कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भए : देउवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भए : देउवा

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको बताएका छन् । हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताए । 

उनले भने,' देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।'

उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे । 'यो व्यवस्थालाई अझ प्रजतान्त्रिक र व्यवस्थित बनाउने काम गरौं । नेपालको संविधानलाई सफल बनाउने हो,' सभापति देउवाले भने,'गणतन्त्र स्थायी हो । सुधार गर्ने छौं । यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन ।'

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको सभापति देउवाको भनाइ छ ।

उनले कोरोना महामारीका बेला विरोधसभा गर्नु बाध्यात्मक कुरा भएको बताए । उनले भने,' मान्छेलाई दुःख दिने र सडकमै आन्दोलन गर्ने हाम्रो उद्देश्य हैन । बाध्य भएर हो । कोरोनामा पनि घूस खाने भ्रष्टाचार गर्ने भएका छन् । '

कम्युनिस्ट सरकारले देशव्यापी रुपमा प्रजातन्त्रमाथि आक्रमण गरिरहेको सभापति देउवाको भनाइ छ । जनतालाई बोल्ने, लेख्ने, विरोध गर्ने अधिकार समेत खोस्न कम्युनिष्ट सरकार लागेको उनले बताए ।

सभापति देउवाले भने,'मैले ओलीलाई भनेको थिए । कांग्रेसको बिना सर्त सहयोग हुन्छ भनेको थिएँ । कोरोनामा हामीले सरकारलाई सहयोग पनि गरेकै हौं । भ्रष्टाचार धेरै नै बढ्यो,सर्वसत्तावाद लागू गर्न खोजियो । बाध्य भएर सडकमा आउनु परेको छ ।'

उनले कम्युनिस्टको सरकार भएपछि देशमा धेरै बलात्कारका घटनाहरु भएको बताए । सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा हालसम्म पक्राउ गर्न नसक्नु दुःखद भएको सभापति देउवाले बताए ।

प्रकाशित : मंसिर २९, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

कम्युनिस्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : कांग्रेस प्रवक्ता 

इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताए । 

उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए । 'प्रश्‍न पुलको मात्रै हैन । कांग्रेस सरकारको बेला पनि कम्यनिष्ट नेताहरुले पुलको उद्घाटन गरेका थिए,' प्रवक्ता शर्माले भने,'नगरपालिकामा कांग्रेसले जितेको हो । विषय पुल र उद्घाटन हैन, कांग्रेसले बोलाएर रामचन्द्र पौडेल जानु भयो ।'

प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कम नआँक्न चेतावनी दिए । 'कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो,' प्रवक्ता शर्माले भने,'माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी चौकीमा आक्रमण गरेको जस्तो हैन,कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो । '

प्रवक्ता शर्माले कांग्रेस कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिए ।

प्रकाशित : मंसिर २९, २०७७ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×