अपांगता भएका विद्यार्थी सम्पर्कबाहिर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगता भएका विद्यार्थी सम्पर्कबाहिर

फोन र इन्टरनेटको पहुँच नभएका विद्यार्थीको अवस्थाबारे विद्यालय तथा पुन:स्थापना केन्द्रले जानकारी पाउन सकेका छैनन् ।
गणेश राई

काठमाडौँ — राजधानीस्थित गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको अपांग पुनःस्थापना केन्द्रमा अपांगता भएका ५५ विद्यार्थी बस्थे । उनीहरू जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा पढ्थे ।

कोरोना महामारीयता अधिकांश गाउँघर फर्किए भने कतिपय आफन्तका डेरामा बस्दै आएका छन् । अहिले आफन्त नभएका सात जना मात्र केन्द्रमा छन् ।

‘उपत्यकामा रहेकाहरूलाई रासन र कलम, कापी दिँदै छौं तर धेरैजसो दुर्गम गाउँतिर छन्,’ केन्द्रका अध्यक्ष उदयबहादुर लिम्बूले भने, ‘यतै रहेकालाई विद्यालयको अनलाइन कक्षामा जोडेका छौं । बाहिरका कतिपय फोन सम्पर्क हुन सकेको छैन । फोन र इन्टरनेटको पहुँच नभएकाहरूका अवस्थाबारे अनभिज्ञ छौं ।’ अपांगता भएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले केन्द्रमा बोलाएर उनीहरूको स्वास्थ्यलाई जोखिममा पार्न नहुने लिम्बूले बताए ।

खगेन्द्र नवजीवन माविका प्रधानाध्यापक राघव दवाडी विद्यालयमा पढ्ने ७६ जना अपांगता भएका विद्यार्थीमध्ये २५ जनामात्र अनलाइन कक्षामा जोडिन सकेको बताए । ‘अपांगता भएका विद्यार्थी बस्ने होस्टल सञ्चालनमा छैनन्,’ उनले भने, ‘दुर्गम गाउँघर फर्किएका विद्यार्थी सम्पर्कमा रहेकाहरू स्थानीय विद्यालयमा भर्ना हुन भन्यौं तर भौतिक पूर्वाधार र शिक्षण जनशक्ति नभएको भन्दै भर्ना लिन मानेनन् । अपांग गृहलाई सुचारु राख्न अनुरोध गर्‍यौं । तर उहाँहरू कोरोना भाइरसको जोखिम मोल्न चाहनु भएन ।’ सुस्तश्रवणलाई सांकेतिक भाषा शिक्षण, दृष्टिविहीनलाई ब्रेल पुस्तक, शारीरिक अपांगतालाई भौतिक संरचना महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

ललितपुरको बुङमतीस्थित अपांग सेवा संघमा ७१ जना अपांगता भएका विद्यार्थी बस्थे । अहिले ६ जना मात्र रहेको संघका अध्यक्ष दयाराम महर्जनले बताए । संघमा बस्ने ती विद्यार्थी नजिकैको आदर्श सौल माविमा पढ्थे ।

नक्सालस्थित बहिरा माविमा पढ्दै आएका विद्यार्थीमध्ये ५० प्रतिशत अनलाइन कक्षामा जोडिएका छन् । ‘गत वर्षको रेकर्डअनुसार ६१ जिल्लाका करिब चार सय विद्यार्थी पढ्छन्,’ प्रधानाध्यापक उपेन्द्र पराजुली भन्छन्, ‘तीमध्ये १ सय ८० जना जतिलाई अनलाइन कक्षामा जोड्न सफल भएका छौं । कतिपय सम्पर्कमा भए पनि इन्टरनेटको समस्याले गर्दा शिक्षण व्यवस्था हुन सकेको छैन ।’ देशभरिमा सांकेतिक भाषामा पढाउने २२ विद्यालय छन् भने १ सय ७२ वटा स्रोत कक्षा छन् ।

कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा पढ्ने ५० दृष्टिविहीन विद्यार्थीमध्ये ४२ जना सम्पर्कमा छन् ।

प्रकाशित : मंसिर १७, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

‘कोभिड-१९ का कारण महिलाविरुद्धको हिंसा बढ्यो’

एजेन्सी

न्युयोर्क — विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण विश्वमा महिलाविरुद्धको लैंगिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।


कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागूऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) को अध्ययनले देखाएको संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।

संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत महिला र बालबालिकाविरुद्धको प्रतिबद्धता नामक कार्यक्रममा उनले भने, ‘महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैंगिक हिंसाका घटना बढेको पाइएको छ ।’

महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा हुनुपरेको स्मरण गर्दै उनले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए । कोभिड–१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैंगिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ । राष्ट्रसंघीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले संक्रमणमा परी जीवन जोगाउन सफल अधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको सिकार बन्नुपरेको बताए । सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको एमलाम्बोएनगुकाले भनाइ छ ।

कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उनको दाबी छ । अप्रिलमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलु हिंसा ‘रोक्न’ महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

हालसम्म करिब एक सय ५० देशले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै संक्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको जनाएका छन् । यूएनओडीसी, राष्ट्रसंघीय महिला एकाइ र अन्य सहयोगीले पनि पालना गरेको बताइएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×