हराएका ब्रह्माजी प्रहरीको आँगनमा !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएका ब्रह्माजी प्रहरीको आँगनमा !

‘कुनै संग्रहालय, पुरातत्त्व विभाग र प्राचीन स्मारक जनाउ दिने ठाउँमा यो पुरातात्त्विक चिजलाई राखिनुपर्ने हो तर त्यसो भएन । अहिले पनि गौशाला प्रहरीको कुनोमा ब्रह्माजी राखिएकै छ ।’
देवेन्द्र भट्टराई

काठमाडौँ — लिच्छविकालीन प्रतिनिधि प्रस्तर मूर्तिहरूमध्येमा पर्ने ब्रह्माको एउटा मूर्ति २०३८ सालको मध्यसम्मै जयबागेश्वरी मन्दिर पर्तिरको खुला मन्दिरमा राखिएको थियो । एकाएक त्यो मूर्ति हराएपछि खैलाबैला मच्चियो, प्रहरी–प्रशासनले खोजबिन सुरु गर्‍यो । 

केही महिनापछि पशुपतिछेउको वाग्मती किनारमै बालुवा खनेर खाल्डोमा हालिएको अवस्थामा उक्त मूर्ति भेटियो । अब यो कहाँ राख्ने भन्ने बहस स्थानीयमाझ सुरु भयो । पुरानै ठाउँमा राख्ने हो भने फेरि चोरिने डर थियो । ‘त्यसपछि सुरक्षाका हेतुमा यो मूर्तिलाई गौशालाको प्रहरी चौकीमा राख्ने निधो भएको थियो,’ पशुपति क्षेत्रका विज्ञ गोविन्द टण्डनले भने, ‘कुनै संग्रहालय, पुरातत्त्व विभाग र प्राचीन स्मारक जनाउ दिने ठाउँमा यो पुरातात्त्विक चिजलाई राखिनुपर्ने हो तर त्यसो भएन । अहिले पनि गौशाला प्रहरीको कुनोमा ब्रह्माजी राखिएकै छ ।’

स्रोतसाधन र अधिकारसम्पन्न पशुपति विकास कोष तथा यो क्षेत्र स्वयंले यस्ता पुरातात्त्विक सामग्रीको संग्रह गर्न वा संग्रहालय बनाउन सक्ने धारणा राख्दै टण्डनले पशुपति गुठीअन्तर्गत गोश्वारा (स्टोर) मा रहेका पुराना मूर्ति र सम्पदा पनि खोजबिनको विषय बनेको बताए ।

‘पशुपति क्षेत्रबाट हराएका भनिएका र कहींकतै फेला परेका मूर्तिलाई गौशाला प्रहरीले उठाएर आफूकहाँ भण्डारण गर्ने गरेको थियो । म स्वयंले गौशाला प्रहरी चौकीमा दर्जनौं मूर्तिको बिजोग देखेको थिएँ,’ उनले सुनाए, ‘आज त्यहाँ ती मूर्ति छैनन् भन्ने सुनेको छु । आखिर ती पुरातात्त्विक महत्त्वका मूर्ति कहाँ गए ? खोजबिन गर्ने कसले ?’

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (सन् १९८९) मा छैटौं शताब्दीमा बनेको ब्रह्माको यो मूर्ति देवपाटनबाट सन् ८० दशकको सुरुवातमै हराएको विवरण दिएका छन् । उनले यो मूर्तिलाई प्रहरी ‘कस्टडी’ मा राखिएको (पृष्ठ २९५) उल्लेख गरे पनि के, कहाँको प्रहरी चौकी भनेर खुलाएका छैनन् ।

