कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीको सनकले देश भड्खालोमा पर्‍यो : चित्रबहादुर केसी

अमृता अनमोल

बुटवल — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको बताए । 

केपी ओलीको सनकले देश भड्खालोमा पर्‍यो : चित्रबहादुर केसी

रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुन:स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए । ‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

उनले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको बताए । उनले भने, ‘आफ्नो दल मिलाउन पनि नसक्ने, बहुमतको निर्णय पनि नमान्ने । अब मान्नुपर्ने भयो भने पनि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने ? त्यस्तो पनि गर्न पाइन्छ,’ उनले प्रश्न गरे ।

अध्यक्ष केसीले संविधानले बहुमत ल्याउने दललाई ५ वर्ष शासन गर्ने म्यान्डेट दिएको र दलहरुले पनि त्यही अवसर दिएकाले जसरी पनि संसद् पुन:स्थापना हुनुपर्ने बताए । ‘संसद् विघटन गर्ने प्रावधान नै नभएको र विघटन गर्नुपर्ने कुनै कारण नभएकाले अविलम्ब संविधान पुन:स्थापना हुनुपर्छ,’ उनले भने, । अध्यक्ष केसीले संसद् विघटन गरेकै दिन राजमोले नेकपालाई दिएको समर्थन फिर्ता गरेको बताउँदै अब ओलीलाई सरकार बनाउन अरु कसैले पनि सघाउन नहुने बताए ।

ओलीले सनकमा आएर गरेको संसद् विघटनको निवेदनमा सर्वोच्च अदालतले विपक्षमा फैसला गर्ने केसीले आशा गरे । कतिपय अवस्थामा देशमा उल्टा निर्णय आउने र देशलाई भड्खालोमा हाल्ने काम भएको बताउँदै उनले यसपालि त्यस्तो नहुने आश गरेको बताए । ‘कतिपय इतिहासका फैसला देशलाई भड्खालोमा हाल्ने खालका पनि छन् । यसपालि त्यस्तो नहोस्,’ उनले भने ।

प्रकाशित : पुस ९, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?