कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै समूहको हित हुने गरी मिल्न चिनियाँ टोलीको सुझाव

चिनियाँ विशेष टोलीले दाहाललाई भन्यो : ओलीसँग मिलेर अघि बढ्नुहोस्, दाहालले जवाफ दिए : ओली सच्चिए, मिल्न तयार छौं
चिनियाँ विशेष टोलीले सोमबार एकै दिन भेट्यो दाहाल, नेपाल, खनाल र सापकोटालाई
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकी चीनबाट आएको विशेष टोलीले नेकपाका दुवै समूह (ओली र दाहाल–नेपाल) लाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक संकट गहिरिएपछि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

दुवै समूहको हित हुने गरी मिल्न चिनियाँ टोलीको सुझाव

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै पार्टी एकता र करिब दुई तिहाइ बहुमतको सरकार बनेपछि चीन केही उत्साहित थियो । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच अनुभव आदानप्रदान र प्रशिक्षणका शृंखला पनि सुरु भएका थिए । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी फुटेपछि चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाडौं उत्रेको हो ।

टोलीले दोस्रो दिन सोमबार खुमलटार पुगेर नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल, सोही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गर्‍यो । टोलीले आइतबार काठमाडौं उत्रिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेको थियो । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ओली र चिनियाँ टोलीबीच शिष्टाचार भेटवार्ता भएको जनाएका छन् । यी भेटघाटहरूमा उपस्थित नेकपाका नेताहरूले कान्तिपुरलाई दिएको जानकारीअनुसार चिनियाँ टोलीले सबैभन्दा पहिले के कारणले विवाद भएको हो भन्नेबारे विस्तृत जानकारी लिएको थियो । सबै नेताहरूले नेकपा विवादबारे आ–आफ्नोतर्फबाट जानकारी दिएका थिए । ‘अन्त्यमा चिनियाँहरूले कूटनीतिक शैलीमा दुवै समूहलाई फाइदा हुने गरी मिलेर अघि बढ्न सुझाव दिएका थिए,’ भेटवार्तामा बसेका एक नेताले भने ।

उक्त टोली दाहाललाई भेट्न बिहान साढे ९ बजे खुमलटार आएको दाहालको सचिवालयकी सदस्य गंगा दाहालले कान्तिपुरलाई बताइन् । उक्त भेटवार्तामा दुवै समूह मिलेर अघि बढ्न चिनियाँ टोलीले सुझाव दिएको बैठकमा सहभागी अर्का एक नेताले जानकारी दिए । जवाफमा दाहालले ओलीले प्रतिनिधिसभा विघटनको सम्बन्धमा आत्मालोचना गर्दै आफ्नो निर्णय फिर्ता लिए मिलेर अघि बढ्न बाटो खुला हुने बताएका थिए ।

अध्यक्ष नेपालसँग एभरेस्ट होटलमा भएको भेटमा चिनियाँ टोलीले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध रहेको र चीनले नेकपा मिलेर अघि बढेको हेर्न चाहेको बताएको भेटमा सहभागी नेकपा विदेश विभागका उपप्रमुख राम कार्कीले कान्तिपुरलाई जानकारी दिए । ‘उनीहरूले नेपाल र नेपालीहरूको हितका लागि पनि नेकपाभित्रको विवाद मिलाएर अघि बढ्न सुझाव दिए,’ अर्का नेताले भने, ‘नेकपाले निर्वाचनमा भाग लिएर जित हासिल गर्दै सत्ता सञ्चालन गर्न आइपुग्नु कम्युनिस्टहरूका लागि गर्वको कुरा भएको उनीहरूले बताए ।’

खनालसँगको भेटवार्तामा पनि चिनियाँ टोलीले अहिलेको राजनीतिक घटनाक्रम बुझ्दै मिलेर अघि बढ्न सुझाव दिएको थियो । ‘उहाँहरू (खनाल र चिनियाँ टोली) बीच मुलुकको अहिलेको अवस्थाबारे करिब एक घण्टा कुरा भएको थियो,’ खनालको सचिवालयका एक सदस्यले भने । चिनियाँ टोलीले सबै नेताहरूसँग नेकपाभित्रको विवाद बढेर मुलुकमा अस्थिर खालको अवस्था आउँदा त्यसले आफूलाई पनि असर पर्न सक्ने खालको आशय नेताहरूसँगको कुराकानीमा व्यक्त गरेको थियो । नेपालमा अस्थिरता भएका बेला अन्य विदेशी शक्तिहरूका लागि यो भूमि उर्वर हुने र त्यसले आफ्नो सुरक्षामा खतरा पर्ने चीनले ठान्दै आएको छ । यो भेटघाटका क्रममा पनि चिनियाँ टोलीले त्यसतर्फ ध्यानाकर्षण गराएको थियो ।

तिब्बत मामिलाको विषयलाई नेपालमा बसेर अन्य शक्तिहरूले उछाल्ने हुन् कि भन्ने चिनियाँहरूको चिन्ता छ । त्यसैले विशेष गरी प्रधानमन्त्रीसँगको भेटमा एक चीन नीतिको विषयमा पनि कुरा भएको थियो । ‘प्रधानमन्त्रीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भनेका छन् ।

खनाललाई भेटेपछि चिनियाँ टोलीले सभामुख अग्नि सापकोटालाई उनकै निवास लैनचौर पुगेर भेटेको थियो । उक्त भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा एक घण्टा छलफल भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । ‘उक्त टोलीले चिनियाँ राष्ट्रिय कंग्रेसका सभामुखले पठाएको सन्देश हाम्रो सभामुखलाई सुनाएको थियो, नेपालको संघीय संसद् र चिनियाँ राष्ट्रिय कंग्रेसको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा पनि छलफल भयो,’ उनले भने । सापकोटाले कोभिड–१९ को सवालमा चीनले नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद पनि दिए । स्रोतका अनुसार सभामुख सापकोटा र चिनियाँ टोलीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको थियो ।

सभामुख सापकोटालाई भेटेपछि चिनियाँ टोलीले साँझ ६ बजे जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उनकै निवास टोखा पुगेर भेटेको थियो । भट्टराईसँगको भेटमा चिनियाँ टोलीले नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध विस्तार गर्न आफूहरू आएको उल्लेख गरेको थियो । सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने भएकाले यो सन्दर्भ पारेर भ्रमणमा आएको उपमन्त्री कुओले बताएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयका अनुसार प्रमुख पार्टीहरूबीचको सम्बन्ध राम्रो बनाउने प्रयोजनका लागि मात्र आएको, नेपालको आन्तरिक मामिलामा बहस र छलफल गर्न नआएको चिनियाँ टोलीले बताएको थियो । टोलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

प्रकाशित : पुस १३, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?