कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँको आवश्यकता विपरीत सिँचाइ कुलो बनाएको भन्दै विरोध

आनन्द गौतम

ताप्जेजुङ — गाउँको शिरमा रहेको मुहानबाट सिँचाइ कुलो लैजान लागेपछि मैवाखोला गाउँपालिका-३ का बासिन्दा आन्दोलित भएका छन् । डीपीआर गरेर ठेक्का समेत लगाएपछि उनीहरुले संघर्ष समिति बनाएर आयोजना तत्काल रद्द गर्न माग गरेका छन् ।

गाउँको आवश्यकता विपरीत सिँचाइ कुलो बनाएको भन्दै विरोध

मंगलबार सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङमा ज्ञापन पत्र बुझाउन सदरमुकाम फुङलिङ आएका ‘माङमाया खोला मुहान बचाउ संघर्ष समिति’ का संयोजक चन्द्रमान वनेमले भने,‘यो आयोजना कुनैपनि हालतमा बढाउन दिदैनौं, जबरजस्ती गर्न खोजियो भने हामी जस्तो सुकै कदम चाल्न तयार छौं ।’ स्थानीयको सहमति नलिइ खोलाको शिरमा रहेको मुहानबाटै आयोजना सञ्चालन गर्दा यो क्षेत्रका ८ सय परिवार खानेपानीबाट वञ्चित हुने र एक हजार परिवारले खेतीबाट हात धुनुपर्ने उनको दाबी छ ।

२०५४ सालमा निर्माण सम्पन्न भइ सुरु भएको सिँचाइ आयोजनामा मुहान थप गर्न लागिएको हो । यसअघि सोत्ले खोला र पात्ले खोला मुहानबाट पानी ल्याइँदै थियो । अहिले यी दुई खोलाको मुहान भन्दा डेढ किलोमिटरमाथिको अर्को मुहान थप गर्न लागिएको हो । सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख ऋषिभक्त कोजुका अनुसार यहाँ तीनवटा मुहान छन् । ती मध्येको एउटा मुहानबाट मात्रै ल्याउन लागिएको उनको दाबी छ । अहिले सञ्चालित मुहानबाट यो मुहानसम्मको निर्माण लागत ७५ लाख रुपैयाँ रहेको उनले बताए । ‘२०४२ सालमा योजना सुरु गर्दा माङमाया खोला सिँचाइ योजना भनेर सुरु गरिएको रहेछ,’ उनले भने, ‘अहिलेपनि शिरमा खोलाहरु फरक/फरक छन् तर सबैको नाम एउटै माङमाया भनेर बोलिँदो रहेछ त्यसलेपनि समस्या गराएको छ ।’

यसअघि साढे ८ किलोमिटर सिँचाइ कुलो निर्माण भएको छ । तर, दुई वर्षदेखि त्यो कुलोपनि चलेको छैन । पहिरोले भत्काएपछि सिँचाइ ठप्प छ । भत्किएको कुलोपनि मर्मत गर्ने र नयाँ मुहान पनि थप्‍ने योजनाका साथ सिँचाइ विभागले ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएका हुन् । एसियाली विकास बैंक (एडीबी)को लगानीमा बन्‍ने सिँचाइको मर्मत र विस्तारमा ७ करोडको ठेक्का खुलाइएको थियो । ६ करोड ९० लाखमा पाँचथरको यक्थुमहाङ निर्माण सेवाले ठेक्का पारेको सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङले जनाएको छ । ठेक्का लागेपछि स्थानीयले ५१ सदस्यीय संघर्ष समिति बनाएका छन् ।

२०७७ जेठ १२ गतेको दिन गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङको अध्यक्षतामा विभिन्‍न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु समेतको भेलाले सिँचाइका लागि कुलो लान नदिने निर्णय गरेका थिए । स्थानीयको हस्ताक्षर संकलन गरी प्रशासन कार्यालयमा बुझाइएको थियो । तर सिँचाइ कार्यालयले भने पछिल्लो समय गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुले आयोजना सञ्चालनको अनुमति दिएको दाबी गरेको छ ।

आयोजना सञ्चालनमा आए माङमाया स्रोत भएर सञ्चालित मैवाखोला २ को मुढे, भुसुने बृहत खानेपानी आयोजना, ठोट्ने लाली, भुसुने कोक्साली तेम्बे, कादुरी, लेकुवा र मैवाखोला ३ को बुङ्धाक, कोल्डाँडा, तुम्बे, सिम्ले, नेरा खानेपानी आयोजना प्रभावित हुने संघर्ष समितिको दाबी छ । बुङधाक हुँदै गौतम डाँडा–तुम्बे बग्ने सिँचाइ कुलो, सिम्ले सिँचाइ कुलो, ठोट्ने लेकुवा तेम्बे हुँदै खार्ते खानी तेर्सो कुलो , लाली वाग्थला हुँदै तेम्बे कुलो बन्द हुने रविन्द्र बताउँछन् ।

यसबाट झन्डै एक हजार घरधुरी सिँचाइ सुविधबाट वञ्चित भइ अलैंची, किबि, धान, मकै कोदो जस्ता बाली र तरकारी खेतीमा प्रत्यक्ष असर पर्ने उनीहरुको दाबी छ । माङमाया खोलामा मात्रै २७, ६२, १० किलोवाटका लघु जलविद्युत रहेका छन् । गाउँपालिकाको वडा १, २ र ३ का बासिन्दा प्रभावित हुने संघर्ष समितिका पदाधिकारी बताउँछन् । सिँचाइ कार्यालयले भने स्थानीयको विरोध कायम रहे पुरानो कुलो मर्मत गराउँदै गर्ने र मुहान थपका विषयमा पुर्नविचार गर्न माथिल्लो निकायमा अनुरोध गर्ने योजना बनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?