कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

काठमाडौँ — विभिन्‍न क्षेत्रका विज्ञहरुले कोभिड १९ को भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई अपील गरेका छन् । 

कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञहरुले विश्‍वमा भ्याक्सिन विकास, परीक्षण र वितरण सुरु भएको औंल्याउँदै नेपालमा खरिद, आयात र वितरण समयमै गर्न सके छिट्टै कोभिड महामारीबाट पार पाउन सक्ने विश्वास व्यक्त गरेका छन् । 'नेपालले आफैं भ्याक्सिन विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरिद, आयात र वितरणको विषय अहिले महत्वपूर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौं ।'

उनीहरुले भ्याक्सिन छनोट, आयात र वितरणको प्राथमिकता निर्धारण गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । 'भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गर्दर्छौं । त्यसो गर्न सके महामारी नियन्त्रणमा बल पुग्ने मात्रै हैन सरकारको आफ्नै विश्वसनीयता बढ्नेछ ।' महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अब पनि अव्यवस्था र अनियमितताहरु भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

विज्ञप्ति जारी गर्नहरुमा पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलगायत महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अन्सारी, रमेश खरेल र केदारभक्त माथेमा छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?