‘हो, वाङ्देलजीले हराएका मूर्तिको अन्वेषण गर्दै जाने क्रममा ब्रह्माजीको मूर्ति पूर्ववत् स्थान जयबागेश्वरी मन्दिरदेखि झन्डै डेढ सय मिटर उत्तरपट्टि (हाल पुष्पाञ्जली आयल) को सानो खण्डमा नपाएपछि चोरिएको विवरणमा समेट्नुभएको हुन सक्छ,’ डा.टण्डन भन्छन्, ‘यो प्रस्तर सम्पदाको उचित महत्त्व नबुझिएकै भए पनि प्रहरी चौकीमा अझै राखिएको छ । यो सधैंलाई चोरिनु वा हराउनुभन्दा यो ठूलो उपलब्धि हो ।’ तर वाङ्देलले यो मूर्तिलाई ‘देवपाटन’ को भन्दै अञ्जानमै गलत स्थान उल्लेख गरेको हुन सक्ने टण्डनले बताए ।

लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा पुरातात्त्विक महत्त्वको ब्रह्माजीको मूर्ति

ब्रह्माजी मूर्तिबारे सरोकार राख्दै सोमबार गौशाला प्रहरी चौकीमा पुग्दा त्यहाँ उभिएका प्रहरीहरूले ‘यस्तो मूर्ति यहाँ नभएको’ भन्दै आँगनमा राखिएको देवी–लक्ष्मीको मन्दिरतिर देखाए । त्यही मन्दिरको अर्को कुनोमा थोत्रे मोटरसाइकलको ग्यारेज आडैमा इनारको रिङभित्र ब्रह्माजी प्रतिस्थापन गरिएको भेटियो । गौशालाका प्रहरी निरीक्षक बलराम श्रेष्ठले चौकीमा यो ब्रह्मा मूर्ति के–कसरी र कहिले, कताबाट आइपुग्यो भन्ने निस्सा–प्रमाण पनि खोजी हेरे । तर चौकीमा यसबारे तत्काल केही प्रमाण पाउन सकेनन् । ‘म पनि यहाँ सरुवा भएर आएको दुई महिना मात्रै भयो,’ उनले भने, ‘म ब्रह्माजीबारे बुझेर पछि खबर गर्नेछु ।’

डा.टण्डनको २०४२ सालमा प्रकाशित पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन पुस्तकको ‘पशुपति क्षेत्रका मूर्तिहरू’ शोध लेखका अनुसार, ‘यो मूर्ति करेटोलमा एउटा खुला मन्दिरमा राखिएको थियो । फिक्का कालो रङको ढुंगाबाट बनेको यो मूर्ति २० इन्च अग्लो छ । अघिल्तिरबाट हेर्दा तीन मुहारयुक्त मूर्ति देखिए पनि बीचको मुहारको पछाडि अर्को मुहार बसेको छ ।’ अर्का शोधकर्ता बाबुकृष्ण रिजालको ‘लिच्छविकालीन केही ब्रह्माका मूर्तिहरू’ आलेखमा भने यो मूर्तिलाई आर्यघाटपारिको भनेर उल्लेख गरिएको छ । तर यस्तो पुरातात्त्विक र सुन्दर मूर्तिका बारेमा बताउने अभिलेखहरू कहींकतै नपाइएको अर्का अन्वेषक प्रतापआदित्य पालले आफ्नो अध्ययनमा उल्लेख गरेका छन् ।

‘मूर्तिको कुममा जटा लत्रेको देखाइएको छ । ब्रह्मा कमलासनमा मृगाजिनमाथि बसेका छन् । पारदर्शक धोती छ । घुँडामा धोतीको धर्के बुट्टा देखाइएको छ । नौडोरे कमरबन्ध पेटमा देखिन्छ । सुखासनमा बसेका ब्रह्माका दुई हात छन् । दाहिने हातमा अक्षमाला र देब्रे हातमा कमण्डलु छन्,’ टण्डनको शोधमा उल्लेख गरिएको छ ।

