनिन्, 'जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो ।'

‌ओली नेतृत्वको सरकारले सुशासन, महिला सुरक्षा लगायतका कुरामा चुकेको नेतृ शाक्यको भनाइ थियो । नेकपाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्रमा जनताले सुख पाउलान् भन्ने अपेक्षा राखेकोमा अहिले त्यसो हुन नसकेको उनको भनाइ थियो ।

'केपी ओली प्रधानमन्त्री भइसकेपछि मुलुक अगाडि बढ्छ । गणतन्त्र, समाजवाद अगाडि बढ्छ लागेको थियो । जनताले दुःख पाउने छैनन् लागेको थियो । जनताले सडकमा जानुपर्ने छैन लागेको थियो । तर फेरि एकचोटी संघीय गणतन्त्रमाथि, संविधानमाथि प्रहार गरेको छ । संविधानमाथि कू गरेको छ,' शाक्यले भनिन् ।

नेकपाले तीनवटै तहमा जनताबाट सरकार सञ्चालन गर्ने अधिकार प्राप्त गर्दा पनि प्रधानमन्त्री ओलीका कारण त्यसो हुन नसकेको शाक्यको भनाइ थियो । मुलुकमा भ्रष्टाचार, अनियमितता बढेको र सुशासन तथा सुरक्षा व्यवस्था हुन नसकेको भन्दै उनले असन्तुष्टि पोखिन् ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार देशभर संसद विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ । काठमाडौंको कार्यक्रममा अध्यक्षद्वय दाहाल र नेपाललगायतका नेताहरू सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित : पुस १४, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?