कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

रासस

काठमाडौँ — राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ ।

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

कोरोना संक्रमणपछि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।

शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए ।

आयोगको सचिव बनेका शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए । उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ सुरु गरेका थिए । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन् ।

गत कात्तिक २० गते कोरोना पुष्टि भएपछि शाक्य २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मंसिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापका बिरामी शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ । काठमाडौंको वटुटोल निवासी शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?