काठमाडौंका ९१ विद्यालयमा नेपाल भाषा पढाइ हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंका ९१ विद्यालयमा नेपाल भाषा पढाइ हुने

भाषा कक्षामा जाति, परम्परागत ज्ञान, इतिहास र लिपि समेटिँदै
गणेश राई

काठमाडौँ — राजधानीका ९१ सामुदायिक विद्यालयमा नेपालभाषा (नेवार) पठनपाठन हुने भएको छ । चालु वर्षको शैक्षिक सत्र सकिने बेलामा काठमाडौं महानगरपालिकाले यसको तयारी गरेको हो । 

गत वैशाख/जेठबाटै तयारी गरिएको भए पनि कोरोना रोकथामका लागि गरिएको लकडाउन र त्यसपछिका परिस्थितिले पछि परेको भाषा कक्षाका लागि पाठ्यपुस्तक छपाइका क्रममा छन् ।

शिक्षक नियुक्ति तथा तालिमको व्यवस्था प्रक्रियामा छ । ‘संविधानले मातृभाषा संरक्षण व्यवस्था गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । त्यसैले हामीले विद्यालयको आधारभूत तहसम्म पठनपाठनका लागि नेवार भाषा राख्न लागेका हौं,’ भाषा आयोगले बिहीबार आयोजना गरेको वेबिनारमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘किताब छापिँदै छ, अब शिक्षक नियुक्ति र तालिमको व्यवस्था गर्दै छौं ।’

पाठ्यपुस्तकमा ऐतिहासिक सहर काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । ‘बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ,’ पाठ्यक्रम निर्माणमा संलग्न संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले भनिन्, ‘काठमाडौंमा नेपालीपछि सबैभन्दा धेरै नेपालभाषा बोल्ने जनजीवन भएको र ऐतिहासिक कलासंस्कृतिबारे जानकारी दिलाउने गरी निर्माण गरिएको छ ।’ सामुदायिक विद्यालयमा नेपालभाषामा पठनपाठन १ देखि ८ कक्षासम्म गराउने तयारी छ ।

‘नेवा: बस्ती नेवा: स्कुल’ अभियानका संयोजक दीपक तुलाधरले उपत्यका बाहिरसमेत गरी १ सय ५ निजी र सामुदायिक विद्यालयमा शिशु कक्षादेखि ऐच्छिक विषयका रूपमा नेपालभाषा पठनपाठन हुँदै आएको बताए । ‘नेपालभाषा भाषाकै रूपमा मात्र नभई सांस्कृतिक ज्ञान आर्जनका रूपमा लिइएको छ,’ स्थानीय सरकारले स्थानीय मातृभाषामा पठनपाठन गराउनु सकारात्मक भएको उल्लेख गर्दै उनले भने, ‘पढ्ने विद्यार्थी नेवारमात्र छैनन् र नेवारभन्दा अन्य जातिले सञ्चालन गरेका विद्यालयमा पनि पठनपाठन हुँदै आएको छ ।’

शिक्षाविद् विद्यानाथ कोइरालाले महानगरपालिकाले नेपालभाषा मात्र नभई यहाँका अन्य जातजातिले बोल्ने भाषाहरूको समेत संरक्षण पहल गर्न आवश्यक रहेको बताए । ‘नेपालभाषा अनिवार्य गर्ने या ऐच्छिक विषयका रूपमा लिने,’ उनले भने, ‘यदि महानगरले एउटा भाषा मात्रै सम्वद्र्धन गर्ने हो भने गहिरो छलफल हुन जरुरी छ ।’

त्यसैगरी भाषाविद् अमृत योञ्जन तामाङले महानगरले निर्णय मात्र नभरी भाषा नीति राजपत्रमा प्रकाशन र कार्यान्वयन निर्देशिका जारी गर्नुपर्ने बताए । ‘महानगरले यहाँका भाषा, साहित्य, कला, संस्कृति संरक्षण गर्न छुट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्न जरुरी छ,’ उनले भने ।

काठमाडौंमा १ हजार ४ सय १५ विद्यालय छन् । यसमा ११ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । त्यसैगरी भक्तपुरमा १ सय ३० वटा सामुदायिक र १ सय ८४ निजी विद्यालय छन् । ललितपुरमा १ सय ८६ सामुदायिक र २ सय ७४ निजी विद्यालय छन् ।

प्रकाशित : मंसिर ११, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्

पेन्सनधारीलाई दार्चुलाका ३ नाका ४ दिन खुला

मनोज बडू

दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।

तीन दिनसम्म लेकम गाउँपालिकाको लाली, चार दिनसम्म सदरमुकामको खलंगा र मालिकार्जुन गाउँपालिकाको जौलजीवी नाका खोल्न लागिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । यी नाका दुई चरणमा खोलिने छ । प्रजिअ पोखरेलले भने, ‘बिहान १० देखि ११ बजेसम्म र अपराह्न ४ देखि ५ बजेसम्म नाका खोलिने छन् ।’

भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीले कोरोना प्रभावका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा पेन्सन बुझ्न सकिरहेका थिएनन् । पेन्सन नपाउँदा घर खर्च चलाउनसमेत असहज भएपछि भूपू सैनिकहरूले प्रशासनलाई अनुरोध गर्न स्थानीय तहहरूलाई गुहारेको नेपाल–भारत भूतपूर्व सैनिक संघका जिल्ला अधिकारी तुला गिरीले बताए ।

पेन्सनधारीहरूका लागि सीमा पुलहरू खोल्ने विषयमा सहजीकरण गर्न लेकम गाउँपालिका–३ वडा कार्यालयले मंसिर ३ गते र मालिकार्जुन गाउँपालिकाले मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको थियो । त्यसपछि प्रशासनले भारतीय पक्षलाई लाली र जौलजीवी नाका खोल्ने विषयमा मंगलबार पत्राचार गरेको थियो ।

प्रकाशित : मंसिर ११, २०७७ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×