कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार कमजोर अवस्थामा छैन : मुख्यमन्त्री पौडेल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय र प्रदेश सरकार कमजोर अवस्थामा नरहेको दाबी गरेका छन् । बिहीबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय र प्रदेश सरकार कमजोर अवस्थामा रहेको भन्ने हल्लामा कुनै सत्यता नभएको दाबी गरेका हुन् ।

सरकार कमजोर अवस्थामा छैन : मुख्यमन्त्री पौडेल

‘संघ र प्रदेशमा करिब दुई तिहाईको हाराहारी जनमतसहितको नेकपाको सरकार गठन भएको छ । यस्तो अवस्थामा सरकार कमजोर छ । छिट्टै ढल्छ भनेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएको छ । तर, त्यो गलत हो’, मुख्यमन्त्री पौडेलले भने ।

उनले तीन तहको सरकारबीच समन्वयको अभावका कारण सोचे अनुसारको कामले गति नलिएको बताए । ‘तीन तहको सरकार तीनतिर फर्किएको छ । जसले गर्दा काम गर्न समस्या भइरहेको छ ।’, पौडेलले तीनै तहको सरकारबीच समन्वय नभएसम्म जनअपेक्षा अनुसार विकासे काममा फड्को मार्न नसक्ने बताए ।

कार्यक्रममा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राज्यको तीनै तहले अहिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेका कारण संघीयताबारे जनतामा वितृष्णा पैदा हुन थालेको दाबी गरे । ‘राज्यको तीनै तहले जनताको पक्षमा काम गर्नु अहिलेको आवश्यकता हो । त्यसैले समयमै सुध्रिन जरुरी रहेको छ’, उनले भने ।

बानियाँले जनताको छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री बन्ने व्यवस्था राजनैतिक दल र जनताले नै लडेर ल्याएको बताउँदै यसको संरक्षण गर्नु पनि दल र जनताको दायित्व रहेको बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?