कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टेलिसिरियलका कथाजस्तै राजनीति’

चुनावताका ‘सैं पनि एमाले, मै पनि एमाले’ गाएर जनता जुरुक्क जुरुक्क पारेका लोकगायक पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा रनभुल्ल
जनकराज सापकोटा

काठमाडौँ — प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव घोषणा गरेलगत्तै सडकमा तीन वर्षअघि चुनावी रन्कोमा एमालेले बजाएको एउटा गीत फेरि घन्कियो । भोट माग्दै हिँड्दा होस् वा चुनावी आमसभामा मात्रै घन्किने उक्त गीत यतिबेला घन्किनुको उद्देश्य मात्रै फरक छैन, त्यसको अन्तर्य पनि फरक छ ।

‘टेलिसिरियलका कथाजस्तै राजनीति’

पार्टी विभाजनपछि चुनाव चिह्न सूर्य कसले पाउने भन्ने अन्तिम निर्णय नभइसकेको पृष्ठभूमिमा एमाले सम्झाउने र सूर्य चिह्नको याद दिलाउने यो गीत बज्नुको आफ्नै राजनीतिक अर्थ छ । चुनाव प्रचारप्रसार गर्न बनाइएको गीत बदलिँदो राजनीतिक मौसममा घन्किएको उक्त गीतका गायकमध्येका एक बद्री पंगेनीले पनि थाहा पाएका छन् । यसबारे त्यति धेरै टिप्पणी नचाहे पनि उनले बदलिँदो राजनीति र त्यसपछि देखिएको उछलकुदलाई नजिकबाटै नियालिरहेका छन् ।

नेकपा विभाजनको संघारमा जातीय छुवाछूतविरुद्ध बलियो आवाज बनाउन ‘तिम्रो घरमा मेरी छोरी भान्छा चलेन’ बोलको गीत बजारमा ल्याएका बद्री हिजोआज त्यसैको प्रचारप्रसारमा छन् । प्रतिनिधिसभा विघटनलगत्तै भएको नेकपा विभाजन र त्यसपछि विकिसित राजनीतिक घटनाक्रमबारे खुलेर प्रकट नभएका उनले पछिल्लो राजनीतिक कदमबारे आफूले बोलिहाल्ने हैसियत नराख्ने बताए । ‘यो सबै कुरा नबुझीकन म अहिले बोल्न चाहन्नँ,’ उनले भने, ‘नबुझीकन बोल्दा, नबुझीकन लाग्दा के हुँदोरहेछ भन्ने त म अहिले भोग्दै पनि छु । त्यसैले अहिले बोल्दा हतार हुन्छ कि ?’

एउटा दलले बहुमत पाउँदा देशले विकास गर्छ कि भन्ने सपना देखेर आफूले चुनावताका गीत गाएको तर आफ्नो सपना पूरा नभएको उनले गुनासो गरे । त्यसो त पछिल्लो राजनीतिक घटनाक्रमपछि केही मान्छेले उनलाई तेरो गीत सुनेर एमालेमा भोट हालियो, अहिले यस्तो गर्‍यो भनेर पनि नसुनाएका होइनन् । त्यस्तो गुनासोप्रति उनी सम्मान नै गर्छन् तर आफूले गीतै गाएर गल्ती नै गरेको भने ठान्दैनन् । उनले बिम्बको प्रयोग गरेर भने, ‘पोखरीमा डुबिरहेका बेला कसरी उत्रिने भन्ने हुँदोरहेछ । त्यतिबेला जसले आफूलाई बाहिर निकाल्छ जस्तो लाग्छ, त्यतैतिर हात दिइँदोरहेछ । मैले पनि त्यही गर्‍या न हो ।’

दुई दशकभन्दा लामो समयदेखि लोकगायनमा यात्रारत बद्री बेलाबखत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने र कहिलेकाहीँ फोनमै कुरा गर्ने मौका पनि पाउँथे । प्रधानमन्त्रीसँगका भेटमा उनी आम मानिसले सामाजिक सञ्जालमार्फत सरकारप्रति गरेको गुनासो मोबाइलमार्फत देखाइदिन्थे । उनले भने, ‘देखाएर के गर्नु, प्रधानमन्त्रीसँग त बोल्नै सकिन्न । उहाँले धरहरा बन्दै छ, यतिवटा अस्पताल बन्दै छन् । तपाईंको गीतले त्यही हुन्छ भन्या हैन भन्नुहुन्थ्यो । भकै छ कि क्या हो भन्या जस्तो पनि हुन्थ्यो ।’

त्यसो त बेलाबखत सरकारले जनजीविकाका सवालमा भनेजस्तो काम गरेन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका बेला उनलाई सिधै प्रधानमन्त्री ओली फोन पनि गर्थे । पछिल्लोपटक संसद् विघटनअघि पनि बद्रीलाई फोन आएको थियो । उनले त्यतिबेला पनि भने, ‘तपाईंप्रति अविश्वास छैन तर मन्त्रीहरूले त भनेजस्तो काम गरेनन् नि ?’ जवाफमा प्रधानमन्त्रीले आफूले सबैतिर हेर्न नभ्याउने भएको र केही मन्त्रीले भनेजस्तो कार्यसम्पादन नगरेको कुरा बताएका थिए ।

