कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंसिर २९ गते सरकारविरूद्ध सडकमा उत्रन कांग्रेसद्वारा कार्यकर्तालाई आह्वान

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

मंसिर २९ गते सरकारविरूद्ध सडकमा उत्रन कांग्रेसद्वारा कार्यकर्तालाई आह्वान

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । उनले भने,‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुंगो लगायौं । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए । उनले भने,‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारी तर्फ गम्भिर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रीत भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दैगर्दाखेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकार बनेपछाडी बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए । उनले भने,‘यो सरकार बनेपछाडी निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिद सम्म भएको भ्रष्ट्राचार देखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माले बताए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए । उनले भने,‘हाम्रो २९ गते देशैभरी ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापन बाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रीत गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रीत हुन्छ । यो प्रारम्भ मात्रै हो ।’

२९ गतेको कार्यक्रम पछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?