कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘रोनाल्डो’ को ‘रोमान्स’ ले थपियो छावा

घम्साघम्सी गरिरहने दुई जंगली मत्ता रोनाल्डो र ध्रुबे नै पछिल्ला वर्ष प्रजनन् केन्द्रमा रहेका ढोईका प्रेमी छन् ।
रमेशकुमार पौडेल

चितवन — रोनाल्डोको ‘रोमान्स’ ले चितवन राष्ट्रिय निकुञ्जमा खुसी थप्ने गर्छ । यो रोनाल्डो चर्चित फुटबल खेलाडी भने होइन, चितवन निकुञ्जको रनवन डुल्ने जंगली भाले हात्तीको नाम हो ।

‘रोनाल्डो’ को ‘रोमान्स’ ले थपियो छावा

निकुञ्ज डुल्दै गर्दा यो सौराहा नजिक रहेको खोरसोरका पोथी हात्तीसँग नजिकिन्छ, यसै क्रममा सहवास भएपछि पोथी हात्तीहरू सन्तान लाभ गर्छन् । सोमबार मध्याह्न खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा गणेशकलीको कोखबाट छावा (बच्चा) जन्मियो । जसको ‘पिता’ रोनाल्डो हो ।

‘३१ वर्षीय गणेशकलीले पोथी बच्चा जन्माएको छ । छावा स्वस्थ र तन्दुरुस्त छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र अधिकारीले भने । उनका अनुसार साढे २० महिनाको गर्भकालपछि गणेशकलीले बच्चा जन्माएको हो । ‘यसको यौनसम्पर्क रोनाल्डोसँग भएको थियो,’ उनले भने । भालेसँग यौनसम्पर्क भएको १८ देखि २२ महिनामा हात्तीले बच्चा जन्माउँछ । गणेशकली निकुञ्जकै हात्ती रूपकलीको सन्तान हो ।

खोरसोरमा २०४२ मा हात्ती प्रजनन केन्द्र स्थापना भएको हो । त्यसयता यहाँ जन्मेका छावाको संख्या ५० नाघेको छ । प्रजनन केन्द्रमा घरेलु भाले हात्ती नहुने हैनन् तर पोथीसँग संसर्ग गर्न जंगली मत्ता (भाले हात्ती) नै माहिर छन् । प्रजनन केन्द्रमा पहिला वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा दुइटा मात्रै छावा जन्मेको निकुञ्जका अधिकारी बताउँछन् । यसले जंगली मत्ताबिना प्रजनन केन्द्र अधुरो रहेको देखाउँछ । घरेलु ढोई (पोथी हात्ती) खोज्दै डुल्ने जंगली मत्ता रोनाल्डोबाहेक अरू पनि छन् ।

प्रजनन केन्द्रका भरपर्दा भाले रोमियो, नानापाटेकर, रोनाल्डो र ध्रुबे हुन् । यी ‘तगडा’ जंगली मत्तामध्ये रोमियो र नानापाटेकर मरिसके । ढोईसँग नजिक हुन रोनाल्डो र ध्रुबेको प्रतिस्पर्धा चल्छ । पछिल्ला वर्षमा यी दुई जंगली मत्ता नै घरेलु ढोईका उपयुक्त प्रेमी बनेका छन् ।

रोनाल्डो सक्रिय हुन थालेको २०६२ पछि हो । ध्रुबे २०६६ यता सक्रिय छ । अर्को जंगली मत्ता गोविन्दे पनि यी दुईको सत्ता खोस्न संघर्षरत छ । ‘अहिले प्रजनन क्रियामा सक्रिय भएका जंगली मत्ता रोनाल्डो र ध्रुबे हुन् । गोविन्दे पनि सक्रिय त देखिन्छ तर उसबाट अझै बच्चा जन्मेका छैनन्,’ सहायक संरक्षण अधिकृत अधिकारीले भने । जंगलभित्र यस्ता भाले हात्तीहरू देखा परेको समयमा जंगल बाहिरको संसारमा चर्चामा रहेका व्यक्तिको नामबाट निकुञ्जका कर्मचारीले ती हात्तीलाई चिनाउँछन् । जस्तो : हिन्दी सिनेमाका कलाकार नानापाटेकर चर्चामा रहँदा देखिएको जंगली मत्ताले त्यही नाम पायो । फुटबलमा रोनाल्डो चम्केका बेला भेटिएको मत्तालाई चिन्न अरू परिचय आवश्यक परेन ।

त्यसो त सबै घरेलु हात्तीको नामकरण हुने गर्छ । पहिला राजदरबारबाटै नाम राख्ने चलन थियो । २०६३ पछि यो हट्यो । घरेलु छावा जन्मिएको एक–दुई वर्षपछि तालिम दिने क्रममा ‘हिन्दु परम्परा’ अनुसार नामकरण हुने गरेको सहायक संरक्षण अधिकृत अधिकारीले बताए ।

प्रकाशित : मंसिर १७, २०७७ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?