कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

काठमाडौँ — नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

अध्यक्ष ओलीले ५५६ जनालाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि थापाले जानकारी दिएका छन् ।

ओली समूहको बैठक बालुवाटारमा जारी छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कारण आफू लामो समयदेखिको सहयात्रा तोड्न बाध्य भएको बताएका थिए ।

यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए । भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् ।

त्यस्तै अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।

बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने भएको छ । एक नेताको दाबीअनुसार त दाहाललाई कारबाहीको निर्णय यसअघि नै भइसकेको छ ।

ओलीले सोमबार बालुवाटारमा नै आफूनिकट सांसदहरुको बैठक गरेका थिए । दाहाल–नेपाल समूहले पनि नयाँ बानेश्वरको संसद् भवनमा आफूनिकट सांसदको बैठक गरेका थिए । यो समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन हुन लागेको छ । दुवै पक्षका केन्द्रीय कमिटीको बैठक र निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन हुने देखिएको छ ।

प्रकाशित : पुस ७, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?