कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अस्थिरता निम्त्याउने गतिविधि सह्य हुँदैन’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक
सद्भावमाथि प्रहार गर्ने र समाजमा अस्थिरता सिर्जना गर्ने गतिविधि सह्य नहुने बताएका छन् ।

‘अस्थिरता निम्त्याउने गतिविधि सह्य हुँदैन’

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सन्देश जारी गर्दै उनले आफ्नो हक उपभोग गर्दा अर्काको हकको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् । ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्छ,’ उनले भनेका छन्, ‘तर आलोचनाका नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हतासा र कुण्ठा प्रवाह गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा सह्य हुन सक्दैन ।’ ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना मार्गदर्शक हुने उल्लेख गरेका छन् । आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई भने सदैव सम्मान गर्ने उनको भनाइ छ ।

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरूको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने पनि उनले उल्लेख गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूहले हिंसात्मक गतिविधि गरिरहेको सन्दर्भतर्फ संकेत गर्दै ओलीले भनेका छन्, ‘यस्ता कार्यलाई मानवअधिकार विरुद्धका दण्डनीय अपराधका रूपमा लिइन्छन् ।’ उनले कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन गृहकार्य गरिरहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर २६, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?