कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविको ४६औं दीक्षान्तमा पीएचडी, एमफिल र गोल्ड मेडलिस्टले मात्रै सहभागी हुने पाउने

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४६औं दीक्षान्त समारोहमा एमफिल, पीएचडी र विभिन्न विषयमा पदक तथा पुरस्कार प्राप्त विद्यार्थी (गोल्ड मेडलिस्ट)लाई मात्र सहभागी गराउने भएको छ ।

त्रिविको ४६औं दीक्षान्तमा पीएचडी, एमफिल र गोल्ड मेडलिस्टले मात्रै सहभागी हुने पाउने

कोभिड–१९ का कारण भिडभाड हुन नदिन सीमितलाई मात्र औपचारिक समारोहमा सहभागी हुन बोलाएको हो । त्रिविको आगामी पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा औपचारिक दीक्षान्त समारोह हुनेछ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको समारोहमा प्रमुख आतिथ्य रहनेछ ।

‘कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण यस वर्षको दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल र दीक्षान्त पदक/पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र दीक्षान्त समारोहमा सहभागी गराइने छ,’ नियन्त्रण कार्यालयले भनेको छ, ‘अन्य विद्यार्थीको हकमा यस कार्यालयको काउन्टरबाट आ–आफ्नो गाउन, स्कार्फ, टोपी लिई दीक्षान्त समारोहका भोलिपल्टदेखि प्रमाणपत्र लिन सकिनेछ ।’

त्रिवि सभाले ५६ हजार ७ सय १३ जना दीक्षान्तयोग्य ग्रेस लिस्ट पास गरेको छ । नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीलाई अनलाइनबाट दीक्षान्तको फाराम भराएको थियो । दीक्षान्तका निम्ति ७ हजार ८७ जनाले फाराम भरेका छन् । साथै ६ हजार अभिभावकसमेत सहभागी हुनेगरी शुल्क बुझाएका छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विगतमा जस्तै दीक्षान्त समारोहको आयोजना गर्दा फाराम भरेका विद्यार्थी र अभिभावकसहित १६ हजार जनाभन्दा बढीको जमघट हुने भएपछि सीमित गरिएको जनाए । ‘कोरोनाले गर्दा यो पटक विदेशबाट कुनै विशिष्ट अतिथि बोलाउन सम्भव भएन,’ जोशीले कान्तिपुरसित भने, ‘अहिले पूर्वराष्ट्रपति डा. रामवरण यादवज्यूको प्रमुख आतिथ्यमा करिब दुई सय जनामाझ दीक्षान्त समारोह गर्ने टुंगो लागेको छ ।’ एमफिल २५ जना, पीएचडी उपाधिप्राप्त ४१ जना छन् । पदक र पुरस्कार पाउनेसहित ३ सय १६ जना सहभागी रहेकामध्ये ८३ जनामात्र औपचारिक समारोहमा बोलाइएको नियन्त्रक जोशीले जनाएका छन् ।

दीक्षान्तका निम्ति फाराम भरेका तर गाउन, स्कार्फ, टोपी नलिएका र लिएकाले शुल्क फिर्ता पाउने छन् । ‘अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन फिर्ता फर्मसहित गाउन र स्कार्फ/टोपी फिर्ता बुझाएपछि मात्र धरौटी र अभिभावक शुल्क फिर्ता गरिनेछ,’ नियन्त्रण कार्यालयले भनेको छ, ‘तर गाउन र स्कार्फ/टोपी नलिएका विद्यार्थीहरूको धरौटी तथा अभिभावक शुल्क पूरै फिर्ता गरिनेछ ।’ नियन्त्रण कार्यालयले यसअघि ललितपुरको पाटनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खुल्ला मैदानमा दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो ।

प्रकाशित : मंसिर २८, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?