कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले बढाउँदै निमोनियाका बिरामी

मुटुको धड्कन बढ्ने, पसिना धेरै आउने, कमजोरी महसुस हुने र सास फेर्न गाह्रो हुनेबित्तिकै अस्पताल पुग्नुपर्ने चिकित्सकको सुझाव
फातिमा बानु

काठमाडौँ — अधिकांश कोरोना संक्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न हल्का गाह्रो हुने सामान्य लक्षण देखिन्छ । मधुमेह, श्वासप्रश्वास, मुटु र मिर्गौलाजस्ता जटिल प्रकारका रोगीमा भने कोरोना भाइरसले फोक्सोको संक्रमण गराइदिने भएकाले यस्ता अधिकांश बिरामीलाई निमोनिया हुने गरेको चिकित्सक बताउँछन् ।

कोरोनाले बढाउँदै निमोनियाका बिरामी

कोरोना महामारीअघि जाडो मौसममा निमोनियाका बिरामी बढ्थे नै, संक्रमणका कारण यो समस्या अझै बढिरहेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले बताए । उनले भनेजस्तै संक्रमणले निमोनिया निम्त्याएकै कारण बिरामी उपचारका लागि आईसीयू र भेन्टिलेटरसम्म पुगिरहेका छन् । अधिकांश अस्पतालका आईसीयू भरिभराउ छन् । ‘पहिलेभन्दा निमोनियाका बिरामी दोब्बर भएका छन्, कोरोना संक्रमण र जाडो मौसमका कारण निमोनियाका बिरामी अझै थपिने सम्भावना छ,’ उनले भने, ‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिने, शिथिल भएपछि मात्रै उपचार खोज्ने गरिएको छ । यसले गर्दा अहिले संक्रमितको संख्या घटे पनि जटिल बिरामी भने बढिरहेका छन् ।’

जटिल बिरामी बढेसँगै त्रिवि शिक्षण अस्पतालमा कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल हुने गरेको उनले बताए । ‘श्वासप्रश्वासका बिरामीलाई संक्रमण भयो भने फोक्सोको अन्तिम बिन्दुमा तरल पदार्थ जम्मा भइदिन्छ, जसले गर्दा फोक्सोले हावाबाट अक्सिजन लिन सक्दैन र बिरामी शिथिल भएर उनीहरूलाई कृत्रिम श्वासप्रश्वासको सहायता आवश्यक पर्छ,’ उनले भने ।

कोरोना संक्रमण भए पनि निमोनियाबाट जोगिनका लागि रुघाखोकीलाई सामान्य मानेर बस्न नहुने, पीसीआर परीक्षण गर्नुपर्ने उनले बताए । ज्वरो बढ्ने, थकान बढी हुने र छाती दुख्नेजस्ता समस्या देखिनासाथ चिकित्सकको सल्लाह लिन उनले सुझाएका छन् । कोरोना महामारी सुरु भएदेखि हालसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय जना आईसीयू र करिब ८० जनाले भेन्टिलेटरको उपचार लिएका छन्, जसमध्ये २६ जनाको मृत्यु भयो । ती सबै बिरामीमा फोक्सोको संक्रमण र निमोनिया देखिएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । ‘जाडो मौसममा पहिले दमका बिरामी बढ्थे, अहिले त्यस्ता बिरामी आएका छैनन्, कोभिड अस्पताल भएपछि त्यस्ता बिरामी हामीले लिने पनि गरेका छैनौं,’ उनले भने, ‘तर कोरोनाकै कारण निमोनिया नथपिएको दिन छैन ।’

संक्रमित भएर आइसोलेसनमा बिरामी भर्ना हुने दर घटे पनि निमोनियाजस्ता जटिल समस्या पैदा भएका बिरामी भने पहिलेभन्दा बढिरहेको उनले बताए । ‘कोरोना भाइरसले मुख्यगरी श्वासप्रश्वाससम्बन्धी कोषिकामा असर गर्छ, फोक्सो र शरीर नै सुनिन्छ,’ उनले भने, ‘निमोनियालाई झनै कडा बनाएर यसले मृत्युसमेत गराइदिन सक्छ ।’

मुख्यगरी ५० वर्ष कटेका वृद्धवृद्धा, मोटोपन र कडा रोगका पुरुषमा कोरोनाको आक्रमणले निमोनिया भइरहेको बाँस्तोलाले बताए । विशेषगरी होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले निमोनिया भइसकेको थाहा नपाउने र ढिलो अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन सम्भव नभएको उनको अनुभव छ ।

‘यस्तो समस्या युवामा भन्दा वृद्धवृद्धामा बढी छ किनभने उनीहरू शारीरिक हिसाबले धेरै चहलपहल गर्दैनन्,’ उनले भने, ‘जसले गर्दा संक्रमित भए पनि अक्सिजनको मात्रा घटेको थाहै पाउँदैनन् । एकैपटक बेहोस भएपछि मात्रै अस्पताल पुगिरहेका छन् ।’

उनका अनुसार युवावर्ग हिँड्ने, डुल्ने गरिरहने हुँदा अक्सिजनको मात्रा घटेको थाहा पाएर उनीहरू उपचारमा जाने गरेका छन् र निमोनिया हुनबाट बचिरहेका छन् । पोस्ट कोभिडमा भने युवावर्ग पनि निमोनियाबाट उत्तिकै ग्रसित भइरहेको उनले बताए । ‘एक पटक कोरोना संक्रमण भइसकेपछि अन्यलाई भन्दा उनहरूलाई निमोनिया हुने सम्भावना भइरहन्छ,’ उनले भने, ‘त्यसैले संक्रमणमुक्त भएपछि पनि खोकी लागिरह्यो, छाती दुख्यो भने चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ ।’

कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको सबैभन्दा पहिले फोक्सोमै आक्रमण गर्ने भएकाले संक्रमणले निमोनियाका बिरामी बढाएको मान्छन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘यो महामारीभन्दा पहिले पनि निमोनियाका कारण आईसीयूमा बिरामीको मृत्यु हुन्थ्यो तर निमोनिया के कारण भयो भनेर खोजी गरिँदैनथ्यो,’ उनले भने, ‘अहिले संक्रमणपछि आईसीयू र भेन्टिलेटरमा पुगेका अधिकांश बिरामीलाई भने निमोनिया छ ।’

बालबालिकाबाहेक जुनसुकै व्यक्तिलाई यो भाइरसले निमोनिया गराउन सक्ने भएकाले सतर्क रहन उनले सुझाएका छन् । कोरोना संक्रमणका लक्षण सबै संक्रमितमा उही प्रकारको नदेखिने भएकाले पनि अहिले होम आइसोलेसनमा बसेका व्यक्तिहरू झुक्किरहेको उनले बताए । ‘कसैलाई ज्वरो आउँछ, कसैलाई बान्ता र पखाला मात्रै हुन्छ,’ उनले भने, ‘अहिले लक्षण देखिए पनि परीक्षण नगर्ने, घरमै ठीक हुन्छ भनेर बस्नेहरू थुप्रै छन् ।

संक्रमणले फोक्सोमा आक्रमण गरिसकेपछि जटिल अवस्थामा मात्रै अस्पताल पुग्ने गर्दा धेरैलाई निमोनिया भएको हो । मुटुको धड्कन बढ्ने, पसिना धेरै आउने, कमजोरी महसुस हुने र सास फेर्न गाह्रो हुनेबित्तिकै निमोनियाको शंका गरिहाल्नुपर्ने र छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर ३०, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?