कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घटेकै हो कोरोना संक्रमण दर ?

अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ को संक्रमण दरमा पछिल्ला केही दिनयता कमी देखिए पनि वास्तविकता थाहा पाउन अझै कुर्नुपर्ने विज्ञहरूले बताएका छन् । हाल सय जनाले परीक्षण गराउँदा पहिलेको तुलनामा पोजिटिभ रिपोर्ट आउने संख्यामा कमी देखिएको छ । एक सातायता कोभिडको दिनहुँ देखिने औसत संक्रमण दर १५.५२ प्रतिशत देखिएको छ ।

घटेकै हो कोरोना संक्रमण दर ?

विज्ञहरूले कोभिड संक्रमण दर कम देखिनुको कारण विदेश जाने, कार्यालय जाने, परीक्षण प्रतिवेदन चाहिने व्यक्तिहरूले मात्र परीक्षण गर्नु र शंकास्पद व्यक्तिहरूले परीक्षण कम गर्नु रहेको बताएका छन् । सरकारी अधिकारीहरूले पनि तथ्यांकअनुसार संक्रमणका दरमा कमी देखिए पनि यकिनसाथ भन्न केही समय कुर्नुपर्ने बताएका छन् ।

‘मंसिर लागेपछि मुलुकमा कोभिड संक्रमण दर घटेजस्तो ट्रेन्ड (प्रवृत्ति) देखिएको छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘तर यसबारे स्पष्ट रूपमा भन्न अझ केही पर्खनुपर्ला, न्यूनतम दुई साता त हेर्नैपर्ला ।’

पछिल्लो समय पीसीआर परीक्षण १० हजारभन्दा मुनि छ, जसका कारण संक्रमण प्रतिशतमा कमी देखिएको विज्ञहरूको भनाइ छ । ‘हाल शंकास्पद व्यक्तिले परीक्षण गराउनै छोडे, यसैले संक्रमणका दरमा कमी देखिएको हो, साधारण लक्षण भएकाले त परीक्षण नै गराउँदैनन्,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘परीक्षण गराउनेमा विदेश जाने, अफिस जाने वा कोभिड नभएको रिपोर्ट चाहिनेहरूको संख्या बढी छ । जसले संक्रमणको दर कम देखिएको हो ।’

डा. बीसीका अनुसार तथ्यांकमा कोभिड परीक्षण गराउनेहरूमा पोजिटिभ देखिने दरमा कमी आए पनि समाजमा रहेका वास्तविक कोभिड पोजिटिभहरूको संख्यामा कमी आएको छैन । उनी संक्रमणको दरमा कमी आउनुलाई अस्वाभाविक मान्छन् । संक्रमणको दर ८ प्रतिशतभन्दा तल झरे नियन्त्रणतर्फ गएको मान्न सकिने जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘हाल नेपालीको गतिविधि अत्यन्त बढेकाले वास्तविक संक्रमण दरमा थप विस्तार भएको हुनुपर्छ ।’

सातायता संक्रमण दर सरदर १५–१६ प्रतिशतमा झरेको जनाउँदै डा. पाण्डे भन्छन्, ‘तर मृत्युदर बढेको छ । सरदर दिनहुँ १५–१६ जनाको मृत्यु भइरहेको छ ।’ उनका अनुसार संक्रमण दरमा कमीसँगै मृत्युदरमा समेत कमी भएमा मात्र तत्कालका लागि स्थिति सहज हुँदै गएको भन्न सकिन्छ ।

‘संक्रमण दर घट्दै गएको भन्न गहिराइमा गएर हाल कस्ता व्यक्तिले कोभिड परीक्षण गराइरहेका छन्, त्यो पनि राम्ररी हेर्नुपर्छ,’ उनी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङ वा संक्रमितको सम्पर्कको मान्छेले परीक्षण गराएको भए संक्रमण दर बढ्ने थियो ।’

प्रकाशित : मंसिर २०, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?