कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुईपल्ट शिलान्यास तर बनेन पुल

खुलालुमा पक्की पुल बने कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बतसम्मको यात्रा सहज हुन्छ ।
तुलाराम पाण्डे

कालीकोट — कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए ।

दुईपल्ट शिलान्यास तर बनेन पुल

कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीमा पक्की पुल निर्माण गर्न २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो । २ वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार ठेक्का म्याद सकिएको ५ वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनका अनुसार कन्काई जेभीले अर्को ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिँदा पुल अलपत्र परेको हो । कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले पुनः ठेक्का सम्झौता गरी काम सुरु गरेको उनले जानकारी दिए । स्टिल ट्रससहितको ७५ मिटर लम्बाइको पक्की पुल ठेकेदारले २०७८ असार मसान्तसम्म सक्ने गरी फेरि सम्झौता गरेका छन् ।

भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले अधिकांश ठाउँको ट्र्याक खोले पनि पुल नबन्दा यातायातका साधन आउजाउमा समस्या भएको छ । कालीकोटको जितेदेखि हुम्लाको कुवाडीखोलासम्म ९४ किलोमिटर दूरीमा गाडी गुड्न थालेको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले बताए । उनका अनुसार खुलालुमा पुल नहुँदा नदीको बहाव घटेका बेला मात्रै फेरि सञ्चालन हुने गरेको छ । उनले भने, ‘पुल नहुँदा करिडोरको निर्माण सामग्री ढुवानी गर्न गाह्रो छ ।’

जितेको झोलुंगे पुलबाट डिजेल ल्याउन कठिनाइ भएपछि अहिले व्यवसायीले नदीमा ड्रम बाँधेर त्यसमाथि डिजेलका ड्रम राखेर यातायातका साधन कर्णाली तारिरहेका छन् । पुल नहुँदा पलाता गाउँपालिकाले गत फागुनमा ड्रमको सहायताले कर्णाली नदीमा तारेका दुई जिप कर्णालीपारि सञ्चालनमा छन् । गत साउनको वर्षाले बगाएको फुगाडखोलाको बेलिब्रिज पनि अझै बन्न सकेको छैन । पहिरोले बगाएको सडकको चट्टान फोडेर एकतर्फी गाडी चल्ने बनाए पनि खुलालुमा पुल नहुँदा फेरीबाट तारेका जिप र मिनिट्रक जितेदेखि नरहरिनाथ, रास्कोट, पचालझरना, पलाता हुँदै बाजुरासम्म एकतर्फी सञ्चालन भइरहेका छन् ।

कच्ची सडक र पुलको अभाव देखाउँदै व्यवसायीले चर्को गाडी भाडा लिने गरेको स्थानीय जनक विष्टले बताए । ‘बाजुरासम्म सडकको ट्र्याक खुले पनि पुल नहुँदा जिते बजारको झोलुंगे पुलबाट सामान ढुवानी गर्नु परेको छ,’ उनले भने । झोलुंगे पुलमा भरियाबाट सामान ढुवानी गर्दा दैनिक उपभोग्य सामग्री महँगो भएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए ।

टाकुल्ला पुल पनि अलपत्र

ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकमा निर्माणाधीन टाकुल्ला पुल १० वर्षदेखि अलपत्र छ । २ सय ३३ किमि दूरीको राजमार्गमा ९ पुल भने निर्माणाधीन छन् । ३ करोड रुपैयाँमा पुल निर्माण गर्ने गरी जागृति/तुल्सी/दुर्गा जेभीले निर्माणको जिम्मा लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि २०७४ सालमा ठेक्का तोडिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । फेरि ठेक्का नहुँदा निर्माणको काम अलपत्र छ ।

कर्णाली नदीमा पुल नहुँदा कालीकोटको पलाता गाउँपालिकाले खरिद गरेका जिप ड्रमको सहायताले नदी तारिँदै । गत फागुन १ गते ड्रमको सहायताले तारिएका २ जिप पलाताको थिर्पूदेखि धौलागोहको राडुनेटासम्म सञ्चालनमा छन् । तस्बिर : तुलाराम/कान्तिपुर

कर्णाली राजमार्गअन्तर्गत तिलानदी, दहीखोला, राचुली र छिडेनाखोलामा पुल निर्माण भइरहेका छन् । कर्णाली राजमार्गसँग गाउँ जोड्न सडक निर्माण गरिए पनि तिलागुफा–७ भैसेगौडामा तिलानदीमाथि पुल निर्माणमा ढिलाइ भएको स्थानीयको गुनासो छ । लकडाउनका कारण भारतबाट फलामे स्टिल ट्रस ल्याउन ढिला भएको सुपरस्टार निर्माण सेवाकी ठेकेदार तारा शाहीले बताइन् । निर्माण सामग्रीको अर्डर भइसकेको भन्दै उनले चालु आर्थिक वर्षभित्र पुल निर्माण हुने दाबी गरिन् ।

कर्णाली राजमार्गअन्तर्गतकै सेरिघाटस्थित तिलानदीमा पनि पुल निर्माणमा ढिलाइ भइरहेको छ । सेरिघाटमा १५ वर्षअघि सेनाले निर्माण गरेको बेलिब्रिज जीर्ण भइसकेको छ । स्थानीय कमल पाण्डेले भने ‘जीर्ण पुलबाटै गाडी वारपार भइरहेका छन् ।’

२ पक्की पुल शिलान्यास

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक साताअघि कालीकोटको पचालझरना र पलातालाई जोड्ने २ पक्की पुलको शिलान्यास गरेका छन् । प्रदेश सरकारको बजेटबाट निर्माण हुने पचालझरनास्थित कर्णाली नदीको जारकोट र थिर्पुको दाम्म्रगाडमा पक्की पुलको शिलान्यास गरिएको हो । जारकोटमा पक्की पुल बनेपछि बदालकोट, राम्नाकोट, थिर्पु, खिन र धौलागोह कर्णाली करिडोरसँग जोडिने पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

प्रकाशित : पुस १, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?