कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शल्यक्रिया सेवा नियमित

फातिमा बानु

काठमाडौँ — कोरोना महामारीका कारण सरकारी अस्पतालमा रोकिएका शल्यक्रिया सेवा नियमित हुन थालेका छन् । शल्यक्रिया गर्दा बिरामी, चिकित्सक र स्वास्थ्यकर्मीलाई संक्रमणको उच्च जोखिम हुने भन्दै गत चैतदेखि आकस्मिकबाहेक सबै शल्यक्रिया रोकिएका थिए ।

शल्यक्रिया सेवा नियमित

महामारीअघि देशको ठूलो अस्पताल वीरमा दैनिक ३५ वटासम्म शल्यक्रिया हुन्थ्यो । संक्रमणदर बढ्दै गएपछि वीरमा बिरामीले सामान्य र विशेष उपचार पनि पाउन छाडेका थिए ।

जनशक्ति अभाव, पीपीई खर्च र रोग सर्ने उच्च जोखिमका कारण शल्यक्रिया रोक्न बाध्य भएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए । ‘महामारीको सुरुवाती दिनमा पीसीआर रिपोर्ट नेगेटिभ भएका बिरामीको मात्रै अपरेसन गर्थ्यौं । आकस्मिक अपरेसन गर्दा रिपोर्ट पर्खने समय हुन्थेन,’ उनले भने, ‘पूरै सावधानी अपनाएर काम गर्नुपर्थ्यो । यो प्रक्रिया खर्चिलो र झन्झटिलो हुन थालेपछि अपरेसन सेवा रोकिएको थियो ।’ उपचार सेवा नियमित हुँदा पनि वीरमा पत्थरीजस्तो सामान्य शल्यक्रियाका लागि बिरामीले कम्तीमा तीन महिना कुर्नुपर्ने अवस्था थियो । महामारीबीच समस्या थप बढेको उनले बताए ।

मिर्गौला प्रत्यरोपणबाहेक न्युरो, नाक, कान, घाँटी, पेटको रोगको शल्यक्रिया उपचार अस्पतालले सुरु गरिसकेकाले संक्रमणको डर नमानी सेवा लिन निर्देशक डा. सेन्चुरीले आग्रह गरे । ‘वीरमा यो उपचार रोकिएपछि कति बिरामीले निजी अस्पतालबाट महँगो शुल्क तिरेर सेवा लिन बाध्य भए,’ उनले भने, ‘कोरोना नियन्त्रण भन्दाभन्दै अन्य रोगका बिरामीले धेरै दुःख पाए, अस्पतालको आम्दानी पनि घट्यो । अब त्यस्तो हुँदैन ।’

दैनिक डेढ सयको संख्यामा शल्यक्रिया हुने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि महामारीमा सेवा प्रभावित बनेको थियो । अब भने नियमित शल्यक्रिया सेवा सुरु भइसकेको छ । अस्पतालको गणेशमानसिंह भवन कोभिड भवनमा परिणत भएकाले सबै शल्यक्रिया सेवा सुरु गर्न नसकिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताए । ‘जोइन्ट रिप्लेसमेन्ट, आर्थोस्कोपीजस्ता विशेष उपचार दिन सम्भव छैन,’ उनले भने, ‘कोभिडका बिरामी भर्ना भएकाले त्यो भवनका शल्यकक्ष पनि बन्द गरेर राख्नुपर्ने अवस्था छ ।’ आईसीयू सेवा नयाँ भवनमा सारेर भए पनि शल्यक्रिया सेवा सुरु गर्ने उनले बताए । भवन र आईसीयूको व्यवस्थापनपश्चात् हाडजोर्नी, नाक, कान, घाँटी र मेरुदण्डको शल्यक्रियासमेत गरिने उनको भनाइ छ । मिर्गौलाका बिरामीलाई संक्रमणको उच्च जोखिम हुने भएकाले प्रत्यारोपणबाहेक अन्य शल्यक्रियाका लागि तयारी थालिएको उनले बताए । ‘पुस महिनामभित्रै सर्जरी सेवा चल्छ,’ उनले भने, ‘कोभिड महामारीले अर्कै रूप लियो भने योजना परिवर्तन पनि हुन सक्छ ।’ महामारीअघि त्रिविमा शल्यक्रियाका लागि तीन महिनासम्म पर्खिनुपर्ने अवस्था थियो ।

दैनिक ३० वटा शल्यक्रिया हुने पाटन अस्पतालमा पनि आकस्मिकबाहेक उपचार रोकिएको थियो । अब भने नियमित शल्यक्रिया गर्न थालिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । ‘नाक, कान घाँटी, मुख, आँखा संक्रमणको सर्ने प्रमुख अंग भएकाले यो सेवा दिन अझै समस्या छ, तैपनि सावधानी अपनाएर हामी गर्छौं,’ उनले भने, ‘सरकारले नै नियमित सेवा सञ्चालनको घोषणा नगरेकाले बिरामी कम आइरहेका छन् । सुरक्षा अपनाएर शल्यक्रिया गरिने भएकाले रोग पालेर नबस्न हामी आग्रह गर्छौं ।’

मिर्गौला, कलेजोजस्ता मानव अंग प्रत्यारोपणका लागि विशेष सेवा दिँदै आइरहेको भक्तपुरस्थित राष्ट्रिय धर्मभक्त प्रत्यारोपण केन्द्रले युरोलोजी सेवा विस्तार गरेर शल्यक्रिय सेवा सुरु गरेको छ । यो केन्द्रमा अब मिर्गौला र अन्य भागमा भएको पत्थरीको शल्यक्रिया गर्ने निर्देशक डा. प्रेमराज ज्ञवालीले बताए । ट्रमा सेन्टर, गंगालाल हृदय उपचार केन्द्र, कान्ति बाल अस्पताल, प्रसूतिगृहजस्ता सरकारी अस्पतालले पनि शल्यक्रिया सेवा सुरु गरिसकेको जनाएका छन् ।

प्रकाशित : पुस १३, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?