कोरोना महामारीमा यौन तथा प्रजनन स्वास्थ्य जोखिममा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीमा यौन तथा प्रजनन स्वास्थ्य जोखिममा

अघिल्लो वर्ष चैतदेखि कात्तिकसम्म ६१ हजार २४६ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए भने लकडाउनयता कात्तिकसम्म सेवा लिनेको संख्या २० हजारले कम भयो ।
बुनु थारु

काठमाडौँ — कोरोना महामारी लम्बिएसँगै महिलाहरुमा परिवार नियोजनका साधनको पहुँचमा कमी, अनिइच्छुक गर्भधारण, लैंगिक हिंसाका घटना बढेको पाइएको छ । विशेषगरी लकडाउनका समयमा नजिकको स्वास्थ्य संस्थामा सेवा बन्द हुनु र खुले पनि महिला तथा किशोरीहरुका लागि सिमित स्वास्थ्य सेवा हुनु, कोरोना भाइरस सर्ने डरले स्वास्थ्य संस्था नपुग्नुले पनि यी समस्याहरु निम्तिएको अध्ययनहरुले देखाएका छन् । यी अध्ययनले कोरोना महामारीको प्रभावले यौन तथा प्रजनन स्वास्थ्यमा ठूलो जोखिम निम्तिदै गइरहेको देखाउँछन् ।

लकडाउनका समयमा श्रीमान् श्रीमती घरमै बस्ने र परिवार नियोजनका अस्थायी साधनको पहुँचमा नहुँदा पनि अनिइच्छुक गर्भधारण बढेको देखिन्छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युनएफपिए) को यौन तथा प्रजनन स्वास्थ्य एजेन्सीले सन् २०२० अप्रिलमा गरेको एक अध्ययनअनुसार कोरोना महामारीले मध्यम तथा कम आय भएका ११४ देशमा ६ महिना लकडाउन भए ४ करोड ७० लाख महिलाहरु परिवार नियोजनको साधनहरुको पहुँचबाट बञ्चित हुने र ८० लाख महिलाहरुले अनिच्छुक गर्भधारण गर्न बाध्य हुने अध्ययन सार्वजनिक गरेको थियो । त्यसैगरी ६ महिना लकडाउन भए ३ करोड १० लाख थप केशहरु लैंगिक हिंसाका हुने यसले आकलन गरेको छ ।

सन् २०१३ देखि २०१६ सम्म इबोला महामारीका कारण यौन तथा प्रजनन स्वास्थ्यमा ठूलो असर गरेको अध्ययनले देखाइसकेका छन् । सियरा लियोन हेल्थ म्यानेजमेन्ट इन्फर्मसेन सिस्टमको एक अध्ययनअनुसार महामारीका कारण सेवा अवरुद्ध भएका कारण ३६०० मातृ मृत्यु तथा बाल मत्यु भएको आकलन गरिएको थियो ।

मेरी स्टोप्स इन्टरनेसनले पनि कोराना भाइरसका कारण महिलाहरुमा परिवार नियोजनको साधनको उपलब्धतामा अप्ठ्यारा, अनिच्छुक गर्भधारण र मातृ मृत्यु दर बढ्ने आकलन गरेको थियो । यो अवस्थाबाट नेपाल पनि गुज्रिरहेको कुरामा नकार्न सकिँदैन ।

के छ नेपालको अवस्था ?

नेपालका कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले चैत ११ देखि साउन ६ सम्म (१२०) दिन लकडाउन गर्‍यो । लकडाउनले मुख्यता सवारी साधन नपाएर कतिले स्वास्थ्य संस्था जान पाएनन् त कतिले पाए पनि गुणस्तरीय सेवा पाएनन् । स्वास्थ्य सेवा विभागको मातृ तथा नवजात शिशु शाखाको तथ्यांकले कोरोना महामारीयता मातृ मृत्युदर बढेको देखाएको छ । सात महिनायता १३४ जना सुत्केरी तथा गर्भवतीको मृत्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखाको तथ्यांकले बताउँछ । कोरोना संक्रमणको डरले नियमित स्वास्थ्य परीक्षण नगराउने र विकट क्षेत्रमा समयमा अस्पताल नपुर्‍याउँदा धेरै सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएको देखिएको छ । लकडाउन र निषेधाज्ञाका कारण पनि धेरै जना समयमै अस्पताल नपुगेको देखिन्छ भने अत्यधिक रक्तस्राव हुँदा तथा घरमै सुत्केरी गराउनाले पनि मृत्युदर बढेको देखिन्छ ।

दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० जनामा झार्ने लक्ष्य लिइएको छ तर कोरोना महमारीले झन् चुनौतीपूर्ण बनेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार आधाभन्दा बढी ५७ प्रतिशत बच्चा स्वास्थ्यसंस्था, विशेष गरी सरकारी संस्थामा जन्मिने गरेका छन् । तथापि ४१ प्रतिशत बच्चाहरूको जन्म घरमै हुने गरेको पाइएको छ ।

त्यसैगरी सर्वेक्षणका अनुसार गर्भपतनका लागि सरकारी सेवा केन्द्रमा ७१ प्रतिशत जाने गरेका छन् भने बाँकी घरमै वा निजी क्षेत्रको सेवा केन्द्रमा जाने गरेका छन् । परिवार कल्याण महाशाखाका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार अघिल्लो वर्ष चैत देखि कात्तिकसम्म २० वर्ष मुनिका र २० वर्ष माथिका ६१ हजार २४६ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए भने लकडाउन सुरु भएको चैतदेखि कात्तिकसम्म गर्भपतन सेवा लिनेको संख्या ४१ हजार २१९ रहेको छ ।

परिवार नियोजन सेवाप्रधायक मध्ये एक मेरी स्टोप्स नेपाल एभिडेन्स टु एक्सन डिरेक्टर सत्यजित प्रधानले सेवा प्रभावित भएपनि परामर्श सेवा निरन्तर दिएको बताए । ‘मेरी स्टोप्स्को ११४३ मा फोन गरी परामर्श लिन सकिन्छ । लकडाउनका बेला घरैबाट चलाउन मिल्ने गरी परामर्श दियाँै । यस समयमा परामर्श लिने बढे तर सर्भिस लिने घटे किनकी मान्छे स्वास्थ्य संस्था नै आउन पाएनन्,’ उनले भने, ‘हामीले घरमै गर्भपतन सेवा दिने काम पनि गरिरहेका छौँ ।’

द एडभेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी (आड्रा) नेपालकी किशोरकिशोरी तथा यौन तथा प्रजनन स्वास्थ्य विज्ञ राधिका घिमिरेले नेपालमा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन समुदाय, उमेर हरेकलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिन्छिन् ।

उनका अनुसार कोभिड महामारीले यौन तथा प्रजनन स्वास्थ्य सेवा दिनमा बाधा उत्पन्न गरायो । सेवा खुल्ला भए पनि जानलाई सवारी साधनको पर्याप्तता भएन, डर र त्रास भयो । स्वास्थ्यकर्मीहरुलाई पनि सेवा दिन तयार हुन समय लाग्यो । कोभिडमै धेरै फोकस भए पनि अहिले भने सेवाहरुले निरन्तरता पाएका छन् ।

‘सेवा दिने स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । त्यसैले थप जनशक्तिको पनि आवश्यकता देखिन्छ,’ घिमिरेले भनिन्, ‘परिवार नियोजनसम्बन्धी सूचनाहरु कसरी लक्षित समूहमा पु¥याउन सकिन्छ भनेर ध्यानमा राख्नुपर्ने देखिन्छ किनकी धेरैलाई यी सेवाको बारेमा टोल फ्री नम्बर छन् भनेर जानकारी छैन ।’ उनका अनुसार आड्रा नेपालले किशोरकिशोरीलाई लक्षित गरेर प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श ‘रुपान्तरण’ अभियान सञ्चालन गर्दे आएको र भुर्चअल रुपमा पनि प्रजनन स्वास्थ्य सम्बन्धी तालिम दिँदै आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी सुरक्षित मातृत्व कार्यक्रमकी फोकल पर्सन संगीता खड्काले गाउँको स्वास्थ्य संस्थामा सुत्केरी तथा गर्भवती महिलाहलाई समस्या परेको खण्डमा रेफरल अस्पतालमा ल्याउनको लागि लकडाउनको समयमा एकदमै समस्या देखिएको बताइन् । ‘बिरामी बोक्नै मान्दैनथे । गाडीवालाले ल्याउन नमानेका कारण एक जना महिलाको सुर्खेतमा मृत्यु भयो,’ उनी भन्छिन्, ‘सुरुको अवस्थामा स्वास्थ्यकर्मीहरुले कसरी सेवा दिने भनेर अन्यौल भयो । अहिले भने पहिलेको जस्तो डर त्रास छैन ।’