टण्डनले आफ्नो शोधका क्रममा २०३८ सालको मध्यसम्मै यो ब्रह्माजी मूर्तिलाई जयबागेश्वरी छेउको खुला मन्दिरमा देखेको बताए । विशेषतः जयबागेश्वरी क्षेत्रमा जग्गा अतिक्रमण र बाटो विस्तारको कुरा आएपछि रातारात यो क्षेत्रका मठमन्दिर भत्काइएको र त्यही क्रममा आसपासका मूर्तिहरू हराउन थालेको इतिहास टण्डनले सुनाए ।

प्रकाशित : मंसिर ३०, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

उखु किसानमाथि अति भयो

सम्पादकीय

आफ्ना समस्याप्रति चिनी उद्योगीहरूको व्यवहार मात्र होइन, सरकारको रवैया पनि सधैं चिसो मात्रै भइरहेपछि मधेसका उखु किसानहरू चढ्दो ठिहीको समेत पर्वाह नगरी फेरि काठमाडौं उक्लिएका छन् । उनीहरूले व्यापारीसित पेस्की खोजेका होइनन्, सरकारसित अतिरिक्त अनुदान पनि मागेका छैनन् ।

केवल आफ्नै बाली बेचेको वर्षौंदेखिको बक्यौता रकम चुक्ता गरिमाग्नकै लागि यी किसानहरू घरीघरी देशको संघीय राजधानी आउन बाध्य भएका हुन् । स्थानीय स्तरमै व्यापारीहरूलाई अनुरोध गर्दा, प्रमुख जिल्ला अधिकारी र दलका नेताहरूलाई गुहार्दा र पटक–पटक काठमाडौं आएर मन्त्रीदेखि राष्ट्रपतिसम्मलाई पुकार्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उनीहरू यसपालि पुनः धर्ना बस्न आइपुगेका हुन् ।

देख्दा–सुन्दा पनि सरम लाग्ने कुरा हो– कृषिप्रधान देशमा चल्तीका थोरै नगदेबालीमध्येको एक उखु बेचेकै मोल उठाउन पनि किसानहरू निरन्तर आन्दोलित हुनुपर्छ । तैपनि समस्या समाधान भइहाल्दैन । पेसाको स्तरोन्नति, बजार प्रवर्द्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि उठेको छैन । विभिन्न सातवटा चिनी उद्योगबाट २० हजारभन्दा धेरै किसानले ८९ करोड रुपैयाँ पाउन बाँकी छ । तर अभिभावक बनेर पैसा उठाइदिन लाग्नुपर्ने सरकार यो मामिलामा बिल्कुल मुकदर्शक भइबसेको छ । आन्दोलन अघि बढ्दै जाँदा यसो मिलाउन खोजेजस्तो गर्छ, तर कति कारणले हो, उद्योगीहरूलाई त्यहीअनुसार उचित दबाब दिन कहिल्यै सक्दैन । लाग्छ, सरकार सञ्चालकहरू किसानभन्दा किसानको रकम नतिर्ने उद्योगीका पक्षमा छन् ।

सरकार किसानको पक्षमा नभएको भेउ पाएका उद्योगीहरू पैसा तिरिहाल्न चाहँदैनन् । सरकार नै साक्षी बसेर भएको सहमतिको मसी सुक्न नपाउँदै उनीहरू आफ्नो प्रतिबद्धतालाई लत्याइदिन्छन् । होइन भने, गत पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सम्झौताअनुसार माघ ७ गतेभित्रै किसानले उखुको भुक्तानी पाइसक्नुपर्थ्यो । उद्योगीहरूले उक्त सहमतिको कार्यान्वयन गरिदिएको भए किसानहरू यतिखेर आफ्नै गाउँमा हाँसीखुसी बाली भित्र्याइरहेका हुन्थे । यो कोरोनाको कहर र कठांग्रिँदो जाडोमा विवश भएर काठमाडौं आउँदैन थिए । यहाँ बुझ्न गाह्रो छैन– किसानहरू निरीह र सरकार गैरजिम्मेवार भएकैले कतिपय उद्योगीहरूले यो हदसम्म बेइमानी गर्न सकेका हुन् ।

