कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाउनु भएको छ : नेता बाँस्कोटा

'कमानसिंह लामासँगको आर्थिक विवादको आरोप लागिसकेकाले पार्टी प्रवक्ताले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ'
देवनाराण साह

मोरङ — पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन् । 

अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेर लोकतन्त्रको खिल्ली उडाउनु भएको छ : नेता बाँस्कोटा

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले चुनावी अभियानमै प्रधानमन्त्री बन्ने नाराका साथ निर्वाचित भएर प्रधानमन्त्री बनेका व्यक्ति र पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई दुवै पदबाट राजीनामा माग गरेकोबाट मुलुकमा भइरहेको राजनीतिक षड्यन्त्र उजागर भएको बताएका हुन् ।

‘केपी ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउन संसदीय प्रक्रिया र अध्यक्षबाट हटाउन पार्टीको महाधिवेशनमा जानुको विकल्प छैन,’ उनले भने, ‘पार्टीको स्थायी कमिटी बहुमतको निर्णयले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन सक्दैन ।’ स्थायी कमिटी बहुमतको निर्णयले आफ्नो विचार र दृष्टिकोणमात्रै राख्न सक्ने बाँस्कोटाको तर्क थियो ।

‘पार्टीका कार्यकारी अध्यक्ष दाहालले पार्टीमा ल्याएको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई लगाएको आरोप सबै पार्टीबाट समाधान हुँदैन,’ उनले भने, ‘कतिपय फौजदारी प्रकृतिका जघन्य आरोपहरु रहेकाले सम्पत्ति शुद्धीकरण, अख्तियार र अदालतबाट सिद्ध भए कानुनबमोजिम कारबाही हुनुपर्छ ।’

मुलुक र पार्टीको नेतृत्व परिर्वतनको वैधानिक विधि नअपनाई पार्टी कमिटीमा राजीनामा माग्नु छक्कापञ्जा भएकाले यसले पार्टी तथा मुलुक दुवैलाई भलो नगर्ने नेता बाँस्कोटाको भनाइ छ । पार्टीको अन्तरविरोध समाधान नेतृत्व परिवर्तनको माग गर्नुलाई उनले पार्टीभित्र विग्रहको संज्ञा दिए । जसले पार्टी अन्तहीन चक्रमा फस्ने भएकाले अहिलेको विवाद छलफल र संवादद्वारा अन्त्य गर्नुपर्ने उनले बताए ।

पार्टीमा दाहालको र प्रधानमन्त्री आलेलीले छुट्टाछुट्टै प्रतिवेदन ल्याएपछि जिल्ला जिल्लामा भइरहेको गुटगत भेलालाई बाँस्कोटाले पार्टी एकता प्रक्रियामा रहेकाले वैचारिक बहस हुनु स्वभाविक भएको तर्क गरे ।

नेकपाका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठलाई कमानसिंह लामासँगको आर्थिक विवादको आरोप लागिसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए । उनले आफूलाई आरोप लागिसकेको २४ घण्टा नबित्दै राजीनामा दिएको स्पष्टिकरण दिए । प्रधानमन्त्रीलाई चारित्रिक प्रमाण पत्र दिने अग्रज नेताहरुको बारेमा आफूले धेरै भन्न नमिल्ने बाँस्कोटाको भनाइ थियो ।

प्रकाशित : मंसिर २८, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?