कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा नेता तान्‍ने होड

१२ जिल्लामध्ये दाहाल–नेपाल समूहमा ६ र ओली समूहमा ५ जिल्ला अध्यक्ष खुलेका छन् ।
प्रदेश ब्युरो

भैरहवा — नेकपा दाहाल–नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका नौ जिल्लामा भेला र प्रशिक्षण गरेको छ । अधिकांश भेलालाई केन्द्रीय नेताले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । धेरै नेताले सर्वोच्च अदालतले निर्णय सच्याउने आशा पनि व्यक्त गरेका छन् ।

लुम्बिनीमा नेता तान्‍ने होड

दाहाल–नेपाल समूहले रोल्पा, प्यूठान र पश्चिम नवलपरासीबाहेकका जिल्लामा भेला तथा प्रशिक्षण गरेको हो । तीन जिल्लामा सोमबार भेला आह्वान गरिएको छ । रूपन्देहीमा नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालसहितका नेताले सम्बोधन गरेका थिए । बाँकेमा योगेश भट्टराई, पाल्पाका ठाकुर गैरे र सोमप्रसाद पाण्डे, दाङमा कृष्णबहादुर महरा, कपिलवस्तुमा चक्रपाणि खनाल, पूर्वी रुकुममा गणेश पुन, अर्घाखाँचीमा रामकुमारी झाँक्रीसहितले सम्बोधन गरेका छन् । सम्बोधनमा धेरै नेताले ‘प्रतिनिधिसभा विघटनको विरोध र ओली समूहको आलोचना’ मै समय खर्चिए । केन्द्रीय नेता भुसाल, भट्टराई, झाँक्री, खनाल र पुनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको गल्ती सर्वोच्च अदालतबाट सच्चिने भन्दै आधिकारिक नेकपा दाहाल–नेपाल नेतृत्वकै पार्टी रहेको दाबी गरेका थिए । कृष्णबहादुर महराले आन्दोलनको विकल्प नरहेको बताए ।

लुम्बिनी प्रदेशमा आइतबार भएको भेलाले दुई समूहबीच द्वन्द्वको सम्भावना पनि देखाएको छ । कार्यालय कब्जाको होडबाजी पनि चलेको छ तर धेरै जिल्लाका भेला तथा प्रशिक्षण होटलमै भएका छन् । लुम्बिनी प्रदेशमा हुने भेला र प्रशिक्षणलाई प्रभावकारी बनाउन, आन्दोलनको तयारी र प्रदेश सरकारको अंकगणितको हिसाब गर्न नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती सक्रिय भएकी छन् । प्रदेशका जिल्ला भेला पनि उनकै संयोजनमा भइरहेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये दाहाल–नेपाल समूहमा ६ र ओली समूहमा ५ जिल्ला अध्यक्ष खुलेका छन् । प्यूठानका अध्यक्ष तुलसीराम शर्मा अझै खुलेका छैनन् । उनी वामदेव गौतमनिकट मानिन्छन् । अहिलेसम्म रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियाका जिल्ला अध्यक्ष दाहाल–नेपाल समूहमा छन् । त्यस्तै रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुका जिल्ला अध्यक्ष ओली पक्षमा लागेका छन् ।

कपिलवस्तुमा नेता/कार्यकर्ता आफ्नो समूहमा पार्न होड चलेको छ । ओली समूहले जिल्लाका ११ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । यहाँका ४ निर्वाचित र २ समानुपातिक प्रदेशसभा सदस्यमध्ये विष्णु पन्थी मात्र खुलेर दाहाल–नेपाल पक्षमा देखिएका छन् । ओली पक्षले सदरमुकाम तौलिहवा र दाहाल–नेपाल पक्षले आइतबार गोरुसिंगेमा बैठक राखे । दाहाल–नेपाल पक्षमा खुलेर लागेका नेता कम छन् ।

दाहाल–नेपाल समूहले आइतबार पाल्पा जिल्ला कमिटीको चौथो बैठक बोलायो । तानसेनस्थित रेडक्रस हलमा आयोजित बैठकलाई ओली समूहले भने क्लब र समूह गठन गरेजस्तो भेला बोलाएको जनाएको छ । दाहाल–नेपाल समूहमा केन्द्रीय सदस्यद्वय सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, तुलाराम घर्ती (वसन्त) मगरलगायत नेताका साथ जिल्ला कमिटी सचिव राजेन्द्र विक, प्रदेशस्तर कमिटीका यादवबहादुर रायमाझी, नेत्रप्रसाद पाण्डेयलगायत भेलामा सहभागी भए । जिल्ला कमिटीको चौथो बैठकमा १ सय ४४ मध्ये ८७ जनाको सहभागिता रहेको स्रोतले जनायो । ।

केन्द्रीय नेतृत्व विभाजित भएपछि रोल्पाका नेकपा कार्यकर्ताले समूहगत गतिविधि तीव्र बनाएका छन् । पूर्वएमालेका कार्यकर्ताले ओली नेतृत्वमा गतिविधि बढाएका छन् । पूर्वमाओवादी केन्द्रका कार्यकर्ताहरू दाहाल–नेपाल नेतृत्वमा संगठित भएका छन् । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगर नेतृत्वका अधिकांश सदस्यले दाहाल–नेपाल समूहलाई साथ दिने देखिएको छ । ओली समूहको नेकपाको जिल्ला अध्यक्षमा युवा नेता प्रेम घर्तीमगरलाई अघि ल्याउने उक्त समूहको तयारी छ ।

नेकपा रूपन्देही दाहाल–नेपाल पक्षले गरेको जिल्ला भेलालाई सम्बोधन गर्न आइतबार गृहजिल्ला आएका घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना नभएमा मुलुक अधोगतितिर जाने बताए ।

प्रकाशित : पुस १३, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?