वास्तवमा, उद्योगीहरूले मन्त्रालयमा भएको सहमति नमान्नु भनेको सरकारकै अनादर गर्नु हो । तर यसको भेउ सरकारमा बसेका कसैलाई छैन वा यो मामिलालाई उनीहरू त्यसरी लिन चाहँदैनन् । चाडबाडका बेला उपभोक्ताको ढाड सेकिने गरी चिनी आयातमा परिमाणात्मक बन्देज लगाएर चिनी उद्योगी र व्यापारीहरूलाई रिझाउन पछि नपरेको सरकारले किसानका मागलाई गम्भीरतापूर्वक लिएको कहिल्यै देखिँदैन । समस्या सल्टाउन उद्योग मन्त्रालयले निरन्तर तदारुकता देखाएको भए यो ११ महिना त्यसै खेर जाने थिएन । २०७० सालदेखि बेचेको उखुको पैसा दिलाइमाग्न किसानहरू २०७६ वैशाखयता आन्दोलित छन् । मुद्रास्फीतिअनुसारै हिसाब गर्ने हो भने पनि त्यतिबेलाको रकम अहिले निकै बढिसक्यो । फेरि, यहाँको बजार मूल्य राष्ट्र बैंकले घोषणा गर्ने मुद्रास्फीतिअनुसार मात्रै फरक कहाँ हुन्छ र ! त्यसैले पनि, यो किसानमाथिको ठगी मात्र होइन खुल्लमखुला लुट हो । र, उतिबेलाको रकम पनि ‘लौन दिलाइदेऊ’ भनेर जताततै बिन्ती बिसाउनुपर्ने अवस्था उनीहरूमाथि थोपरिएको अत्याचार हो, यसको अन्त्य अविलम्ब आवश्यक छ ।

गत पुसमा भएको सम्झौताको भाका नाघेपछि चैतमा काठमाडौं आएका किसानहरू कोरोना संक्रमणका कारण देशव्यापी ‘लकडाउन’ हुने भएपछि त्यसै फर्किएका थिए । त्यसपछि गत कात्तिकमा मात्रै काठमाडौं आएर उनीहरूले उद्योगमन्त्री लेखराज भट्टलाई भेटी एक वर्षअघिको सम्झौता स्मरण गराउनुका अतिरिक्त शीतलनिवास पुगेर राष्ट्रप्रमुख विद्यादेवी भण्डारीलाई पनि आफ्नो समस्या सुनाएका थिए । त्यसपछि मनमा केही आशा लिएर फर्केका उनीहरू अहिलेसम्म पनि रित्तो हात नै भएपछि फेरि राजधानी आउन बाध्य भएका हुन् । यसपटक जसरी पनि सार्थक सहमति गरेरै जाने उनीहरूको प्रण छ । त्यो जायज पनि छ ।

सरकारले आफ्नो प्रतिष्ठा र उत्तरदायित्व दुवैका रूपमा लिएर यो मामिलालाई ढिलो नगरी सल्टाउनुपर्छ । उद्योगमन्त्री भट्टलगायत सरकारमा रहेका कसैले पनि किसानको बक्यौता चुक्ता गर्ने मामिलामा उद्योगीहरूको अवाञ्छित पृष्ठपोषण गरिरहनु हुँदैन । जसरी हुन्छ, किसानलाई रकम दिलाउने मेलोमेसो मिलाउनुपर्छ । यसका लागि देखावटी, बनावटी र झारा टार्ने काम मात्र नभएर ठोस पहल नै गर्नुपर्छ । र, उखु किसानलाई न्यानो सरकारी साथ दिएर खुसी तुल्याई काठमाडौंको चिसो भुलाएर पठाउनुपर्छ ।

प्रकाशित : मंसिर ३०, २०७७ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×