हिल्सामा हिउँ छिचोल्दै सशस्त्रको नियमित गस्ती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिल्सामा हिउँ छिचोल्दै सशस्त्रको नियमित गस्ती

छपाल लामा

हुम्ला — नेपाल र चीन सीमास्थित हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले माइनस ७ डिग्री तापक्रममा सुरक्षा गस्ती गरिरहेको छ ।

दुई साताअघिदेखि हिल्सामा हिउँ परेको थियो । हिमपात भएपछि त्यहाँको तापक्रम माइनस ७ डिग्रीमा झरेको हो ।

गत वर्षसम्म हिल्सा क्षेत्र सुनसान रहन्थ्यो । ५ महिनाअघि हिल्सामा बीओपी स्थापना भएको हो । यसअघि हिमपातका कारण ६ महिना बन्द हुने नाकामा गस्तीलाई निरन्तरता दिइएको बीओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

उनका अनुसार जाडो सुरु भएपछि मसिर पहिलो साताबाटै प्रहरी चौकी लिमी र हिल्सा सदरमुकाममा बिस्थापित भएका थिए । अहिले हिल्सा क्षेत्रमा सशस्त्र प्रहरी मात्र छ । जाडोका कारण आसपासका गाउँहरु सुनसान भए पनि सीमा गस्तीलाई निरन्तरता दिइएको केसीले बताए ।

उनको कमाण्डमा हिल्सामा ३५ जनाको सशस्त्र प्रहरी तैनाथ छ । ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न २४ सै घण्टा गस्ती गरिरहेका छौं,’ उनले भने, ‘नारा लेकमा धेरै हिउँ परेको छ, तर पनि सावधानीसाथ गस्तीलाई निरन्तरता दिइएको छ ।’ सीमा क्षेत्रमा धेरै हावा लाग्ने भएकाले केही समस्या भएको उनले गुनासो गरे ।

हिमपातका कारण नाम्खा गाउँपालिकामा बाहिर निस्कन समस्या भएको यारिगाउँका छेपाल लामाले टेलिफोनमा बताए । उनका अनुसार पशुचौपायालाई गोठभित्रै थुनेर दिनभरि आगो तापेर बस्नुपर्ने बाध्यता छ ।

चीनका सुरक्षाकर्मी पक्की भवनमा बसे पनि नेपालतर्फ पूर्वाधारसहित सञ्चार सेवा, रासन, बाक्लो लुगालगायतको समस्या भएको केसीले बताए । ‘विभिन्न अभावबीच पनि हाम्रा गतिविधि निरन्तर छन्,’ उनले भने, ‘नारा, लिमीकिट र हिल्सा क्षेत्रलाई प्राथमिकता दिइ हिउँ छिचोल्दै नियमित गस्ती गरिरहेका छौं ।’

प्रकाशित : मंसिर २५, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

वनस्पति समाजमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका वनस्पतिशास्त्रीरुको संस्था वनस्पति समाज नेपालको नयाँ नेतृत्व सर्वसम्मितबाट चयन भएको छ ।

प्राध्यापक डा मोहन सिवाकोटीको संयोजकत्वमा ११ सदस्सीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा सञ्जिवकुमार राई, सचिवमा हरिप्रसाद अर्याल, सह–सचिवमा जय प्रकाश हमाल र कोषाध्यक्षमा नारायणप्रसाद घिमिरे चयन भएका हुन् । यस्तै सदस्यहरुमा मानदेव भट्ट, भुवन केशर शर्मा, अन्जना गिरी, दिपक लामिछाने, ज्वाला श्रेष्ठ, चन्द्रकला ठाकुर चयन भएका छन् ।

अनलाइनमार्फत भएको तेस्रो साधारणसभाले पुरानै नेतृत्वलाई अगामी दुई वर्ष कार्यकालका लागि सर्वसम्मतिले चयन गरेको वनस्पतिविद् एवं त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका उपप्राध्यापक नारायणप्रसाद घिमिरेले बताए ।

यसैबीच, साधरणसभाको अवसर पारेर समाजले नेपालका वनस्पतिविद्हरुको विवरण समावेश गरिएको किताब समेत सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्विवद्यालयका पूर्वउपकूलपति तथा विश्व विद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष कमलकृष्ण जोशीले 'बोटानिस्ट अफ नेपाल डाइरेक्टरी २०२०' नामक पुस्तकको विमोचन गरेका थिए । प्राध्यापक ईमिरेटस प्रमोदकुमार झाले पुस्तकको टिप्पणी गरेका थिए ।

पुस्तकमा ५५१ जना नेपाली वनस्पतिशास्त्रीहरुको संक्षिप्त व्यक्तिगत विवरण प्रकाशित गरिएको उपप्राध्यापक घिमिरेले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×