कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूह र राजावादीको गतिविधि समीक्षा गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बस्दै

मातृका दाहाल

काठमाडौँ — प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र राजावादीका गतिविधि समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दै छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक केहीबेरमा सुरु हुँदैछ  । बुधबार दिउँसो साढे २ बजेका लागि तय गरिएको बैठक गृहमन्त्री थापा राज्य व्यवस्था समितिमा जानु परेकोले ढिलाई भएको हो ।

चन्द समूह र राजावादीको गतिविधि समीक्षा गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बस्दै

मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको चन्द समूहबाट भएको हत्या र पछिल्ला दिनहरुमा 'राजसंस्था' को पक्षमा देखिएको प्रदर्शन बारे समीक्षा गर्न बैठक बस्न लागेको हो ।

गृह स्रोतका अनुसार चन्द समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे बैठकमा समक्षा हुनेछ । चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरु जाँदैछन् ।

२०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै सुरक्षा कारबाही थालिएपछि उक्त समूह भूमिगत छ । त्यसयता व्यक्ति हत्या, चन्दा तथा फिरौती असुली, सार्वजनिक र निजी सम्पत्ति आगजनी, बम विस्फोट जस्ता गतिविधिमा चन्द समूह सक्रिय छ ।

यस्तै, असोजयता उपत्यकासहित देशका विभिन्न सहरहरुमा संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षताको खारेजीको माग गर्दै राजावादी समूहहरु प्रदर्शनमा सक्रिय छन् । राजावादीका गतिविधिलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग सर्वदलीय छलफल गरेका थिए । छलफलमा राजावादीको गतिविधि बढ्नुमा सरकारका गतिविधि प्रमुख कारण रहेको नेताहरुले बताएका थिए ।

प्रकाशित : मंसिर २४, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?