कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय समितिमा संसद पुनस्थापनाका लागि आन्दोलनको पक्ष र विपक्षमा मत 

संविधानलाई ट्रयाकमा ल्याउनका लागि आन्दोलनमा जानुपर्छ : पौडेल
संसद पुनस्थापनामा नगई चुनावमा जानु उपयुक्त : साउद

काठमाडौँ — संसद विघटन गर्ने सरकारको कदमको विरोधमा कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाका सडक आन्दोलनको पक्ष र विपक्षमा मत आएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्ष गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय समितिमा संसद पुनस्थापनाका लागि आन्दोलनको पक्ष र विपक्षमा मत 

'कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई घाइते बनाइएको छ । यसलाई कांग्रेसले स्वीकार गर्नु हुँदैन । यो कदमको विपक्षमा रहेका सबैलाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ,' बैठकमा पौडेलको भनाई उद्धृत गर्दै ती नेताले भने । पौडेलले कांग्रेसले क्षणिक लाभहानीको हिसाब नगरी सिद्धान्तका लागि लड्नुपर्ने बताएका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य एनपी साउदले भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्ने बताएका थिए । सभापति शेरबहादुर देउवानिकट साउदले अहिले बहुमत कार्यकर्ताहरु चुनावको पक्षमा रहेको भन्दै चुनावमा जानुपर्ने बताएका थिए । उनले संसद पुनस्थापनाको माग लिएर सडक प्रदर्शनमा जान नहुने बताए ।

मंगलबारको बैठकमा जम्मा चारजनाले बोलेका थिए । बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले यो विषयमा अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो पनि महत्वपूर्ण हुने बताएका थिए । उनले अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने बताएका थिए ।

अर्का केन्द्रीय सदस्य महेश आचार्यले भने सडक संघर्ष गर्नुपर्ने बताएका थिए । तर, उनले यसमा नेकपाको दाहाल-नेपाल समूहसँग सहकार्य गर्न नहुने बताएका थिए । 'संसद विघटन उनीहरुको आन्तरिक कलहले गर्दा भएको हो । त्यसैले नेकपालाई नै साथ लिएर संघर्ष गर्नुको अर्थ छैन । कांग्रेसले एक्लै संघर्ष गर्नुपर्छ,' आचार्यको भनाई थियो ।

प्रकाशित : पुस ७, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?