विभाजित पछिल्लो राजनीतिक घटनाक्रममा पछि कित्ताकाट भइहाल्न नहतारिए पनि उनले राजनीतिक वर्णपटमा देखिएका पछिल्ला दृश्यलाई भने नजिकबाट नियालिरहेका छन् । उनले नेपाली राजनीतिको कथालाई हिन्दी टेलिसिरियलसँग तुलना गर्दै भने, ‘कथाले कुन मोड लिन्छ र कता जान्छ, अन्दाज नै गर्न नसकिने छ ।’ को कता गएर कता ठोक्किने हुन् ? कसले कसलाई घात गर्ने हो ? कसले कसलाई माया गर्ने हो ? को कसका पक्षमा उभिने र कसले कसका विरुद्धमा बोल्छ भनेर भन्नै नसकिने स्थिति रहेको उनले बताए ।

उनका श्रोताले बेलाबखत उनलाई चित्त दुखाएको शैलीमा पार्टीको गीत किन गाएको भनेर पनि नभन्ने होइनन् । उनले त्यस्ता प्रिय श्रोतासँग चित्त दुखाएकामा माफी पनि मागेका छन् । राजनीति सबै ठाउँमा हुने बताउने उनले ट्वाइलेट जाने बेलामा पनि राजनीति हुने बताए । धर्मगुरु, पण्डित सबैले आआफ्नै राजनीति गरिरहेको बताउने उनले स्पष्टीकरण दिएको शैलीमा भने, ‘गीत गाएर मैले त्यस्तो के नै अपराध गरेको हुँ र ! अलकायदाको वा बोकोहरामको गीत त गाएको होइन । कुनै सिद्धान्तको नजिक हुन अपराध पनि त होइन ।’

नेकपाको चुनावी गीत गाउँदाको समयलाई बद्री आफ्नै शैलीमा अर्थ्याउँछन् । उनले भने, ‘कतै झुन्डिराख्नुभएको छ । कतै टेक्नुपर्ने छ । एकतिर टेक्दा आलो गोबरमा टेकिन्छ, अर्कातिर टेक्दा सुकेको गोबरमा टेकिन्छ । आलो गोबरमा टेकेर चिप्लिनु भन्दा भनेर सुकेको गोबरमा टेकेको हो मैले ।’ गीत गाउनुको अन्तर्यलाई उनले धेरै विस्तारमा त भनेनन् । ‘यसबारे त्यसभन्दा अरू धेरै त भनिनँ तर गोबर त सबै गोबर नै रहेछन्,’ उनले दिक्दारी पोखे ।

कुनै व्यक्तिगत स्वार्थ नराखी आफूले गीत गाए पनि र जनताका दुःख र समस्याको सम्बोधन हुन्छ भनेर आफूले कल्पना गरे पनि यस्तो काम सजिलो नहुने उनको ठम्याइ छ । उनले भने, ‘राजनीतिमा त के–के पो रहेछ, रहेछ । त्यो बुझ्न एकदमै गाह्रो रैछ । म एकदमै सोझो रैछु भन्ने महसुस भएको छ ।’

आफूले गीत गाएकै दलले बहुमत ल्याएर सरकार चलाएको देखेका उनले चार प्रकारका नेता हुने रहेछन् भन्ने बुझाइ सुनाए । एक थरी नेता केही नै नगर्ने सोच र ढंग नै नभएका, दोस्रो थरी एकदमै दम्भी, तेस्रो थरी आफ्नो, आफन्ती र पदको मात्रै माया गर्ने अनि चौथो थरी केही गर्न त खोज्ने तर तिनीहरूलाई के–के कुराले रोकिराख्ने । नेताको कित्ताकाट सुनाएपछि उनले अब जनताले दलभन्दा पनि देशलाई माया गर्ने नेता कुन हो भनेर चिन्नुपर्ने देखिएको बताए । ‘वाद वा सैद्धान्तिक कुरा नेतामा देखिएन,’ उनले पछिल्लो राजनीतिक घटनापछि देखिएको नेताहरूको कुदाकुद र गुट–उपगुटको घनचक्करलाई बुझाउने शैलीमा भने, ‘जो–जोसँग पनि आफ्नो स्वार्थका लागि मिलेका छन् । आफू जहाँ गयो, त्यही राम्रो भनेका छन् । आफूले जुन ठाउँ छोड्यो, त्यो नराम्रो भनेका छन् । एकदमै गलत प्रवृत्ति देखियो ।’

कहिलेकाहीँ त उनलाई जनताअनुसारको नेता पायौं कि भनेजस्तो पनि लाग्छ । लोकतन्त्रपछि आफूहरूले स्वतन्त्रता त पाएको तर त्यसको सही उपयोग जनताबाटै पनि हुन नसकेकामा पनि उनको चिन्ता छ । उनले भने, ‘दोष नेताको मात्रै छैन । सबैको छ । एकपटक सबै जना कसरी सच्चिने ?’

राजनीतिको बाटो जता मोडिए पनि र जो–जुन कित्तामा उभिए पनि बद्री आफ्नो गीतिकर्ममा भने लागि नै रहेका छन् । दुईवटा नयाँ गीतमा काम गरिरहेको बताउने उनले केही साताअघि राजधानीको माइतीघरमा आन्दोलित उखु किसानमाझ पुगेर आफ्नो समर्थन जनाएका थिए । त्यतिबेला काठमाडौंको ठिहीमा आन्दोलित उखु किसानका पक्षमा आफू रहेको बताउँदै उनले गीत पनि गाए ।

उखु लग्यो मालिकले चिनी बनाई बेच्यो,

किसानको पसिना कस्ले घिच्यो–घिच्यो,

किसान मार्न पाइँदैन...

प्रकाशित : पुस १३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?