कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली–दाहालका अडान यथावत्

ओली पक्षधरले अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेका छन् भने दाहाल सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् ।

काठमाडौँ — सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका आ–आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ ।

ओली–दाहालका अडान यथावत्

प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ । ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेकाले शनिबारको बैठक बस्ने/नबस्ने निश्चित छैन । यद्यपि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने सचिवालयमा छलफलका लागि आएका सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् ।

उनले शुक्रबार आफूलाई भेट्न आएका नेताहरूलाई पनि यही जानकारी गराएका छन् । अध्यक्ष दाहाललाई भेट्न पुगेका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएका थिए तर दाहालले प्रस्तावहरूका विषय कमिटीले नै टुंगो लगाउने आफ्नो पूर्ववर्ती अडान यथावत् रहेको बताएका थिए । दुवै पक्षको अडान यथावत् हुँदा नेकपाको विवाद साम्य हुँदै जान्छ या झन् चर्किन्छ भन्नेमा नेतृत्व पंक्ति नै अलमलमा छ ।

वरिष्ठ नेता झलनाथ खनालले नेताहरूका बीचमा थप संवाद नभएकाले सहमतिको सम्भावना नरहेको बताए । उनले केही स्थायी कमिटी सदस्यहरूबाट साझा प्रस्ताव बनाउन सुझाव आएको भए पनि त्यो सम्भावना टर्दै गएको बताए । दुई पक्षबीच संवाद गर्न र सहमतिको मिलनबिन्दु खोज्न भन्दै तीन दिन बैठक स्थगित हुँदा दुवै पक्ष आआफ्नै गुट केन्द्रित छलफलमा व्यस्त भए ।

यसबीचमा बिहीबार दाहाललाई भेट्न पुगेका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सचिवालय सदस्य ईश्वर पोखरेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवादका लागि अझै केही दिन समय लिएर मात्रै बैठक गर्न गरेको आग्रह दाहालले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भने शुक्रबार दिनभर उनीनिकट नेताहरूको छलफल चलेको थियो । छलफलमा शनिबार अन्तिम समयसम्म पनि बैठक रोक्न प्रयास गर्ने विषयमा कुराकानी भएको ओलीनिकट एक नेताले बताए ।

दाहाल–नेपाल पक्षधर विद्यार्थीको छुट्टै भेला

शीर्ष नेताहरूमा स्पष्ट कित्ताकाट भइरहेका बेला अनेरास्ववियुको दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको छ । भेलामा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य र पम्फा भुसालसमेत सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन ओलीले पार्टी कमिटीको निर्णय मान्नुपर्ने तर्क राखे ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले पार्टीभित्र विधि, पद्धतिको कुरा चलिरहेका बेला संयोजक ऐन महरलगायतको टिमले छुट्टै भेला गर्दै हिँडेकाले क्रियाको प्रतिक्रियास्वरूप भेला गरेको बताए । ‘पार्टीमा एकताको बहस चलिरहेका बेला फुटको पक्षमा गुटगत भेला देशैभरि भइरहेको छ, अन्तरसंघर्षका बेला एकता कायम राख्न छोडेर संयोजकसहितको टोली एकतर्फी देश दौडाहामा निस्किएको छ,’ तामाङले कान्तिपुरसँग भने, ‘पार्टी एकतालाई बचाउनुको सट्टा साथीहरू गुटगत भेलामा लागेको हुनाले अनेरास्ववियुलाई मण्डले विद्यार्थी नबनाउनका लागि एकता र विधि पद्धतिको पक्षमा उभ्याउनुपर्छ भनेर हामीले भेला गरेका हौं ।’

उनले अर्को पक्षले जहाँजहाँ भेला गर्दै जान्छ, आफूहरूको कार्यक्रम पनि त्यही त्यही ठाउँमा केन्द्रित हुने बताए । नेताहरू एकअर्काविरुद्ध आक्रामक रूपमा उत्रिएपछि जनवर्गीय संगठनहरूले समेत आ–आफ्नो गुटका पक्षमा पैरवी गर्न थालेका हुन् ।

प्रकाशित : मंसिर २०, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?