समुदायस्तरमा जनस्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने मुख्य भूमिकामा हुन्छन्, महिला स्वास्थ्य स्वयंसेविका । नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ३ इन्चार्ज सावित्री मैनालीले लकडाउनले महिलाले लिने सेवा र स्वयंसेविकाले दिनुपर्ने सेवा प्रभावित बनेको बताइन् । उनी भन्छिन्, ‘कोरोनाका डर भए पनि हामीले खटाएको कामहरु त ग¥यौँ । परिवार नियोजनका साधन स्वास्थ्य संस्थामा उपलब्ध थिएनन् । सुरुको फेजमा त सिटामोल पनि कम भएको थियो । त्यसमाथि क्लिीनिकमा आउनै महिलाहरु डराउँथे । अहिले त सबै सेवाहरु सुरु भएको छ ।’

परिवार नियोजनका साधन प्रयोग गर्ने घटे

कोरोना महामारीभन्दा पहिले पनि परिवार नियोजनका साधन प्रयोगमा त्यति सकारात्मक अवस्था थिएन । महामारीले यसको प्रयोगमा झन कमी ल्याइदियो । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांक अनुसार ५३ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनका कुनै न कुनै साधनहरु प्रयोग गरिरहेका छन् ।

परिवार कल्याण महाशाखाका अनुसार चैतदेखि असोजसम्म ४ लाख १३ हजार ८६९ जनाले अस्थायी साधनको प्रयोग गरेको देखिन्छ जबकी यो संख्या यही ७ महिनाको अवधिमाा अघिल्लो वर्ष ४ लाख ५६ हजार ८३० थियो । नेपालमा सबैभन्दा बढी प्रयोग हुने साधनहरु खानेचक्की, आईयूसीडि, इम्प्लान्ट, कण्डम आदि हुन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सरोजा पाण्डेले धेरै हतार छैन भने यस समयमा बच्चा जन्माउने योजना पछि सार्दा राम्रो हुने धारणा राख्छिन् । ‘नेपालको अवस्था हेर्ने हो भने समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम फैलेको देखिन्छ । यस्तो अवस्थामा अस्पताल जान जोखिम बढ्ने हुन्छ,’ उनले भनिन्, ‘विदेशमा महामारीको सुरुवातको बेला परिवार नियोजनको योजना पछि सार्न सल्लाह चिकित्सकहरुले दिने गरेका थिए ।’ उनका अनुसार निःसन्तान क्लिनिकमा उपचार गराइराखेहरुलाई समय तोकिएको हुन्छ । उनीहरुले सावधानी अपनाएर निरन्तरता दिन सक्छन् तर नयाँ विवाहित जोडी छन् भने परिवार नियोजनका साधन प्रयोग गरेर बच्चा जन्माउने योजना पछि सार्न सक्छन् ।

परिवार नियोजन संघको केन्द्रिय कार्यालय पुल्चोककी नर्स बबिता बिष्टका अनुसार संघले २८ वटा जिल्लामा शाखा रहेकोेमा सबै कार्यालयबाट सेवा दिइरहेको छ । हप्तामा सेवाका लागि परामर्श लिनेको संख्या ५०० सम्म हुने उनले बताइन् । ‘लकडाउनको समयमा केस बढे तर स्वास्थ्य संस्थामा आउन गाडी नपाउने र कडीकडाउ भएकाले पनि अलि प्रभावितचाहिँ भएको थियो,’ उनले भनिन् ।

प्रजनन स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले कोरोना महामारीको समयमा प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको लागि अन्तरिम मार्गनिर्देशन २०७७ जारी गरेको छ । महामारीको अवस्थामा सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीका लागि मेरी स्टोप्स सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, परिवार नियोजन संघ लगायतमा सम्पर्क गर्न सक्नेछन् तर धैरै महिला यस सेवाबारे अझै सुचित हुन सकेका छैनन् ।

परिवार कल्याण महाशाखाका निर्देशक डा भिम सिह तिंकरीले कोरोना महामारीले शाखाका कार्यक्रम तथा सेवाहरु लकडाउनको समयमा अवरुद्ध बनाएको बताउँछन् । ‘लकडाउन पश्चात सुरक्षित मातृत्व सेवा तथा परिवार नियोजनको सेवा बढाउनतिर लाग्यौँ । दादुरा रुबेला खोप, भिटाएन ए लगायत कार्यक्रम सम्पन्न गर्ने काम भयो,’ उनले भने । उनले प्रदेशहरुसँग समन्वय गरेर परिवार नियोजनका साधन सबै ठाउँमा उपब्धता गराएको बताए । उनका अनुसार स्थायी बन्ध्याकरण गर्ने अलि कम छन् तर अरु साधनको अभाव छैन ।

प्रकाशित : मंसिर १२, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

गुजारा चलाउन फेरि भारततिरै

मेनुका ढुंगाना

अछाम — घरखर्च धान्न मुस्किल भएपछि फेरि भारत फर्किने युवाको संख्या अछाममा दिनदिनै बढिरहेको छ । कोही कर्जा लिएर त कोही मोबाइल बेचेर यातायात खर्च जुटाई नाका काटिरहेका छन् ।

