कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’

प्रताप विष्ट

हेटौंडा — त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’

पक्षघात रोगबाट पीडित उनी पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्थे । ‘राति ११ बजे उनको मृत्यु भयो,’ स्थानीय जनप्रतिनिधि चमेली वाइबाले भनिन्, ‘हाम्रो एउटा इतिहासको अन्त्य भयो ।’ राणाकालदेखि नै भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेहरूमध्ये पछिल्लो समय उनी मात्र जीवित थिए । अरूको यसअघि नै निधन भइसकेको छ । त्यति बेला यसै क्षेत्रका केही बासिन्दाले मात्र गाडी बोक्थे ।

बिरामी र बुढ्यौलीका कारण घलान ७–८ वर्षयता घर छाडेर टाढा जान सकेका थिएनन् । पछिल्लो समय पक्षघातसँगै दुवै घुँडा दुख्ने समस्या थियो । ‘आफूसँग गाडी बोक्नेहरू सबै मरिसके, अब म मात्र बाँकी छु,’ उनी भन्थे । सँगै गाडी बोक्ने छिमेकी जुक्तबहादुर वाइबाको मृत्यु भएपछि एक्लो महसुस भएको घलान सुनाउँथे । वाइबाको तीन वर्षअघि मृत्यु भएको थियो ।

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । ‘अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे । उनका अनुसार आफूहरूले गाडी बोकेर काठमाडौं पुर्‍याएको सुनाउँदा नयाँ पुस्ताले पत्याउँदैनथ्यो । ‘गाडी पनि बोक्न सकिन्छ र भन्दै नातिनातिना उल्टै जिस्क्याउँथे,’ उनी भन्थे ।

घलानका अनुसार आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिस दिएका थिए । घलानका दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित : पुस ८, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?