कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक शिक्षकका ४ नागरिकता !

शिक्षण सेवा अवधि लम्ब्याउन शिक्षक सकलदेव यादवले जन्ममिति फरक पारी एउटै नम्बरका ४ नागरिकता बनाएको खुलासा
भरत जर्घामगर

सिरहा — शिक्षण सेवा अवधि लम्ब्याउन सिरहाका एक शिक्षकले फरक–फरक जन्ममितिमा एउटै नम्बरका चारवटा नागरिकता बनाएर पेस गरेको खुलेको छ । चन्द्र नमुना मावि (प्राविधिक) का शिक्षक सकलदेव यादवले चारवटा नागरिकता बनाएर पेस गरेको पाइएको हो ।

कागजात किर्ते गरी उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक यादवलाई अनिवार्य अवकाश दिएको छ । इकाइको २०७७ मंसिर २३ को निर्णयअनुसार निम्न माध्यमिक शिक्षक (द्वितीय) दरबन्दीका शिक्षक यादवलाई २०७६ असोज १७ देखि लागू हुने गरी अनिवार्य अवकाश दिइएको हो । जिल्ला प्रशासन कार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपि झिकाएर छानबिन गर्दा सेवाको समय उमेर हदभन्दा १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको इकाइका निमित्त प्रमुख शशिकुमार यादवले बताए । उनका अनुसार किर्ते कागजात बनाई उमेर हदभन्दा बढी शिक्षण गरी राज्य कोषको दोहन गरिरहेको उजुरी परेलगत्तै छानिबन गर्दा शिक्षक यादवले सिरहा प्रशासनबाटै विभिन्न मितिमा फरक–फरक जन्ममिति उल्लेख गरी समान ५७९५ नम्बरका चारवटा नागरिकता झिकेको पुष्टि भएको हो ।

सिरहा नगरपालिका–१७ माडरका सकलदेवविरुद्ध ११ मंसिरमा उजुरी परेको थियो । इकाइले १८ मंसिरमा उनलाई नागरिकताको सक्कल प्रति पेस गर्न पत्राचार गरेको थियो । तर उनले बुझाएनन् । उनले फरक–फरक नागरिकता लिएको छानबिनबाट पनि फेला परेको इकाइका निमित्त प्रमुख यादवले बताए । एउटा नागरिकताको जन्ममितिलाई आधार मान्दा अझै तीन वर्ष सेवाको अवधि बाँकी देखिन्छ ।

आफ्नै जन्ममिति फरक देखाई सरकारी तलब सुविधा लिइरहेका यादवको नागरिकताको प्रमाणित प्रतिलिपिमा जन्ममिति १७ असोज २०१६ छ । त्यसका आधारमा शिक्षा नियमावली, २०५९ को नियम १३१ को उपनियम १ बमोजिम ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश दिने व्यवस्थाअनुसार १७ असोज २०७६ देखि लागू हुने गरी बिदा दिइएको कार्यालयले जनाएको छ ।

निम्न माध्यमिक द्वितीय श्रेणीका यादवले माध्यमिक तृतीय श्रेणीले पाउने तलब र अन्य सुविधा लिइरहेको विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णले बताए । यादवले तलबसुविधासहित मासिक ४९ हजार ९ सय ९ रुपैयाँ बुझिरहेका थिए । उमेर बढाएर लिएको रकम असुलीका लागि आवश्यक कदम चालिने इकाइले जनाएको छ ।

आफूले किर्ते नागरिकता नबनाएको दाबी गरेका यादवले भने निराधार आरोप लगाएर बदनाम गरेको भन्दै कानुनी उपचारका लागि अदालत जाने बताएका छन् । उनी जिल्लामा नेपाल शिक्षक युनियनको २०५१ देखि २०६० सम्म दुईपटक अध्यक्ष, नेपाल शिक्षक संगठनको तीनपटक अध्यक्ष भइसकेका छन् । हाल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य र प्रदेश २ का अध्यक्षसमेत हुन् ।

प्रकाशित : मंसिर २८, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?