दाहाल-नेपाल समूहले ओलीमाथि कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपाल समूहले ओलीमाथि कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी दिएको छ । 

दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीमाथि गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको हो ।

आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको थियो । यही निर्णय स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोग पुगेर जानकारी गराएका हुन् । उनले भने, ‘स्थायी कमिटीमा बहुमत सदस्यको उपस्थिति र त्यसले पार्टी अध्यक्ष ओलीमाथि कारबाही गर्ने गरी गरेको निर्णयको कपी बुझाएका छौं ।’

आइतबारको स्थायी कमिटी बैठकले ओलाीलाई अनुशासनको कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय कमिटीमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो। तर, ओली समूहले भने कसैले कारबाही गर्न नसक्ने बताएको छ । मंगलबार नेकपाको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

प्रकाशित : पुस ६, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्

विश्व बैंकसँग आर्थिक सहयोग सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारकतर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंककातर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आयोजना कार्यान्वयनमा गएपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने र कृषि–व्यवसायमा बढ्ने प्रतिस्पर्धाले कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई सघाउने बताए ।

आयोजनाले ग्रामीण उत्पादक समूहहरु र बजारबीच उत्पादनशिल सझेदारीको सहजिकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारी अभिवृद्धि गर्ने विश्वास गरिएको छ । यस्तै, उच्च मूल्यका आन्तरिक र अन्तर्राष्ट्रिय बजार मूल्य श्रृंखलाको विकास गर्दै बजार श्रृंखलामा दिर्घकालिन समावेशिकरणलाई बढाउने विश्वास पनि गरिएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ ।

प्रकाशित : पुस ६, २०७७ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×