कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

खोटाङ — यहाँको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताबापत एक वर्षमा झन्डै साढे ८७ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ ।

सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा मृत्यु भइसकेका, बसाइँ सरेका, हुँदै नभएका व्यक्तिका नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको उल्लेख छ । एकै जनाका नाममा दुई पटकसम्म तथा अर्कै वडाका व्यक्तिका नाममा समेत भत्ता दिइएको पाइएको छ ।

सामाजिक सुरक्षा भत्ताबापत साकेला–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय रुपैयाँ, वडा–२ रतन्छामा १२ लाख २८ हजार, वडा–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा–४ माथिल्लो मात्तिममा २२ लाख ८७ हजार २ सय र वडा–५ तल्लो मात्तिममा २० लाख ४८ हजार रुपैयाँ अनियमितता भएको समितिले जनाएको छ । चालु आवमा भएका अनियमिततामा संलग्नबाट सबै रकम असुल उपर गरेपछि फेरि छानबिन गरिने समिति संयोजक खड्काले बताइन् ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी कारबाही गरिने गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले प्रतिबद्धता जनाए । ‘अनियमितता गर्ने जोसुकै भए पनि सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २५, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?