कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

त्रिविको जग्गामा बसपार्क

प्राध्यापक संघलाई शैक्षिक गतिविधि गर्न दिइएको जग्गा भाडामा लगाएर दुरुपयोग गरेको विद्यार्थीको गुनासो
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्न दिएको जग्गा त्रिवि प्राध्यापक संघले बसपार्क बनाउन भाडामा दिएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस र विश्वविद्यालयको केन्द्रीय परिसरसँग जोडिएको जग्गा बल्खु–कुलेखानी हुँदै चल्ने टाटासुमो पार्किङ गर्न मासिक २ लाखमा भाडामा दिइएको हो ।

त्रिविको जग्गामा बसपार्क

उक्त जग्गा पाँच वर्षलाई भाडामा दिइएको संघले यातायात व्यवसायीसँग गरेको सम्झौतामा उल्लेख छ । विद्यार्थी र प्राध्यापकले शैक्षिक एवं प्राज्ञिक प्रयोगमा लगाउनुपर्ने जग्गा जग्गा विश्वविद्यालयलाई पत्तै नदिई भाडामा दिइएको भन्दै विरोध जनाएका छन् । उनीहरूले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति र विश्वविद्यालयलका पदाधिकारीसमक्ष उजुरीसमेत गरेका छन् । ‘कुनै समय विश्वविद्यालयले प्राध्यापक संघलाई जग्गा प्रयोग गर्न दिएको रहेछ,’ विद्यार्थी उमेशभक्त जोशीले भने, ‘अहिले कोरोना महामारीका बेला प्राध्यापक संघले आफूखुसी बसपार्क बनाउन दिने सम्झौता गरिसकेछ ।’

बसपार्क सञ्चालन गर्न दिएपछि विश्वविद्यालयको शैक्षिक वातावरण बिग्रिएको जोशीले गुनासो गरे । ‘क्याम्पस परिसरमा बसपार्क खोलेर धूवाँधूलो उडाएका छन, होटल लज सञ्चालन गरेर मदिरा, सुर्ती चुरोट बेच्न राखेका छन्,’ उनले भने ।

संघका सभापति वसन्त ढकाललगायत पदाधिकारी जग्गाको दुरुपयोग गरेर कमाउ धन्दामा लागेको विद्यार्थीहरूको आरोप छ । ढकालले भने संघलाई आफ्ना गतिविधि र आयआर्जन गर्न १५ वर्षअघि नै विश्वविद्यालयले जग्गा दिएको बताए । ‘पहिले पनि भाडामा लगाएर संघले आम्दानी गर्दै आएको थियो, यसपटक पनि टेन्डर गरेर सवारी साधन पार्किङ गर्न दिएका हौं,’ उनले भने ।

प्राध्यापक संघले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई स्वर्ण पदक वितरण गर्ने गर्छ । त्यसका लागि खर्च आवश्यक पर्ने हुँदा कमाइ गर्न जग्गा भाडामा लगाएको संघको जिकिर छ । ‘त्यो जग्गा हाम्रो पनि होइन, त्रिविको नाममा छ, हामीलाई खासै काम पनि छैन,’ उनले भने, ‘सधैं खाली बस्ने जग्गा प्रयोग हुने, संघलाई आम्दानी पनि हुने भएकाले भाडामा दिने निर्णय गरेका हौं ।’

विश्वविद्यालय परिसरको जग्गा भएकाले आचारसंहिता तोकेर भाडामा दिने सम्झौता गरिएको संघले जनाएको छ । उनका अनुसार उक्त क्षेत्रमा हर्न बजाउन नपाउने, धुम्रपान–मध्यपान निषेध गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । जग्गा भाडामा दिँदा विश्वविद्यालयको पठनपाठनमा असर पुग्ने भए सम्झौता रद्द गर्न सकिने ढकालले बताए ।

विद्यार्थी र संघबीच जग्गा भाडामा दिनेबारेको सम्झौता रद्द गर्ने विषयमा छलफल चलिरहेको छ । संसदीय समितिले संघलाई सम्झौता उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वविद्यालयले आफ्नो जग्गा संरक्षण गर्न नसक्दा कतिपय संस्थाले आफूखुसी संरचना बनाइसकेका छन् । लायन्स आँखा अस्पताल, मेलम्ची खानेपानी, बीपी कोइराला प्लानेटोरियम, गणतन्त्र स्तम्भ, ल्याब स्कुल, सडक विस्तार, प्रहरी चौकी, आयुर्वेद अस्पताल, ब्लड बैंकका लागि त्रिविका पूर्वपदाधिकारीले विभिन्न समयमा सयौं रोपनी जग्गा बाँडिसकेका छन् । सडक विस्तार र अन्य पूर्वाधार खडा हुँदा विश्वविद्यालयको शैक्षिक गतिविधिमा असर पुगेको प्राध्यापक–विद्यार्थीको गुनासो छ ।

त्रिविका रजिस्ट्रार पेशल दाहालले विद्यार्थीको गुनासोपछि प्राध्यापक संघसँग जग्गाका विषयमा जानकारी माग्दै छलफल गरिएको जनाए । ‘६ रोपनी जग्गा वर्षौंअघि प्राध्यापक संघलाई प्रयोग गर्न दिएका थियौं, अहिले बसपार्क बनाउन भाडामा दिएपछि संसद्मा समेत उजुरी परेको रहेछ,’ उनले भने, ‘त्यही सिलसिलामा छलफल गरिरहेका छौं ।’

प्रकाशित : मंसिर २४, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?