अछामको कमलबजार बसपार्कमा भारत जान जम्मा भएका यात्रु । तस्बिर : मेनुका ढुंगाना


कोरोना महामारीका कारण भारतबाट फर्किएका उनीहरू खर्च जुटाउनकै लागि फेरि उतै गइरहेका हुन् । ढकारी गाउँपालिका–१ का नयन बुढा बुधबार कमलबजार बसपार्कमा भेटिए । रातो अक्षताले उनको निधार भरिएको थियो । गहभरि आँसु पारेर उनी बसपार्कसम्म पुर्याउन आएका परिवारलाई सम्झाउँदै थिए । ‘घरमा बसेर पनि के गरौं । आठ महिना घरमा बस्दा धेरै समस्या भयो । बिरामी आमालाई उपचार गर्न पनि त पैसा चाहियो,’ उनले भने, ‘उतिखेर रोगको डरले आइयो । अब परिवारको चिन्ताले फर्किंदै छु ।’

कमलबजार नगरपालिका–१ मुलीका ३४ वर्षीय रतन विष्टको समस्या पनि नयनबहादुरको जस्तै छ । उनी १५ वर्षकै उमेरदेखि कामको खोजीमा भारत जान थालेका हुन् । यो अवधिमा उनी वर्षमा एक–दुई पटक घर आउने गर्थे । भारतमा कहिले होटेलमा, कहिले गाडी धुने त कहिले सडक सफा गर्ने काम गर्थे । महामारी फैलन थालेपछि गत चैत ७ गते उनी घर फर्किए । चार छोराछोरी, पत्नी, आमाबुबा सबैको खर्च उनैले बेहोर्न पर्छ । घरमा बस्दा आम्दानीको स्रोत नभएपछि उनलाई छटपटी भयो । गाउँमा रोजगारी थिएन । ऋण पनि कसैले पत्याएन । अनि फेरि भारत जाने निधो गरे । ‘पहिले भारतको पुणेमा एउटा होटेलमा काम गर्थें, गाडी धुन्थेँ । अहिले साहूलाई सम्पर्क गर्दा अवस्था सामान्य भएको छैन, काम दिन सक्ने अवस्था छैन भने,’ उनले भने, ‘आफूसँग एउटा मोबाइल थियो । त्यही बेचेर गाडीभाडा जुटाएँ । अब काम पाइन्छ–पाइन्न, केही थाहा छैन ।’

भारत जान कमलबजार बसपार्कमै भेटिएका तुमाखाँदका दीपक नेपाली चिन्तित देखिन्थे । पहिले भारत जाँदा काम पाउनेमा ढुक्क हुन्थे, यसपालि छैनन् । ‘उत्तर प्रदेशमा रोजगारीका लागि गएको तीन महिनामै घर फर्कनुपर्‍यो । त्यहाँ एक महिना काम खोज्नै लाग्यो । दोस्रो महिनादेखि एउटा होटेलमा काम पाएको थिएँ । अर्को महिना कोरोनाको त्रासले होटेल बन्द भयो,’ उनले सुनाए, ‘होटेल बन्द भएपछि रोजगारी गुम्यो । साँझ–बिहान छाक टार्नसमेत मुस्किल भयो ।’

घरमा आएपछि समस्या झन् बढेको नेपालीले बताए । ‘आफू मात्रै भए त जेनतेन गुजारा चल्थ्यो । नखाएरै बसे पनि तनाब हुन्थेन । आमा–बुबा श्रीमती र छोराछोरीको चिन्ता लाग्छ,’ उनले भने । दुई–तीन महिना खेतबारीको उब्जनीले धाने । त्यसपछि चुलो बाल्नै नसक्ने अवस्था आयो । कमाइ गरेर खान पर्याप्त जग्गा पनि छैन । ‘सबै परिवारको पालनपोषण गर्न दुई–चार पैसा कमाउने मान्छे नै बेरोजगार भएपछि कसर चल्नु ?,’ उनले भने, ‘त्यसैले भारत फर्किनुको विकल्प रहेन ।’

लकडाउनको अवधिमा मात्रै अछाममा २५ हजारभन्दा बढी भारतबाट फर्किएको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । भारतबाट आएकाहरू फेरि फर्किन थालेको बस व्यवसायीहरू बताउँछन् । अछामबाट दिनकै एक हजारभन्दा बढीको संख्यामा भारत जान थालेको उनीहरूको भनाइ छ ।

प्रकाशित : मंसिर १२, २०७७ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×